पहिलोपटक टाइफाइडविरुद्धको खोप

बालबालिकालाई टाइफाइडविरुद्धको खोप अबदेखि नियमित कार्यक्रम, सुर्खेतमा खोप अभियान तीन चरणमा, विद्यालयमै खोप केन्द, स्वास्थ्यकर्मीसहित तीन हजार जनशक्ति परिचालन हुने

सुर्खेत: टाइफाइड रोगको संक्रमण र यसबाट स्वास्थ्यमा पर्ने जटिलतालाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन गरिने भएको छ । देशव्यापी कार्यक्रमअन्तर्गत पहिलोपटक बालबालिकालाई चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो । उक्त खोप अभियानको तयारी सुर्खेतमा पनि तीव्र पारिएको छ । १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा तीन चरणमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिनेछ ।

पहिलो चरणमा वीरेन्द्रनगरका १६ वटै वडामा चैत २५ गतेदेखि खोप लगाउन सुरु गरिने भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए । वीरेन्द्रनगरका २२ हजार दुुई सय ३९ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य लिइएको छ । दोस्रो चरणमा भेरीगंगा, गुुर्भाकोट र लेकवेशी नगरपालिका तथा बराहताल र चिंगाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुुनेछन् । चैत २६ देखि भेरीगंगाका ११ हजार आठ सय १९ बालबालिकालाई खोप दिने तयारी गरिएको छ । गुुर्भाकोटमा भने चैत २८ देखि टाइफाइडविरुद्धको खोप दिइनेछ । गुर्भाकोटमा १२ हजार नौ सय ९७ बालबालिकालाई खोप दिन लागिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । लेकवेशी, बराहताल र चिंगाडमा चैत २९ देखि खोप कार्यक्रम सुरु गरिने भएको छ । लेकवेशीमा आठ हजार तीन सय ९७, बराहतालमा सात हजार आठ सय ३५ र चिंगाडमा पाँच हजार नौ सय १५ बालबालिकालाई खोप दिने तयारी गरिएको हो ।

बालबालिकालाई खोपको सहज पहुँचमा ल्याउन विद्यालयहरूमै केन्द्र स्थापना गरिँदै छन् । यो राष्ट्रिय अभियानमा ८० प्रतिशत खोप केन्द्र विद्यालयमै राखिने भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई भने समुुदायमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । विद्यालयमै खोप दिइँदा बालबालिका छुट्ने सम्भावना न्यून हुने जनस्वास्थ्य सेवा कार्यालयको आकलन छ । अभियान अवधिभर सुर्खेतमा स्वास्थ्यकर्मीसहित तीन हजार जनशक्ति परिचालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गौतमले जनाए । उनका अनुसार चिकित्सक, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका र शिक्षकहरू खोप अभियानमा खटिने भएका हुन् । ‘सुर्खेतका एक लाख बढी बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ,’ गौतमले भने । नौवटै स्थानीय तहका करिब एक लाख ३५ हजार बालबालिकाहरूलाई खोप लगाउने तयारी गरिएको हो ।

बालबालिकालाई टाइफाइडविरुद्धको खोप अबदेखि नियमित कार्यक्रम, सुर्खेतमा खोप अभियान तीन चरणमा विद्यालयमै खोप केन्द, स्वास्थ्यकर्मीसहित तीन हजार जनशक्ति परिचालन हुने

जिल्लामा खोप अभियानको अन्तिम चरण भने वैशाख ३ गतेदेखि सुरु गरिने भएको छ । जसअन्तर्गत चौकुुने र सिम्ता गाउँपालिकाका बालबालिकालाई खोप लगाइँदै छ । सिम्ताका सात हजार आठ सय ४१ र चौकुनेका आठ हजार सात ९८ बालबालिकालाई खोप दिइने भएको हो । टाइफाइडविरुद्धको खोपलाई अबदेखि नियमित खोपअन्तर्गत राखिने भएको छ । १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप अभियानमा एक मात्रा र त्यसपछि यसलाई नियमित खोप कार्यक्रममा समावेश गरिने भएको हो । अबदेखि नियमित खोेपमा टाइफाइडविरुद्धको खोप पनि समेटिएको जनाइएको छ । १५ महिनाका बालबालिकाहरूले टाइफाइडविरुद्धको एक मात्रा खोप अनिवार्य लिनुपर्ने हुन्छ ।

सुर्खेतमा टाइफाइड रोगको संक्रमण धेरै हुने गरेको छ । केही वर्षयताको विवरण हेर्दा यहाँ टाइफाइड जटिल स्वास्थ्य समस्याकै रूपमा रहेको देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ मा तीन हजार चार सय २६ जनामा टाइफाइडको संक्रमण भएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०७७/०७८ मा चार हजार पाँच सय २८ जनामा टाइफाइडको संक्रमण फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा दुई हजार आठ सय ३६ जनामा टाइफाइड रोगको संक्रमण देखिएको छ । चिकित्सकहरूका अनुसार टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो । नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिने गरेको पाइन्छ । संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोग लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्ने र स्वस्थ व्यक्तिमा दूषित खाना र पानीका माध्यमबाट सर्ने गर्दछ । टाइफाइडका मुख्य लक्षण उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउनेलगायतका हुन् । ‘बालबालिका १५ वर्ष पुग्दासम्म टाइफाइड रोगविरुद्धको खोप अनिवार्य लगाउनुपर्छ,’ जनस्वास्थ्य कार्यालय प्रमुख गौतमले भने, ‘यो उमेर समूहका बालबालिकाहरूमा टाइफाइडको संक्रमण हुने जोखिम ११ गुणा बढी हुन्छ । बालबालिकाहरू उच्च जोखिममा रहेकै कारण त्यसको न्यूनीकरण गर्न खोप अभियानलाई तीव्रता दिन लागिएको उनले जनाए ।

टाइफाइड रोगविरुद्धको अभियान प्रदेशभर नै चैत २५ गतेबाट सुरु हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताए । ‘प्रदेशभर चैत २५ बाट वैशाख १८ सम्म खोप कार्यक्रम सञ्चालन हुन्छ,’ उनले भने, ‘अधिकांश बालबालिकालाई विद्यालयमै केन्द्र बनाएर खोप दिइनेछ ।’ खोपको लक्षित संख्या विद्यालयमा रहने हँुदा विद्यालयलाई प्राथमिकतामा राखिएको केसीले जनाए । उनका अनुसार संस्थागत वा सामुदायिक विद्यालयहरूमा खोप केन्द्र तोकिने छन् । समुदायमा टाइफाइड रोगविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले खोपको कभरेज सबै तहमा ९५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   २० चैत्र २०७८, आईतवार ०५:०५