निर्वाचन कार्यतालिकाप्रति आपत्ति

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै केही व्यवसायीहरूले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संघका निवर्तमान अध्यक्ष, हालका केही पदाधिकारी र कार्यसमिति सदस्यले निर्वाचन कार्यतालिकामा आपत्ति जनाएका हुन् । उनीहरूले प्रेस विज्ञप्तीमार्फत व्यवसायीहरूले राखेका मागको बेवास्ता गर्दै निर्वाचन तालिका सार्वजनिक गर्नु आपत्तिजनक भएको बताएका छन् । संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेत, महिला उपाध्यक्ष कृष्णाकुमारी थापा र केही कार्यसमिति सदस्यहरूले विज्ञप्तीमार्फत विरोध जनाएका हुन् ।

उद्योगी व्यवसायीको हक अधिकार स्थापित गर्नुपर्नेमा संघमा एकलौटी ढंगबाट सहमतिका ढोका बन्द गरिएको उनीहरूको आरोप छ । सार्वजनिक गरिएका सबै कार्यक्रम स्थगित गरी व्यावसायिक मागहरूलाई सहमतिका आधारमा निष्कर्षमा पु¥याएर मात्र निर्वाचन गर्न असन्तुष्ट व्यवसायीले अनुरोध गरेका छन् । पूर्व अध्यक्षहरूले विवाद समाधानको पहल थालिरहेका बेला संघको नेतृत्वले त्यसको बेवास्ता गरेको असन्तुष्ट व्यवसायीको भनाइ छ । सुर्खेत उद्योग वाणिज्य संघले आगामी नेतृत्व चयनका लागि यही चैत २६ गते निर्वाचन हुने जनाएको छ । संघको निर्वाचनका लागि मंगलवार मतदाता नामावली र निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकिएको छ । संघको कार्यालयमा असन्तुष्ट व्यवसायीहरूले लामो समयदेखि तालाबन्दी गरेका छन् । संघमा सदस्यता नवीकरणको विवाद छ । सोही विवाद बढ्दै जाँदा व्यवसायीहरू दुई कित्तामा विभाजित भएका छन् ।

प्रकाशित मितिः   १७ चैत्र २०७८, बिहीबार ०५:०४