बेतन कर्णाली जलविद्युत आयोजना: एक वर्षभित्रै निर्माण थालिने

सुर्खेत: बेतन कर्णाली जलविद्युत आयोजना निर्माणपूर्वका कामलाई तीव्रता दिइएको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनका संरचना निर्माणको काम अबको एक वर्षभित्रमा सुरु गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि संरचना निर्माण कार्य अघि बढाउनेगरी धमाधम त्यसपूर्वका प्रक्रियागत कामहरू भइरहेका हुन् । आयोजनाअन्तर्गत प्राविधिक अध्ययन तथा पहुँच मार्ग निर्माणका काम सम्पन्न भइसकेको बेतन कर्णाली हाइड्रोपावर परियोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जनाए ।

चार सय ३९ मेगावाट क्षमताको अर्धजलासययुक्त यो जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । ‘इन्जिनियरिङ अध्ययन सकियो, पहुँच मार्गका काम पनि सम्पन्न भएका छन्,’ न्यौपानेले भने, ‘हाल प्रभावित क्षेत्रमा मुआब्जा वितरणका प्रक्रिया सुरु गरिएको छ ।’

आयोजना स्थलसम्म पुग्ने अछामतर्फको १८ किलोमिटर सडक बनिसकेको छ भने सुर्खेततर्फको भागमा १४ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । आयोजना कस्तो बनाउने भन्ने प्राविधिक डिजाइन पूरा भएसँगै अहिले मुआब्जा वितरण तथा उत्पादनपछिको बिक्री सम्झौताका प्रक्रिया अघि बढाइएको छ । जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) र आर्थिक संकलन यो वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत ७४ अर्ब १५ करोड रहेको छ । आयोजना निर्माण भइ विद्युत बिक्री सुरु भएमा वर्षमा करिब १४ अर्ब आम्दानी हुने आकलन गरिएको परियोजना प्रबन्धक न्यौपाने बताउँछन् । पछिल्लो समय आयोजनामा लगानी गर्न आर्थिक संकलनको लागि विभिन्न बैंकहरूसँग सहमति गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यविन्दुमा बन्ने आयोजना दुवै प्रदेशको गौरवको रूपमा हेरिएको छ । बेतन कर्णाली जलविद्युत आयोजना सुर्खेत र अछामका भू–भागमा पर्छ । अछामको ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका भू–भाग हुँदै बग्ने कर्णाली नदीबाट जलविद्युत उत्पादन गर्न लागिएको हो । बाँधस्थलको मुख्य संरचना ढकारीको मालुमेलादेखि झन्डै दुई किलोमिटर तल बन्नेछ । यो जलविद्युत आयोजना कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो ।

आयोजनाको ४० प्रतिशत सेयर कर्मचारी सञ्चयकोषमा आवद्व सञ्चयकर्ताको हुनेछ भने १५ प्रतिशत कर्मचारी सञ्चयकोषको संस्थागत सेयर हुने जनाइएको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडले १०–१० प्रतिशत सेयर लगानी गर्दैछन् । बाँकी २५ प्रतिशतबाट प्रभावित क्षेत्रका स्थानीयबासिन्दा र पब्लिक आईपीओमा जाने परियोजना प्रबन्धक न्यौपानेले बताए ।

निर्माणस्थलको अछामतर्फको जग्गा मुआब्जा दिनको लागि केही दिन पहिले ३५ दिने सूचना निकालिएको थियो । त्यहाँ मुआब्जा मूल्य निर्धारण समितिले सिफारिस गरिसकेको छ भने सुर्खेत क्षेत्रमा मूल्य निधारण सिफारिस उपसमिति बनाएर प्रक्रिया अघि बढाइएको छ । सुर्खेत क्षेत्रमा पनि जग्गाको दाबी विरोधकको तथ्याङ्क संकलन भइसकेको परियोजनाले जनाएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कम्पनी र पालिका तथा मालपोतका प्रतिनिधिको मूल्य निर्धारण समिति बनाइएका छन् । आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको वडा नं. ७ र अछामको ढकारी गाउँपालिकाको वडा नं. ६ तथा तुर्माखाँद गाउँपालिकाको ३, ४ र ५ वडाका बासिन्दा प्रभावित बन्नेछन् ।

हाल आयोजनाको ‘बेसिक क्यापहाउस’ निर्माण तथा चार सय ४० मिटर अडिट टनेल खन्ने काम सकिएको छ । ‘आयोजना स्थलसम्म पुग्न मोटरबाटो, क्याम्पहाउस र अडिट टनेल निर्माणका काम भइसकेका छन्,’ प्रबन्धक न्यौपानेले भने, ‘अहिले जलविद्युतका मुख्य संरचना निर्माणपूर्वका कामहरूलाई तीव्रता दिइएको छ ।’

यो आयोजना सञ्चालन गर्न सन् २०१७ को अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन थालेको थियो । केही महिनाअघिमात्रै विस्तृत प्राविधिक अध्ययन सकिएको हो ।

कर्णाली नदीमा बाँध बनाएर सुरुङमार्फत विद्युतगृहमा पानी लग्ने योजना छ । बाँधस्थल अछामको मालुमेलामा रहनेछ भने विद्युतगृह टटालीघाटमा बन्ने बताइएको छ । आयोजनाको जलासय झन्डै एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने क्षमताको निर्माण गरिँदै छ । कर्णाली र सुदुरपश्चिममा हाइड्रोपावरका ठूला आयोजना बन्न सकिरहेका छैनन् । थुप्रै आयोजनाको अध्ययन थालिए पनि गति भने सुस्त छ । कर्णाली नदीको खेर गइरहेको पानीको सदुपयोग गरेर बनाउन लागिएको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण भए यहाँको आर्थिक क्षेत्रमा निकै टेवा पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मितिः   १७ चैत्र २०७८, बिहीबार ०५:०५