१७ प्रतिशत नागरिक शुद्ध पानीको पहुँच बाहिर

वास मेलामा विभिन्न १० वटा प्रदर्शनी स्टल राखिएका थिए । स्टलहरूमार्फत पानीसम्बन्धी प्रविधिहरूको प्रदर्शनी गरिएको थियो ।

सुर्खेत:भेरिगङ्गा नगरपालिकामा सरसफाइसम्बन्धी मेला गरिएको छ । शनिवार छिन्चुस्थित शारदा माध्यमिक विद्यालयमा वास मेलाको आयोजना गरिएको हो । मेलाको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले सरफाइ र खानेपानीको शुद्धताबारे सबै सचेत हुनुपर्ने बताए । ‘सफा पानी पिउन पाउनु हरेक नागरिकको अधिकार हो,’ उनले भने, ‘कर्णालीका कतिपय वस्तीमा पानीको संकट छ । त्यसको समाधानका लागि प्रदेश सरकार लागिपरेको छ ।’ मन्त्री सिंहका अनुसार कर्णालीका १७ प्रतिशत नागरिक अहिले पनि शुद्ध पानीको पहुँचमा छैनन् । सरसफाइ र खानेपानीको व्यवस्थापनका लागि प्रदेश सरकारले सबै निकायसँग हातेमालो गर्ने मन्त्री सिंहले जनाए । शुद्ध पिउने पानीका बारेमा बहस र पैरवी गर्न समेत आवश्यक रहेको उनले औंल्याए ।

कर्णाली सरकारले आउँदो वैशाख मसान्तसम्म १० वटै जिल्लाबाट शुद्ध खानेपानीको पहुँच बाहिर रहेका नागरिकको यकिन तथ्याङ्क संकलन गर्न लागेको जनाइएको छ । सोही आधारमा सरकारले खानेपानी उपलब्ध गराउने योजना अघि बढाउने बताइएको छ । ‘यही आर्थिक वर्षभित्र पानीको शुद्धता मापन गर्ने प्रयोगशाला स्थापनाको पनि तयारी भइरहेको छ,’ मन्त्री सिंहले भने । वास मेलामा विभिन्न १० वटा प्रदर्शनी स्टल राखिएका थिए । स्टलहरूमार्फत पानीसम्बन्धी प्रविधिहरूको प्रदर्शनी गरिएको थियो । मेलाको आयोजना भेरिगङ्गा नगरपालिकाले गरेको हो । उक्त एकदिने मेलामा स्थानीय जनप्रतिनिधि, शिक्षक विद्यार्थी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १३ चैत्र २०७८, आईतवार ०५:०३