[डोल्पा] एमालेको पकड, प्रमुखमा कांग्रेस शून्य
भौगोलिक रूपमा नेपालकै सबैभन्दा ठूलो जिल्ला हो, डोल्पा । मतदाता संख्याको हिसाबले भने सबैभन्दा कम मतदाता रहेको जिल्ला हो । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकासहित डोल्पामा आठ स्थानीय तह छन् ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा डोल्पामा नेकपा (एमाले) को मजबुत पकड देखिन्छ । एमालेले जिल्लाका आठमध्ये चार वटा पालिकाको प्रमुख जितेको थियो । त्यसबाहेक तीन पालिकाको उपप्रमुख र ४३ वडा अध्यक्षसमेत एमालेले जितेको हो ।
मतपरिणामअनुसार नेकपा (माओवादी केन्द्र) दोस्रो स्थानमा देखिन्छ । माओवादीले जिल्लाका दुई पालिकाको प्रमुख र एक उपप्रमुख जितेको छ । ११ वडाको अध्यक्ष पनि माओवादीका छन् ।
डोल्पामा नेपाली कांग्रेसको नतिजा भने निराशाजनक छ । कांग्रेसले कुनै पनि पालिकामा प्रमुख र उपप्रमसख जितेको छैन । पाँच वडा अध्यक्ष मात्रै जितेको छ ।
कांग्रेसभन्दा बलियो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । उसले दुई वटा पालिकाको उपप्रमुखिसहित चार वडाअध्यक्षमा बाजी पारेको छ ।
जिल्लामा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि निकै बलियो देखिन्छ । दुई वटा पालिकाको प्रमुख, दुई वटामा उपप्रमुख र दुई वटा वडाअध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
अब लागौं, पालिका प्रमुख र उपप्रमुखमा विजयी उम्मेदवार, पाएको मत र प्रतिस्पर्धीहरूको मतान्तर बुझ्न ।
जिल्लाको काइके गाउँपालिका अध्यक्षमा एमालेका अंगदकुमार रानाले नौ सय २० मत ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा भने राप्रपाका कुन्जाङ बुढा नौ सय १५ मतसहित विजयी भए ।
पालिकाका सात वटा वडामध्य पाँच वटामा एमाले र दुई वटामा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
छार्का ताङसोङ गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार सेनाङ गुरुङ अध्यक्षमा निर्वाचित भए । उनले तीन सय सात मत पाएका थिए । प्रतिस्पर्धी एमालेका धोटा गुरुङले दुई सय ८२ मत पाए । अध्यक्षमा हारेको एमालेले उपाध्यक्ष जितेको छ । जसमा तीन सय ५६ मत ल्याएर छिरिङ दिहिक गुरुङ विजयी भइन् । वडामा भने एमालेले एकलौटी जित हात पारेको छ । ६ वटै वडाअध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
नेकपा (माओवादी केन्द्र) ले जितेको दुई वटा पालिकामध्ये एक हो, जगदुल्ला गाउँपालिका । उक्त पालिकाको अध्यक्षमा नारासिं रोकाया पाँच सय ५६ मत पाएर विजयी भएका थिए । एमालेका दलबहादुर महताराले चार सय ३४ मत पाएका थिए । उपाध्यक्षमा माओवादीकै अमरिता बोहोरा विजयी भएकी छिन् ।
वडामा भने एमाले र माओवादीको नतिजा बराबर छ । ६ वडामध्ये तीनमा एमाले र तीनमा माओवादी विजयी भएका हुन् ।
ठूली भेरी नगरपालिकाको प्रमुखमा एमालेका गणेशबहादुर शाही विजयी हुँदा उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नौ वटा वडाहरूमध्ये पाँचमा एमाले, दुई वटामा राप्रपा, एउटामा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएका थिए ।
डोल्पो बुद्ध गाउँपालिकामा तीन सय ११ मत पाएका एमाले उम्मेदवार क्याल्जन गुरुङलाई पराजित गर्दै पाँच सय ५३ मत ल्याएर स्वतन्त्र उम्मेदवार तेम्वा गुरुङ अध्यक्षमा निर्वाचित भए । उक्त पालिकाको ६ वटा वडामध्ये पाँच वटामा एमाले र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
त्यसैगरी त्रिपुरासुन्दरी नगरपालिका प्रमुखमा एमालेका ओमबहादुर बुढाले एक हजार ६ सय नौ मतसहित निर्वाचित हुँदा कांग्रेसका दिलबहादुर बिस्टले एक हजार पाँच सय ९१ र माओवादीका रामलाल विकले आठ सय ३७ मत पाएका थिए । उपप्रमसखमा पनि एमालेकै चन्द्रकुमारी बुढा निर्वाचित भएकी छिन् । पालिकाका ११ वडामध्ये पाँचमा एमाले, चारमा कांग्रेस र दुईमा माओवादीले जित हात पारेका छन् ।
मुड्केचुला माओवादी केन्द्रले जितेको दोस्रो गाउँपालिका हो । अध्यक्षमा दत्तबहादुर शाहीले नौ सय ३३ मत पाएर निर्वाचित भएका छन् । एमालेका लंकबहादुर रोकायाले नौ सय ३१ र कांग्रेसका लिलराज रोकायाले एक सय ६२ मत मात्रै पाएका छन् । तर उपाध्यक्षमा भने एमालेकी सविताकुमारी रोकाया नौ सय ५४ मतसहित विजयी भएकी छिन् । नौ वडामध्ये पाँचमा एमाले र चारमा माओवादी विजयी भएका थिए ।
शे–फोक्सुन्डो गाउँपालिकामा भने अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य सबै निर्विरोध चयन भएका थिए । अध्यक्षमा एमालेका टसी गुरुङ, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्वाचित भए । नौ वटा वडामध्ये चारमा एमाले र एउटामा माओवादीका उम्मेदवार निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
अघिल्लो निर्वाचनमा जिल्लाका आधा पालिकामा जित हात पारेको एमालेलाई यसपटक उक्त नतिजा कायम राख्ने चुनौती छ भने चुनावी तालमेल गरेको माओवादी र नेपाली कांग्रेससहितका गठबन्धन दलहरू एमालेको गढ भत्काएर आफ्नो पकड बनाउने ध्याउन्नमा हुनेछन् ।
प्रकाशित मितिः २३ चैत्र २०७८, बुधबार ०५:०४
साझा बिसौनी ।