अपरिहार्य मतदाता शिक्षा

स्थानीय तहको निर्वाचन आउँदैछ । राजनीतिक दलहरू चुनावी गतिविधिमा सक्रिय छन् । मतदातालाई आफ्नो पक्षमा पार्न दौडधूप चलिरहेको छ । राजनीतिक नेता तथा कार्यकर्ताहरूको दल अदलबदल पनि चलिरहेको छ । घोषणा–पत्र बनाउनेदेखि उम्मेदवार छनोटका प्रक्रियामा नेताहरू व्यस्त छन् । अर्कोतर्फ सरकार निर्वाचन गर्न आवश्यक तयारीमा जुटेको छ । म्यादी प्रहरी भर्नादेखि निर्वाचनमा परिचालन गर्ने जनशक्तिको व्यवस्थापनलगायतका कार्य चलिरहेका छन् । निर्वाचन आयोगको सक्रियता उस्तै छ । यतिबेला देश नै चुनावी माहोलले तातिएको छ । तर यति हुँदाहुँदै पनि सबैले बेवास्ता गरेको पक्ष के छ भने मतदाता शिक्षालाई प्रभावकारी बनाउन सम्बन्धित सबै सरोकारवाला चुकिरहेका छन् । मतदाता शिक्षा अपरिहार्य छ । त्यसमाथि यो निर्वाचनमा नयाँ मतदाताहरू पनि थपिदैछन् ।

मतदाता शिक्षा कति अपरिहार्य छ भन्ने कुरा विगतको निर्वाचनको परिणामले पनि देखाउँछ । खसेको मतमध्ये बदर भएको मत प्रतिशतले पनि ठूलो संख्यालाई मतदानसम्बन्धी ज्ञान आवश्यक देखिन्छ । सुर्खेतमा २०७४ को स्थानीय तह निर्वाचनमा एक लाख ३८ हजार नौ सय २१ मत खसेको थियो । त्यसमध्ये ६ हजार आठ सय ४८ मत बदर भए । यो कूल खसेको मतको चार दशमलव ९३ प्रतिशत हो । जिल्लाको बराहताल गाउँपालिकामा भन्डै १० प्रतिशत मत खेर गएका थिए । त्यसलगत्तै भएका प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा पनि सुर्खेतमा यही हाराहारीमा मत खेर गए । हरेक निर्वाचनमा बदर मतको संख्या धेरै देखिने गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यो तथ्यांकले पनि मतदाता शिक्षाको अपरिहार्यतालाई पुष्टि गर्छ । निर्वाचनमार्फत आफूले रोजेको दल र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु नागरिकको अधिकार हो । तर, अहिले पनि ठूलो संख्यामा मतदाताहरू भोट हाल्ने सही तरिकाबारे जानकार छैनन् । मतदाता शिक्षाको कमीका कारण अमूल्य मानिने भोट खेर जाने गरेको छ । निर्वाचनभन्दा केही दिन पहिलेमात्र एकसरो अभियानका रूपमा सञ्चालन हुने मतदाता शिक्षाका कार्यक्रम प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन् । बदर मतको संख्या घटाउन मतदाता शिक्षामै जोड दिनुपर्ने हुन्छ ।

न त सरकारले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको छ न त राजनीतिक दलले नै यसलाई गम्भिरतापूर्वक लिएका छन् । राजनीतिक दलहरूले निर्वाचनका बेला चुनाव चिन्ह प्रचार गर्ने गर्दछन् । तर कसरी भोट गर्ने भन्नेबारे कमै सिकाउने गरेका छन् । मत हाल्न नजान्दा धेरै मतदाता केन्द्रमा पुगेपछि अलमलमा पर्ने गरेका हुन् । नागरिकलाई मतदानसम्बन्धी जानकारी दिनु र बदर मत न्यूनिकरण गर्नु सबैको दायित्व हो । यसमा राज्य र नागरिक समाजको भूमिका महङ्खवपूर्ण हुने गर्दछ ।

प्रकाशित मितिः   २२ चैत्र २०७८, मंगलवार ०५:०३