टाइफाइडविरुद्ध खोप अभियान

गर्मी समय सुरु भएसँगै टाइफाइडका बिरामी बढ्न थालेका छन् । चिकित्सकहरूका अनुसार यो प्रायः गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो । तर चिसो मौसमा पनि टाइफाइडले सताउन भने सक्छ । दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ । सुर्खेतमा पनि टाइफाइड रोगको संक्रमण धेरै हुने गरेको छ । केही वर्षयताको विवरण हेर्दा यहाँ टाइफाइड जटिल स्वास्थ्य समस्याकै रूपमा रहेको देखिएको हो । त्यसैले विशेष सतर्कता अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरूको जोड छ । तथ्याङ्कले सुर्खेतमा हरेक वर्ष टाइफाइडका बिरामी बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष २०७६/०७७ मा तीन हजार चार सय २६ जनामा टाइफाइडको संक्रमण भएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०७७/०७८ मा चार हजार पाँच सय २८ जनामा टाइफाइडको संक्रमण फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा दुई हजार आठ सय ३६ जनामा टाइफाइड रोगको संक्रमण देखिएको छ ।

चिकित्सकहरूका अनुसार टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो । नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिने गरेको पाइन्छ । संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाइफाइड रोग लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्ने र स्वस्थ व्यक्तिमा दूषित खाना र पानीका माध्यमबाट सर्ने गर्दछ । टाइफाइडका मुख्य लक्षण उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउनेलगायतका हुन् । टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्छ । बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरू बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् । हेलचक्य्राइँ गर्नाले पनि टाइफाइडले समस्या निम्त्याउने गरेको छ । तर अब भने यसलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको छ । बालबालिका १५ वर्ष पुग्दासम्म टाइफाइड रोगविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने भएको छ । टाइफाइड रोगको संक्रमण र यसबाट स्वास्थ्यमा पर्ने जटिलतालाई न्यूनीकरण गर्न खोप अभियान नै सञ्चालन गरिने भएको छ । देशव्यापी कार्यक्रमअन्तर्गत पहिलोपटक बालबालिकालाई चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो । उक्त खोप अभियानको तयारी सुर्खेतमा पनि तीव्र पारिएको छ । १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

बालबालिकालाई खोपको सहज पहुँचमा ल्याउन विद्यालयहरूमै केन्द्र स्थापना गरिदै छन् । यो राष्ट्रिय अभियानमा ८० प्रतिशत खोप केन्द्र विद्यालयमै राखिने भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई भने समुुदायमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । यो अभियान सफल बनाउन सम्बन्धित सरोकारवाला सबैको भूमिका आवश्यक देखिएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७८, सोमबार ०५:०४