निर्वाचनको माहोल

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको छ । जिल्लास्थित निर्वाचन कार्यालहरू चुनावपूर्वका काममा जुटेका हुन् । अहिले निर्वाचन कार्यालयहरूले जनशक्ति व्यवस्थापनलगायतका काम अघि बढाएका छन् । आयोगले निर्वाचन अधिकृत, मतदाता नामावली, मतदान स्थल र मतदान केन्द्रलगायतको विवरण सार्वजनिक गरिसकेको छ । विभिन्न जिल्लामा दर्ता भएका दलहरूको नामावली पनि आइसकेको छ । हाल सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकन र स्थानीय तहसँग समन्वय भइरहेको छ । कर्णालीका सबै जिल्लामा सुरक्षा समितिमार्फत निर्वाचन केन्द्रको अवस्थाबारे स्थलगत अवलोकन गरिसकिएको निर्वाचन कार्यालयहरूले जनाएका छन् । यस हिसाबले कर्णाली प्रदेशमा निर्वाचनका लागि आवश्यक तयारी धमाधम भइरहेको देखिन्छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयहरूले चुनाव पूर्वका व्यवस्थापकीय कामहरू तीव्रताका साथ अघि बढाएको जनाइएको छ । प्रदेश निर्वाचन कार्यालयले सुर्खेत र कर्णालीका अन्य जिल्लाका हकमा सम्बन्धित निर्वाचन कार्यालयहरूले व्यवस्थापनका काम अघि बढाएका हुन् । आयोगको निर्देशन बमोजिम आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भएर निर्वाचन कार्यालयहरू तयारीमा होमिएका छन् । अर्कोतर्फ राजनीतिक दलहरू पनि चुनाव लक्षित गतिविधिमा व्यस्त छन् । मतदाता रिझाउन प्रयास गरिरहेका छन् । चुनावको मुखैमा आएर दल बदल्ने क्रम पनि बढेको छ । हरेक दिन ठूलो संख्यामा पार्टी फेरबदल गरिरहेका छन् । यसले पनि चुनावी माहोल तातिएको छ । आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पनि सरोकारवाला निकायसँग छलफल तथा अन्तक्रियाहरू भइरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चैत १५ गतेदेखि आचारसंहिता लागू गर्दैछ । त्योसँगै चुनावमा खटाउने जनशक्तिको व्यवस्थापनलगायतका काममा निर्वाचन कार्यालयहरू लागिरहेका छन् । निर्वाचन अधिकृत नियुक्त भइसकेकाले अब स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने क्रममा छ ।

निर्वाचनको समयमा आचारसंहिताको कार्यान्वयन महङ्खवपूर्ण पक्ष हो । विभिन्न पक्षबाट यसको उल्लंघन हुने जोखिम उत्तिकै छ । त्यसैले आचारसंहिताको कार्यान्वयनमा आयोगले विशेष ध्यान पु¥याउन जरुरी छ । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न हुनु अपरिहार्य छ । त्यसैले सुरक्षा व्यवस्थालाई विशेष ख्याल राख्नुपर्ने हुन्छ । चुनाव हुने दिन आउन अब धेरै समय बाँकी छैन । मतदाता शिक्षालाई पनि जोड दिनुपर्ने हुन्छ । यी यावत कार्यहरूमा निर्वाचन आयोग र सम्बन्धित निकायहरूको तदारुकता जरुरी छ ।

प्रकाशित मितिः   १५ चैत्र २०७८, मंगलवार ०५:०४