प्रभावकारी छैन मतदाता शिक्षा
सुर्खेत: सुर्खेतमा २०७४ को स्थानीय तह निर्वाचनमा एक लाख ३८ हजार नौ सय २१ मत खसेको थियो । त्यसमध्ये ६ हजार आठ सय ४८ मत बदर भए । यो कूल खसेको मतको चार दशमलव ९३ प्रतिशत हो । त्यसलगत्तै भएका प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा पनि सुर्खेतमा यही हाराहारीमा मत खेर गए । हरेक निर्वाचनमा बदर मतको संख्या धेरै देखिने गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमार्फत आफूले रोजेको दल र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु नागरिकको अधिकार हो । तर, अहिले पनि ठूलो संख्यामा मतदाताहरू भोट हाल्ने सही तरिकाबारे जानकार छैनन् । मतदाता शिक्षाको कमीका कारण अमूल्य मानिने भोट खेर जाने गरेको छ । निर्वाचनभन्दा केही दिन पहिलेमात्र एकसरो अभियानका रूपमा सञ्चालन हुने मतदाता शिक्षाका कार्यक्रम प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन् । निर्वाचनहरूको अनुगमन तथा परीवेक्षण गर्दै आएको अनौपचारिक सेवा केन्द्र ‐इन्सेक) का कर्णाली संयोजक नारायण सुवेदीले बदर मतको संख्या घटाउन मतदाता शिक्षामै जोड दिनुपर्ने बताए । उनले कुनै एउटा निकायको प्रयासले मात्र समस्या न्यूनीकरण नहुने भन्दै यसमा राज्य र नागरिक समाजका व्यक्ति तथा संस्थाहरूको पनि उत्तिकै भूमिका हुनपर्ने औंल्याए । ‘निर्वाचन आयोग र राजनीतिक दलहरूले चासो अलि बढी दिनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘मतदाता शिक्षाको प्रभावकारीता बढाउन सरकारी र गैरसरकारी सबै क्षेत्रको योगदान आवश्यक छ ।’
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा गएको स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत बदर बराहताल गाउँपालिकामा भएका थिए । प्रदेश निर्वाचन कार्यालयका अनुसार त्यहाँ भन्डै १० प्रतिशत मत खेर गएका हुन् । बराहतालमा १० हजार एक सय मत खसेकोमा नौ सय ९६ मत बदर भेटिएका थिए । यो कूल खसेको मतको नौ दशमलव ८६ प्रतिशत हो । २०७४ को स्थानीय चुनावमा जिल्लामा सबैभन्दा कम मत बदर हुने पालिका चिङ्गाड थियो । उक्त गाउँपालिकामा एक दशमलव ८५ प्रतिशत मत मात्र बदर भएको थियो । प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार सात हजार एक सय मतमध्ये त्यहाँ एक सय ३४ मत खेर गएको भेटिएको हो । चिङ्गाडमा ९८ दशमलव १५ प्रतिशत मत सदर भएको थियो ।
त्यस्तै, गुर्भाकोट नगरपालिकामा अघिल्लो स्थानीय निर्वाचनमा तीन दशमलव ५० प्रतिशत मत खेर गए । जम्मा १९ हजार ६ सय ५७ मत खसेकोमा तीन सय ८८ मत बदर भएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार चौकुने गाउँपालिकामा पनि मत बदर दर धेरै छ । यो पालिकामा गएको निर्वाचनमा ६ दशमलव २८ प्रतिशत मत बदर भेटिए । उक्त पालिकामा स्थानीय तह चुनावमा खसेको आठ हजार नौ सय ५४ मतमध्ये पाँच सय ६२ मत बदर भएका थिए । पञ्चपुरी नगरपालिकामा पाँच दशमलव २५ मत बदर भएको भेटिएको थियो । यो पाालिकामा खसेका १२ हजार आठ सय ४६ मतमध्ये ६ सय ७६ मत बदर थिए ।
निर्वाचन कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिकामा पनि ठूलो संख्यामा मत बदर हुने गरेका छन् । वीरेन्द्रनगरमा गत स्थानीय निर्वाचनमा ३८ हजार चार सय ७३ मत खसेको थियो । जसमा एक हजार नौ सय ८३ मत खेर गएका थिए । यो कूल खसेको मतको पाँच दशमलव १५ प्रतिशत बदर हो । त्यस्तै, भेरीगंगा नगरपालिका १७ हजार चार सय ४९ मतमध्ये ६ सय ४३ मत बदर भएको निर्वाचन कार्यालयको विवरण छ । सो स्थानीय तहमा तीन दशमलव ६९ प्रतिशत मत बिग्रिएका थिए । लेकवेशी नगरपालिकामा १३ हजार एक सय ९८ मतमध्ये पाँच दशमलव नौ प्रतिशत अर्थात् सात सय ७९ मत बदर भेटिएका थिए । गत स्थानीय तहको निर्वाचनमा सिम्ता गाउँपालिका पनि ११ हजार १० मत खसेकोमा तीन सय १४ मत बदर भएका हुन् । सिम्तामा दुई दशमलव ८६ प्रतिशत मत खेर गएका थिए ।
यी त मतदानपछि खेर गएका मतको तथ्याङ्क हो । अहिले पनि कतिपय मतदाता नामावली संकलनकै क्रममा छुट्ने गरेका छन् । जसले गर्दा उनीहरू मताधिकारबाट वञ्चित हुँदै आएका छन् । यस्तो समस्या कर्णाली प्रदेशका सबैजसो जिल्लामा छ । अधिकांश युवाहरू रोजगारीका सिलसिलामा बाहिर रहने हुँदा मतदाता बन्नबाटै वञ्चित हुने गरेका हुन् । निर्वाचन आयोगका मतदाता शिक्षासम्बन्धी कार्यक्रम कर्मकाण्डी हुनु तथा राजनीतिक दलहरूले पनि यसलाई गम्भीर रूपमा नलिँदा मतदाता बन्न र बदर मतको समस्या घटाउन नसकिएको नागरिक समाजका अगुवाहरूको भनाइ छ । राजनीतिक दलहरूले निर्वाचनका बेला चुनाव चिन्ह प्रचार गर्ने गर्दछन् । तर कसरी भोट गर्ने भन्नेबारे कमै सिकाउने गरेका छन् । मत हाल्न नजान्दा धेरै मतदाता केन्द्रमा पुगेपछि अलमलमा पर्ने गरेका हुन् ।
दलहरू चुनावी प्रचारमै सीमित
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसको तयारीमा यतिबेला सरकार, निर्वाचन आयोग र दलहरू जुटेका छन् । पार्टी प्रवेश गराउने होडबाजीमा देखिएका दलहरूले मतदाता शिक्षाका बारेमा भने खासै तयारी गरेका छैनन् । निर्वाचन मिति नजिकिँदै गएका बेला पार्टीहरूले मतदाता शिक्षा कार्यक्रमभन्दा चुनावी प्रचारलाई मात्र जोड दिएका हुन् । निर्वाचन हुन डेढ महिनाभन्दा कम समय रहँदा प्रदेशभर कुनै पनि स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु हुन सकेका छैनन् । नेकपा ‐एमाले) का कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले टोल–टोलमा पार्टीका कार्यक्रमसँगै मतदाता शिक्षा सञ्चालन भइरहेको दाबी गरे । ‘हामीले चुनावी प्रचारका कार्यक्रममा मतदाता शिक्षा पनि दिने गरिरहेका छौ,’ उनले भने, ‘तल्लो कमिटीका कार्यकर्तालाई मत हाल्ने सही तरिका सिकाउन भनिएको छ ।’ उनले यस्तो दाबी गरेपनि निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउन राजनीतिक दलले ठोस कार्यक्रम गरेको पाइँदैन । मतदाता शिक्षाको अभावमा मतदातामा अस्पष्टता र अलमल देखिने गरेका छन् । दलहरूले मत बदर नहुनका लागि नमुना मतपत्र आएपछि विशेष कार्यक्रम लिएर घरदैलो गरिने जनाएका छन् । नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पनि पार्टीको प्रचार अभियानसँगै मतदाता शिक्षालाई जोड दिइएको बताउँछन् । नेकपा ‐माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पहिला मतदाता शिक्षा र त्यसपछि मात्रै भोट माग्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरी देखिएको बताइन् । अघिल्ला निर्वाचनमा धेरै मत बदर भएको भन्दै उनले मतदातालाई मसिनो तरिकाले बुझाउनु पर्ने जनाइन् ।
मतदाता शिक्षा कार्यक्रम वैशाख १३ देखि
प्रदेश र जिल्लास्थित निर्वाचन कार्यालयहरूले यसपटक मतदाता शिक्षाका कार्यक्रम सुरु गरेका छैनन् । आयोगबाट नमुना मतपत्रलगायतका सामग्री उपलब्ध भइ नसकेको जनाइएको छ । मतदाता शिक्षा सामग्री आएपछि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । उनका अनुसार वैशाख १३ देखि २७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । ‘मतको महŒव बुझाएर मतदान गर्न सल्लाह दिने, निर्वाचन प्रणाली र सरकार गठनसम्बन्धी व्यवस्थाबारे नागरिकहरूलाई स्पष्ट बनाउने योजना छ,’ चालिसेले भने, ‘मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्नेलगायत विषयमा जानकारी दिइने छ ।’ मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने काम गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २१ चैत्र २०७८, सोमबार १४:०२
रजनी याेगी ।