उम्मेदवार सिफारिसमै सकस

सुर्खेत: स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोटको कसरतमा लागेका छन् । वैशाख ११ र १२ गते उम्मेदवारले मनोनयपत्र दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । त्यसअघि दलहरूले विभिन्न चरण र तहमा छलफल गरी उम्मेदवार टुंग्याउने प्रक्रिया थालेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले उम्मेदवार छनोटका लागि पालिकास्तरमा बैठक तथा छलफल गरिरहेका हुन् । वडामै पदको दाबी गर्ने धेरै देखिएपछि सबै दलमा उम्मेदवार सिफारिसमा भने सकस भएको छ । वडामा एक पदका लागि पाँच–सात जनाभन्दा बढी आकांक्षीहरू देखिने गरेका छन् । त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा चुनौती भइरहेको नेताहरूले बताउँछन् ।

स्थानीय कार्यसमितिका नेताहरूका अनुसार अधिकांश वडामा अध्यक्ष तथा सदस्यका आकांक्षी अत्यधिक छन् । जसका कारण सर्वसम्मत उम्मेदवार टुँगो लाग्ने अवस्था निकै न्यून छ । दलहरूले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्दा निश्चित मापदण्ड बनाइ सिफारिस गर्नुपर्ने र सकभर सर्वसम्मत, नभए न्यूनतम संख्या सिफारिस गर्न सर्कुलर गरेका छन् । तर, आकांक्षीको लर्को हुँदा माथिल्ला तहमा नाम सिफारिस गर्नै हम्मेहम्मे परिरहेको हो ।

वडाको जनप्रतिनिधिमा चुनाव लड्ने आकांक्षी धेरै भएपछि नेपाली कांग्रेसलाई उम्मेदवार सिफारिसमा समस्या भएको छ । सबैभन्दा पहिले उम्मेदवार सिफारिस गर्ने कार्यतालिका बनाएको कांग्रेसले तोकिएको मितिमा नाम सिफारिस गर्न सकेको छैन । हुम्लाको सिमकोट गाउँपालिका–५ का वडा सभापति कुल रावतले उम्मेदवारको रुचि गर्नेहरूको संख्या अत्यधिक भएकाले पार्टीका माथिल्लो तहमा नामावली सिफारिस गर्न नसकिएको जनाए । ‘हामी केही दिन पहिलेदेखि यही काममा लागेका छौं,’ उनी भन्छन्, ‘सकभर सर्वसम्मत र नसकेपनि थोरै संख्या सिफारिस गर्न खोजिएको हो । आकांक्षीको व्यवस्थापन गर्ने प्रयासमा लागेकाले सिफारिसमा ढिलाइ भइरहेको छ ।’ उनले सोमवार साँझसम्म वडा अध्यक्ष र सदस्यमा कसलाई र कति जनाको नाम पठाउने भन्नेबारे छलफल जारी नै रहेको जनाए ।

कांग्रेसले चैत २० गते वडा कार्यसमितिको बैठक राखेर २१ गतेभित्र वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको थियो । वडामा उम्मेदवारको दाबी गर्ने धेरै भएपछि अधिकांशले पार्टीको निर्देशनअनुसार तोकिएको समयमा नाम सिफारिस गर्न नसकेका हुन् । टोल र वडा समितिका भेला तथा छलफल निरन्तर भइरहे पनि सहमति जुट्न नसकेको कांग्रेसका वडासभापतिहरूले जनाएका छन् । कर्णाली प्रदेशभर २१ गतेसम्म कांग्रेसका थोरै मात्र वडा समितिले उम्मेदवारको नाम माथिल्ला तहमा सिफारिस गरी पठाएका छन् । गएको स्थानीय तह निर्वाचनभन्दा यो पटक उम्मेदवारका आकांक्षी धेरै देखिएको कालीकोटको पचालझरना गाउँपालिका–९ कि कांग्रेस वडा सभापति विमला शाही बताउँछिन् । उनले आफ्नो वडामा सहमतिमै उम्मेदवारको नामावली सिफारिसको प्रयत्न जारी रहेको जनाइन् । ‘निरन्तर छलफलमा छौं, सिफारिसमा पर्ने उम्मेदवारको टुुँगो भने अझै लागिसकेको छैन,’ उनले भनिन् । यसपटक वडामा उम्मेदवारका आकांक्षी युवाहरू धेरै देखिएको शाहीले बताइन् ।

कांग्रेसको विधानअनुसार वडाका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँ÷नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ÷नगर कार्यसमितिबाट सिफारिस गरेर माथिल्ला तहमा पठाउनुपर्ने व्यवस्था छ । यसरी सिफारिस गर्दा सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरेर सिफारिस पठाउनुपर्ने भनिएको छ । सोहीअनुरूप उम्मेदवार सिफारिस गरेर पठाउन कांग्रेसले स्थानीय कार्यसमितिहरूलाई निर्देशन गरेको हो । दैलेखको दुुल्लू नगरपालिका–११ का कांग्रेस वडा सभापति केशव थापाले वडाका उम्मेदवारका लागि नाम सिफारिस गरेर पठाइसकिएको जनाए । उनको वडाबाट एक पदका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । आकांक्षीहरूबीच सहमति नहुँदा एकै पदमा पाँच जनासम्मको नाम सिफारिस गर्नुपरेको उनले बताए । दुुल्लूू नगरपालिकाकै १० नम्बर वडामा पनि वडा अध्यक्षका उम्मेदवारमा ६ जनाले आकांक्षा राखेका छन् । वडा सभापति दिपेन्द्र पुुरी भन्छन्, ‘धेरै जनाको नाम आएको छ, यसलाई बसेर सकेसम्म छिटै सहमतिबाटै टुंग्याउने कोसिस भइरहेको छ ।’

कांग्रेसले चैत २२ गते पालिका तहमा बैठक बस्ने र बैठकले पालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिस गर्ने जनाएको छ । कांग्रेसमा वडाको सिफारिसका आधारमा उम्मेदवारका विषयमा सुझाव राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाइनेछ । प्रदेशले प्रतिनिधि सभा क्षेत्रीय समितिलाई र प्रतिनिधि सभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गरिने बताइएको छ । वडा अध्यक्षसहित वडाका सदस्यका उम्मेदवारको चयन प्रतिनिधि सभा क्षेत्रीय संसदीय समितिले टुँगो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले छनोट गर्नेछ । त्यस्तै, नगर प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले चयन गर्ने कांग्रेसले जनाएको छ ।

नेकपा ‐एमाले) ले पनि यतिबेला चुनावी प्रचारसँगै उम्मेदवार सिफारिसका लागि बैठक तथा छलफलहरू थालेको छ । एमालेले चैत ३० गतेसम्म उम्मेदवारको टुँगो लगाउने गरी सिफारिस पठाउन स्थानीय कार्यसमितिहरूलाई भनेको छ । एमाले सुर्खेतले स्थानीय तह निर्वाचनको उम्मेदवारबारे स्थानीय समितिलाई आकांक्षी वडा अध्यक्ष र सदस्यहरूको सुझाव चैत २५ गतेभित्र पालिका कमिटीमा पठाउन निर्देशन गरेको छ । वडाबाट पठाइएका सुझावका आधारमा पालिकाका समितिहरूले उम्मेदवार सिफारिस गर्ने जनाइएको छ । स्थानीय तहका कार्यसमितिले पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारीबारे चैत ३० गतेभित्र जिल्लामा सुझाव पेस गर्ने भनिएको छ । यसरी उम्मेदवारका लागि सुझाव तथा सिफारिस गर्दा अधिकतम् सर्वसम्मतको प्रयास गर्ने निर्णय भएको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जनाए । उनका अनुसार अहिले स्थानीय तहका उम्मेदवार छनोटका लागि सुझाव तथा सिफारिसका सन्दर्भमा वडा, गाउँ तथा नगरमा छलफल सुरु गरिएका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि नेकपा ‐माओवादी केन्द्र), नेकपा ‐एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) लगायतका दलहरू पनि आन्तरिक तयारीमा जुटेका छन् । यी दलहरूमा पनि उम्मेदवार छनोटको चटारो सुरु भएको हो । सबैजसो दलहरूले स्थानीय कार्यसमितिको सिफारिस बमोजिम वडा र पालिका तहमा उम्मेदवारको छनोट गरिने जनाएका छन् । उम्मेदवारका आकांक्षीहरू धेरै देखिएपनि स्थानीय तह हाँक्न सक्ने सक्षम नेतृत्वलाई चुनावमा उठाउने गरी तयारी गरिएको दलहरूले बताएका छन् ।

प्रकाशित मितिः   २२ चैत्र २०७८, मंगलवार ०५:०५