अपाङ्गता भएका महिलामाथि झनै हिंसा

सुर्खेत: बराहताल गाउँपालिका–७, सुर्खेतकी ३३ वर्षीय ललिसरा घर्तिमगर शारीरिक अपाङ्गता हुुन् । समाजले गर्ने विभेदपूर्ण व्यवहारबाट उनी पीडित छिन् । अपाङ्गगता भएका महिलाहरूले घर–परिवार, समाज र सार्वजनिक स्थलमा समेत अपमानजनक व्यवहार खेप्नुपरिरहेको उनी बताउँछिन् । यस्ता खालका दुव्र्यवहारबाट मुक्त गराउन तथा अपाङ्गता भएकाको हक–हितका लागि काम गर्न ललिसरा अपाङ्ग महिला समाज सुुर्खेतमा आवद्ध छिन् । ‘हामी राज्यले दिने सेवा सुविधाबाट मात्र वञ्चित होइन समाजका अगुवाहरूबाट पनि प्रताडित छौं,’ उनी भन्छिन्, ‘न अपाङ्गतामैत्री संरचना र कानुन छन्, न त सम्मानजनक व्यवहार नै छ । शारीरिक रूपमा अशक्त र फरक क्षमता भएका महिलाहरूलाई पाइलैपिच्छे विभेद भइरहेको उनको अनुभव छ । ‘हिंसा भनेको कुटपिट गर्नु मात्र होइन, भावनामा चोट पु¥याउनु पनि हो,’ ललिसराले भनिन् ।

चन्दननाथ नगरपालिका जुम्लाकी रजना बुुढा अपाङ्गता भएका महिलाको अवस्था नाजुक रहेको बताउँछिन् । उनका अनुसार अपाङ्गता भएका महिलाहरूले थप विभेद खेप्नु परेको छ । ‘लैङ्गिकताका आधारमा विभेद छ,’ उनले भनिन्, ‘अपाङ्गता पनि भएकाले झन् समाजले समेत हामीमाथि अनेक हिंसा गरिरहेको छ, अपहेलित हुनुपरेको छ ।’ रजना पनि अपाङ्गता भएका व्यक्तिका अधिकारका क्षेत्रमा काम गर्छिन् । अरुका लागि समेत आवाज उठाउने उनी दिनहुँजसो आफै हिंसा भोग्न बाध्य छन् । ‘अपाङ्गता भएका महिलालाई हरेक ठाउँमा धैरै नै संघर्ष र चुनौतीको सामना गर्नुपर्छ,’ उनले भनिन्, ‘समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन ।’ अपाङ्गता भएका महिलाहरू नेतृत्वदायी भूूमिकाको पहुँचमा नभएसम्म अहिलेको अवस्थामा सुधार नहुने उनको बुझाइ छ । ‘जसको नीति र सवाल उसैको नेतृत्व हुन आवश्यक छ,’ उनी भन्छिन्, ‘नभए हामी कहिलेसम्म अवसरबाट वञ्चित भइरहने ?’

हिमा गाउँपालिका जुुम्लाकी ४३ वर्षीय रूपकला योगी अपाङ्गता छिन् । शारीरिक अवस्था र घरव्यवहारका कारण उनले उच्च शिक्षा लिन पाइनन् । ‘धेरै पढ्ने इच्छा थियो,’ रूपकला भन्छिन्, ‘कलिलैमा बिहे भयो, अपाङ्गताका अप्ठ्यारा बुझिदिने कोही भएन ।’ उनको बायाँ हात छैन । पाँच छोरी र एक छोराकी आमा उनको दायाँ हात छैन । छोरा हुुने आशैआशमा धेरै सन्तान जन्माउन बाध्य भएको रूपकलाले सुनाइन् । अहिले पनि समाजले छोरीलाई दोस्रो दर्जाकै नागरिकका रूपमा हेर्ने गरेको उनको अनुुभव छ । अपाङ्गता भएको शरीरले ६ वटा बालबच्चा हुुर्काउन उनलाई निकै हम्मेहम्मे भयो । श्रीमान्को साथ रहेपनि अपाङ्गता भएकै कारण थुप्रै असहजता भएको उनी बताउँछिन् ।

सोमवार वीरेन्द्रनगरमा आयोजित अपाङ्गता भएका महिलाहरूमाथि हुने हिंसाको अवस्थाबारेको एक कार्यक्रममा सुनाइएका अनुभव हुन् यी । यी प्रतिनिधिमूलक घटना र पात्रहरू मात्र हुन् । अपाङ्गता भएका महिलाहरूले हरेक पाइला–पाइलामा अरुभन्दा बढी संघर्ष र कष्ट भोगिरहेका छन् । शारीरिक रूपमा अशक्त रहेका उनीहरू मानसिक, आर्थिक तथा यौनजन्य हिंसाको पनि सिकार हुँदै आएका हुन् ।

अधिकारकर्मीहरूका अनुसार अपाङ्गता भएकाहरू अरु महिलाको तुलनामा बढी नै पीडित छन् । यातना र दुव्र्यवहारबाट उनीहरू निकै आजित बनेका छन् । घरेलु तथा सार्वजनिक स्थलमा हुने हिंसामा अपाङ्गता भएका महिला बढी पर्ने गरेको नेपाल अपाङ्ग महिला संघका केन्द्रीय अध्यक्ष टिकादेवि दाहाल बताउँछिन् । उनीहरूले प्रतिकारसमेत गर्न नसक्ने भएका कारण हिंसा धेरै भोगिरहेको उनको तर्क छ । ‘सामान्यतया अपाङ्गता नभएकी महिलाले त हिंसाविरुद्ध प्रतिकार गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘अपाङ्गता भएकी महिला र बालिकाहरूले झन सिधै र सजिलै प्रतिकार गर्न सक्दैनन् ।’ उनले अपाङ्गता भएका महिला र बालिकामाथि यौनजन्य हिंसा पनि धेरै हुने गरेको जनाइन् । तुलनात्मक अवस्थामा परिवार र समाजमा अपाङ्गता भएका महिला र बालिकाहरूलाई नै सबैभन्दा बढी हिंसा भइरहेको उनको भनाइ छ । अपाङ्गता भएकाहरू सहजै भाग्न वा दौडिन नसक्नु, आँखा नदेख्नुजस्ता कारणले पीडकको पहिचान गर्न समेत समस्या हुने बताइएको छ । हिंसाविरुद्धमा बलपूर्वक प्रतिकार गर्न र सञ्चार गर्न नसक्नुले पनि पीडकलाई कानुनी दायरामा ल्याउन चुनौती छ । पीडितको सुरक्षा र अधिकारको संरक्षणमा सरकारी निकाय गम्भीर बन्नुपर्ने भन्दै अधिकारकर्मीहरूले स्थायी सरकार आँगनमै भएकाले अपाङ्गताप्रति बढी उत्तरदायी हुुनुुपर्नेमा जोड दिएका छन् ।

अपाङ्ग महिलाका समस्या सम्बोधनमा सरोकारवालको चासो नै कम पाइएको नेपाल अपाङ्ग महिला संघका केन्द्रीय महासचिव मिना पौडेलले बताइन् । अपाङ्गता भएका महिलाहरूले न्याय नपाएको, राज्यबाट पाउनुुपर्ने सेवासमेत कटौति हुुने गरेका जस्ता समस्या धेरै देखिएको उनको भनाइ छ । नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि कर्णालीका तीन वटा जिल्लामा कार्यक्रम केन्द्रित गरेको छ । सुुर्खेत, दैलेख र जुुम्लाका गरी १० वटा स्थानीय तहमा संघले काम गर्दै आएको हो । झन्डै दुई वर्ष अघि संघले अपाङ्गता भएका महिलामाथि भएका हिंसाको यी तीनवटा जिल्लामा अध्ययन गरेको थियो । जसमा एक सय ४५ जना अपाङ्गता भएका महिलाहरूमध्ये एक सय १८ जनाले शारीरिक हिंसा, ८० जनाले मनोसामाजिक हिंसा र ७३ जनाले यौनजन्य हिंसा भोगेको पाइएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर सबैजसो जिल्लामा महिला तथा बालबालिकामाथि हुने हिंसाका उजुरी प्रत्येक वर्ष बढ्दो क्रममा देखिएका छन् । कर्णालीमा ५० हजारभन्दा बढी संख्यामा अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्याङ्क छ । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले अपाङ्गता भएकाहरूको हकहित र जीविकोपार्जनका लागि सरकारी तथा गैरसरकारी संघ–संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको जनाए ।

प्रकाशित मितिः   १५ चैत्र २०७८, मंगलवार ०५:०५