कर्णालीमा दश लाख मतदाता

सुर्खेत: आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार कर्णालीमा दश लाख एक हजार दुई सय ८२ जना मतदाता रहेका छन् ।

कूल मतदातामध्ये पाँच लाख ६ हजार एक सय ८० जना पुरुष छन् भने महिला मतदाताको संख्या चार लाख ९५ हजार ९९ जना रहेको छ । निर्वाचनका लागि प्रदेशभर नौ सय सात वटा मतदान स्थल र एक हजार तीन सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

कर्णालीका दश जिल्लामध्ये सबैभन्दा धेरै मतदाता सुर्खेतमा रहेका छन् । दुई लाख ३८ हजार चार सय ५७ मतादाता भएको सुर्खेतमा पुरुष एक लाख १६ हजार तीन सय ३६ जना छन् भने महिला एक लाख २२ हजार एक सय २१ छन् ।

यसैगरी दैलेखमा एक लाख ५८ हजार चार सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । डोल्पामा २२ हजार चार सय ४० जना, मुगुमा ३५ हजार ८९ जना, जुम्लामा ६७ हजार सात सय ४४ जना र कालीकोटमा ८० हजार चार सय १६ जना रहेका छन् ।

त्यसैगरी हुम्लामा ३२ हजार पाँच सय ७१ जना, जाजरकोटमा एक लाख तीन हजार आठ सय ६९ जना, रूकुम पश्चिममा एक लाख चार हजार चार सय ८२ र सल्यानमा एक लाख ५७ हजार सात सय १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

वैशाख ३० गते एकसाथ देशभर निर्वाचन हुँदैछ । आयोगले त्यसका लागि आवश्यक तयारी तीव्र पारेको छ । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली आइतवार नै सार्वजनिक भइसकेको छ ।

यसपटकको स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् । ७९ वटा मध्ये ६ नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरू हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने, अरु दललाई भने स्वतन्त्र उम्मेदवारसरह जुनसुकै चुनाव चिह्न दिन सकिने व्यवस्था छ । यो व्यवस्थाको दलहरूले विरोध गरेपछि अन्तत निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय गरेको छ । आयोगले राष्ट्रिय मान्यता नपाएका दलसँग जिल्लागत संगठन संरचना माग ग¥यो र त्यस आधारमा जिल्लागत आधारमा चुनावमा प्रतिस्पर्धा गर्न सक्ने दलको संख्या निकालेको छ ।

आयोगका अनुसार कर्णाली प्रदेशको रुकुम–पश्चिममा सात दल चुनावी प्रतिस्पर्धामा उत्रिनेछन् । यस्तै सल्यानमा सात, डोल्पामा पाँच, जुम्लामा आठ, मुगुमा नौ, हुम्लामा नौ वटा दल दर्ता भएका छन् । त्यसैगरी कालीकोटमा १४, जाजरकोटमा सात, दैलेखमा आठ र सुर्खेतमा १९ वटा दल दर्ता भएको आयोगले जनाएको छ ।

प्रकाशित मितिः   १५ चैत्र २०७८, मंगलवार ०५:०३