राहतको नाममा पीडितमाथि मजाक

सरकारले जुम्लामा पठायो प्रतिपरिवार चार सय १२ रूपैयाँ राहत

जुम्ला: जुम्लाका किसानले मार्सीको बिउ ब्याडमा छर्ने दिन हो यो । चैत १२ गते भिजाएको मार्सीको बिउ आठ दिनपछि ब्याडमा छरिन्छ । जुम्लामा यो परम्परागत कृषि क्यालेण्डर नै हो । वर्षाैं पहिलेदेखि यही चलनले निरन्तरता पाइरहेको छ । तर, यो वर्ष भेरीखोलाको सर्मी गाउँ, तिलाको नुवाकोट, रावतबाडा, सापुल्लीलगायत गाउँका किसानले मार्सीको बिउ राख्न पाएनन् । बेमौसमी वर्षाका कारण गएको कार्तिक ३ गते राती भेरीखोला उर्लिएर आयो । यही विपत्तिले आसपासका मार्सी फाँट बगर बनायो । यो वर्षको विसुवा पर्व क्षतिग्रस्त क्षेत्रका किसानका लागि पीडादायी बन्यो । विगतका वर्षहरूमा यतिबेला मार्सी फल्ने फाँटमा हुर्किदै गरेका जौं को हरियाली दृश्य बोकेर बसन्त ऋृतु भित्रन्थ्यो । यसपटक भने भेरीखोला क्षेत्र उजाड छ । खेतमाथि खोला बगिरहेको छ । खेत नै बगरमा परिणत भएपछि किसान पिरमा छन् ।

प्राकृतिक विपद्ले रित्तो बनाएका किसानलाई सरकारले अर्को पीडा थपेको छ, राहतका नाममा मजाक गरेर । बाढीले खेतबारी बगाएको ६ महिनापछि सरकारले बल्ल पीडित किसानलाई राहत पठाएको छ । त्योपनि प्रतिपरिवार चार सय १२ रूपैयाँका दरले । ‘बाढीबाट भएको नोक्सानी हेर्दा किसानलाई अहिले पनि सम्हालिन मुस्किल छ । तर, सरकारले पठाएको राहत रकमले भने किसानहरूलाई झनै पीडा थपिएको छ । तातोपानी–७ का स्थानीय कृष्ण खड्का भन्छन्, ‘हामीमाथि सरकारले यस्तो खेलाँची नगरेको भए हुन्थ्यो । चार सय रूपैयाँ पठाएर कस्तो राहत दिन खोजिएको हो कुन्नी ?’

बेमौसमी वर्षाका कारण क्षति पुगेका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको खातामा संघीय सरकारले राहत रकम पठाएको छ । जुम्लाका एक हजार दुई सय १२ जना बाढीपीडितलाई पाँच लाख रूपैयाँ आएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले बताइन् । ‘हामीले एक हजार दुई सय जना बाढी पीडितको लागि १९ लाख ३५ हजार चार सय ६५ रूपैयाँ माग गरेको हो, पाँच लाख रूपैयाँ मात्रै पठाइएको छ । उनले रकम निकै न्यून प्राप्त भएकाले पीडित किसानलाई बाँड्न अप्ठ्यारो भइरहेको जनाइन् ।

कार्तिक पहिलो साता आएको बाढीले जुम्लाका विभिन्न स्थानमा कृषिबालीसँगै भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो । भिœयोेउने तयारीमा रहेको धानका फाँट बगेका थिए भने दुई दर्जन पानी घट्ट, एक दर्जन विद्युत गृह, झन्डै डेढ सय भेडाबाख्रा र दुई वटा घर बगेका थिए । कृषि विकास कार्यालयका अनुसार त्यसबेला १८ दशमलव ७३ हेक्टर मार्सी फाँट बगरमा परिणत भएको थियो । तथ्याङ्कअनुसार बाढीले जुम्लाका एक हजार दुई सय १२ जना किसानको मार्सी धान र अन्य बालीमा क्षति गरेको थियो । बाढीले धानमा क्षति गर्दा जुम्लामा यसवर्ष झन्डै १२ सय मेट्रिक टन धान उत्पादन घटेको बताइएको छ । गत वर्ष साढे ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसपाली करिब पाँच हजार चार सय मेट्रिक टन धान मात्रै उत्पादन भएको हो । ‘संघीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरेर तत्काल राहत वितरण गर्ने बताएका थिए । निकै ढिलागरी राहत पठाएको सरकारले पीडितलाई गिज्याउँने काम मात्र गरेको नागरिक समाजका अगुवाहरू बताउँछन् । ‘सरकारले राहतको नाममा किसानको खिल्ली उडाउनु विडम्बना हो,’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने ।

सरकारले पठाएको राहतप्रति जिल्लास्थित राजनीतिक दल पनि असन्तुष्ट बनेका छन् । नेताहरूले यस्तो राहत सरकारलाई नै फिर्ता गरिदिनुपर्ने प्रतिक्रिया दिएका हुन् । ‘सरकारले पठाएको यो राहतले किसानलाई खुसी नभइ झनै पीडा थप्छ,’ नेकपा ‐एकीकृत समाजवादी) जुम्लाका सचिव आदीप्रसाद न्यौपाने भन्छन्, ‘यो रकम सरकालाई नै फिर्ता गरिदिनुपर्छ ।’ जुम्लामा चालु आर्थिक वर्षको यो अवधिसम्ममा प्राकृतिक विपद्बाट सात जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७८, सोमबार ०५:०३