समन्वय गर
प्रदेश राजधानी वीरेन्द्रनगरको विकासका लागि गुरुयोजना बनाइए पनि कार्यान्वयन हुन सकेको छैन । गुरुयोजनालाई बेवास्ता गर्दै अव्यवस्थित रूपमा बस्ति विकास भएको छ । अन्य पूर्वाधार र संरचनाहरू निर्माण भएका छन् । सडक साँघुरा र जीर्ण छन् । विद्युतको लाइन विस्तार पनि व्यवस्थित छैन । अर्कोतर्फ दिनप्रति दिन जनसंख्या र सवारी साधनको चाप बढ्दै गएको छ । अव्यवस्थित सहरीकरण नियन्त्रण नहुँदा नगर कुरूप बन्दै गएको छ । यसले भविष्यमा अझ ठूलो समस्या निम्त्याउने पक्का छ । सडक स्तरोन्नतिका काममा समेत ढिलासुस्ती हुँदा पछिल्लो समय समस्या झनै बढेको छ । सम्बन्धित निकायकै उदासीनताका कारण विकास निर्माणका कामले गति लिन नसकेको नगरबासीको गुनासो छ ।
वीरेन्द्रनगरको मंगलगढी–गणेशचोकको अहिले सात मिटर चौडा सडक छ । त्यसलाई विस्तार गरेर १५ मिटर चौडाइको बनाइँदै छ । विद्युत र खानेपानीका संरचना हटाउन ढिलाइ हुँदा सम्झौता गरेको लामो समयसम्म काम अघि बढ्न सकेको छैन । सडक विस्तारका लागि ठेक्का सम्झौता भएको ६ महिना बित्यो । गएको भदौ १७ गते पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा बाँकेसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा १८ महिनामा काम सक्नुपर्ने उल्लेख छ । त्यसअनुसार निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ । साढे १३ करोड बजेटमा सडक विस्तार गर्नेगरी सम्झौता गरिएको छ । तर सडक स्तरोन्नतिको काम भने अझै थालिएको छैन । विद्युत र खानेपानीका संरचना सार्ने काममा ढिलाइ हुँदा सडक विस्तारको काममा बाधा परेको हो । विद्युतका पोल र खानेपानीका पाइप व्यवस्थापनमा लामो समय लगाइएको छ । सरोकारवाला निकायबीच एक आपसमा समन्वय नहुँदा पनि वीरेन्द्रनगरको सडक विस्तार योजनाले गति लिन नसकेको बताइएको छ । सडक विस्तार क्षेत्रमा पर्ने संरचना व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई पत्राचार गरिसकिएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । काम गर्नुपर्ने क्षेत्र खाली भएको छैन । यसले गर्दा ठेकेदार कम्पनीले सडक विस्तार कार्य सुरु गर्न सकेको छैन ।
सडक विस्तार क्षेत्रमा खानेपानीका संरचना पनि सार्नुपर्ने छ । उक्त काम सुरु नै हुन सकेको छैन । काम अघि बढाउन सम्बन्धित निकायहरूसँग समन्वय आवश्यक छ । तर त्यसमा ध्यान नदिँदा विकासमा बाधा परिरहेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रलाई नै व्यवस्थित गर्ने योजनामा ढिलाई भएको छ । यसले सम्बन्धित निकायको गैरजिम्मेवारीपन र बेवास्ता देखाउँछ ।
प्रकाशित मितिः ११ चैत्र २०७८, शुक्रबार ०५:०४
सम्पादकीय ।