दातृ सहयोगको भर

स्थानीय सरकार गठन भएयता विकास–निर्माणले गति लिएको छ । गाउँदेखि सहरसम्म पूर्वाधार विकासमा प्रगति भएको छ । विभिन्न आयोजना सञ्चालनमा आएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायतका अन्य थुप्रै पूर्वाधारमा लगानी बढेको छ । भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । तीन तहका सरकारले लगानी गरेका छन् । त्यति मात्रै नभएर दातृ सहयोग खोजेर पनि विकास कार्य सञ्चालन भएका छन् । अधिकांश ठूला योजना त दातृ सहयोगकै भरमा बनाइएका छन् । कयौं स्थानीय सरकार आफ्नो नियमित बजेट खर्च गर्न नसकेर असफल भइरहेको बेला कतिपय पालिकाले भने बाह्य सहयोग जुटाएरै भएपनि पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेका छन् ।

त्यसो त स्थानीय सरकारको आम्दानी न्यून छ । संघीय सरकारकाले दिने अनुदानमा निर्भर हुनु पर्दछ । उक्त बजेट पनि विभिन्न क्षेत्रमा खर्च हुन्छ । चालु खर्च नै बढी छ । तर स्रोत खोजेर विकास गर्न केही पालिका अग्रसर देखिएका छन् । दैलेखको दुुल्लू नगरपालिकाले पाँच वर्षको अवधिमा विभिन्न दातृ निकायबाट गरी एक अर्ब ५० करोड हाराहारीमा बाह्य लगानी भित्र्याएको छ । आन्तरिक आम्दानी थोरै भएपनि विकास आयोजनाका लागि ठूलो लगानी भित्र्याउने अर्को पालिका हो, सुर्खेतको सिम्ता । यो गाउँपालिकामा २५ करोड बाह्य लगानीमा ‘सिम्ता उज्यालो कार्यक्रम’ सञ्चालन भइरहेको छ । यस्तै गैरसरकारी संस्थामा प्रस्ताव पेस गरेर सुुरक्षित सरसफाइ कार्यक्रमका लागि पाँच करोड रूपैयाँ ल्याएको छ । रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाले पनि बाहिरबाट स्रोत जुुटाएर थुप्रै विकासका गतिविधि सञ्चालन गर्दै आएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका धेरै बाह्य लगानी भिœयाउने मध्येकै एक स्थानीय तह हो । नगरले दातृ निकायको सहयोग जुटाएर समाजिक तथा भौतिक विकासमा खर्च गरिरहेको छ । संघीय र प्रदेश सरकारका साथै गैरसरकारी निकायको सहकार्यमा नगरभित्रै थुप्रै विकास योजना अघि बढाइएको छ । बाह्य लगानी ल्याएर विकासमा लगाउने यी केही प्रतिनिधिमूलक स्थानीय तह हुन् । यीबाहेकका पालिकाहरूमा पनि बाह्य स्रोतकै सहायताले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका पूर्वाधार बनाइएको छ ।

हरेक वर्ष कुनै न कुनै निकायबाट गरी करोडौं बजेट जुटाएर विकासमा खर्चने गरेको छ । बाह्य आर्थिक स्रोत जुटाउने कसरत नगरेका कतिपय पालिकामा भने आफ्नै बजेटबाट मात्रै विकासका काम गर्नुपर्ने बाध्यता छ । जसले गर्दा त्यस्ता ठाउँमा ठूला आयोजना निर्माण हुन सकेका छैनन् । आन्तरिक स्रोत साधनकै भरमा विकास आयोजना सञ्चालन गर्न निकै चुनौती रहेको छ । त्यसैले दातृ सहयोगकै भरमा भएपनि विकासको गति भने बढेको छ ।

प्रकाशित मितिः   १३ चैत्र २०७८, आईतवार ०५:०३