ऊर्जा उत्पादनमा लगानी

जलविद्युत उत्पादनका दृष्टिले प्रचूर सम्भावना बोकेको प्रदेश हो, कर्णाली । प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सकिने सरकारी तथ्यांक छ । तर हाल करिब १२ मेगावाट मात्रै विद्युत उत्पादन गरिएको छ । यहाँका अधिकांश नागरिक बिजुलीको उपभोग गर्नबाट वञ्चित छन् । आफूसँग भएको स्रोतको उपयोग भएको छैन, बाहिरबाट आयात गरेर पनि पर्याप्त मात्रामा वितरण हुन सकेको छैन । जसले गर्दा कर्णाली विद्युतको पहुँचमा पछि परेको छ । कर्णाली प्रदेशका झन्डै ५७ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर छन् । सहरी तथा केही ग्रामीण भेगका नागरिकले राष्ट्रिय प्रसारण लाइन तथा लघु जलविद्युत आयोजनाको उपभोग गरिरहेका छन् । ग्रामीण विद्युतीकरण विस्तारका योजनामा प्रगति नभएकाले प्रदेशको आधा जनसंख्या अँध्यारोमै बस्न बाध्य भएको हो ।

कर्णालीका सात जिल्लामा मात्र विद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेको छ । तीन जिल्ला प्रशारण लाइनमा जोडिएका छैनन् । मुगु, हुम्ला र डोल्पामा बिजुलीको लाइन विस्तार हुन नसकेको हो । सुर्खेत, दैलेख, सल्यान, रूकुम–पश्चिम जाजरकोट, कालीकोट र जुम्ला राष्ट्रिय प्रशारण लाइनको पहुँचमा छन् । यी जिल्लाका पनि केही भू–भागमा मात्र विद्युत सेवा पु¥याइएको छ । प्रदेशका ७९ मध्ये ३५ भन्दा बढी स्थानीय तहमा विद्युत सुविधा पुगेको छैन । प्रदेश राजधानी सुर्खेतमा समेत ५० प्रतिशत नागरिकले मात्र विद्युत उपभोग गर्न पाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार कर्णालीमा बिजुली बाल्ने नागरिकको संख्या करिब ४० प्रतिशत हाराहारी छ । त्यसमा पनि वैकल्पिक उर्जाको योगदान ३९ प्रतिशतभन्दा बढी छ । एकातर्फ नागरिकहरू विद्युत पहुँचमा पुग्न सकेको छैनन् भने अर्कोतर्फ सम्भावित आयोजनाहरू सञ्चालन हुन सकेका छैनन् । सम्भाव्यता अध्ययन भइसकेका आयोजनाहरू निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेशमा विद्युत उत्पादनको इजाजत लिएका धेरै आयोजना भने झोलामै सीमित छन् । लाइसेन्स लिएर होल्ड गरिएका यस्ता आयोेजनाको विद्युत उत्पादन क्षमता दुईदेखि एक हजार नौ सय मेगावाटसम्म छ । खोलाजति ओगटेर झोलामा राख्ने प्रवृत्ति कर्णालीमा पनि बढ्दै गएको हो ।

पछिल्लो समय भेरी बबई डाइभर्सनको निर्माण गतिले केही आशा जगाएको छ । अर्कोतर्फ बेतन कर्णाली जलविद्युत आयोजना निर्माणले पनि गति लिन थालेको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनका संरचना निर्माणको काम अबको एक वर्षभित्रमा सुरु गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि संरचना निर्माण कार्य अघि बढाउनेगरी धमाधम त्यसपूर्वका प्रक्रियागत कामहरू भइरहेका हुन् । चार सय ३९ मेगावाट क्षमताको अर्धजलासययुक्त यो जलविद्युत आयोजना निर्माण हुन सके उज्यालो कर्णाली बनाउने अभियानमा ठूलो सघाउ पुग्नेछ ।

प्रकाशित मितिः   १८ चैत्र २०७८, शुक्रबार ०५:०३