निर्वाचनको तयारी तीव्र

सुर्खेतमा चुनाव चिन्हको माग गर्दै १९ दलले दिए निवेदन, २९ वटा मतदान केन्द्र थप्ने प्रस्ताव, मतदाताको अन्तिम नामावली चैत १३ मा प्रकाशित हुने

सुर्खेत: स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको छ । जिल्लास्थित निर्वाचन कार्यालहरू चुनावपूर्वका काममा जुटेका हुन् । सरकारले स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकेको छ । अहिले निर्वाचन कार्यालयहरूले जनशक्ति व्यवस्थापनलगायतका काम अघि बढाएका छन् । हाल मतदाता नामावलीको आन्तरिक तयारी, सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकन र स्थानीय तहसँग समन्वय भइरहेको हो । कर्णालीका सबै जिल्लामा सुरक्षा समितिमार्फत निर्वाचन केन्द्रको अवस्थाबारे स्थलगत अवलोकन गरिसकिएको निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

सुर्खेतमा चुनाव चिन्हको माग गर्दै १९ दलले दिए निवेदन

आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पनि सरोकारवाला निकायसँग छलफल तथा अन्तक्रियाहरू भइरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चैत १५ गतेदेखि आचारसंहिता लागू गर्दैछ । त्योसँगै चुनावमा खटाउने जनशक्तिको व्यवस्थापनलगायतका काममा निर्वाचन कार्यालयहरू लागिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने क्रममा छ । निर्वाचन अधिकृतको नियुक्ति चैत १३ गतेसम्म हुनेछ । वीरेन्द्रनगर नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र अन्य आठ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचनमा खटिने अन्य कर्मचारीको विवरण लिने काम भइरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनाए । उनका अनुसार निर्वाचनमा खटाउने कर्मचारीको व्यवस्थापनका लागि तीनै तहका सरकारी कार्यालयबाट कर्मचारीको विवरण संकलन भइरहेको हो ।

मतदान अधिकृतहरूले निर्वाचन गराउने, मतपेटीका संकलन गर्ने र मतपरिणाम घोषणासम्मको काम गर्नेछन् । अहिले प्रदेश निर्वाचन कार्यालयले निर्वाचन अधिकृतको कार्यालय स्थापनका लागि स्थानीय तहसँग छलफल थालेको छ । त्यस्तै, जिल्ला–जिल्लामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ । सुर्खेत जिल्लाभर एक हजार दुई सय म्यादी परिचालन गर्नेगरी भर्नाको प्रक्रिया अघि बढाइएको छ ।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सुर्खेतमा १९ वटा राजनीतिक दलले चुनाव चिन्ह पाउ भनि आवेदन दिएका छन् । राष्ट्रिय दलको मान्यता पाएका ६ दलले भने चुनाव चिन्हका लागि आवेदन दिनु नपर्ने व्यवस्था छ । उनीहरूले दल दर्ताका लागि मात्र आवेदन दिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सुर्खेतमा १९ वटा दलले भाग लिएका थिए । त्यसमध्ये कतिपय दलले अहिले आवेदन दिएका छैनन् भने केही नयाँ दल थपिएका छन् । ‘अघिल्लो स्थानीय चुनावमा पनि सुर्खेतमा १९ दल थिए । अहिले पनि उत्तिनै संख्यामा निवेदन आएको छ,’ प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘निर्वाचन आयोगले दलहरूको संगठन संरचना र क्रियाशीलताका आधारमा छानविन गरेर टुँगो लगाउनेछ ।’

२९ वटा मतदान केन्द्र थप्ने प्रस्ताव

प्रदेश निर्वाचन कार्यालयका अनुसार नयाँ राजनीतिक दलमा उन्नत लोकतन्त्र पार्टी, माओवादी समाजवादी पार्टी, सामाजिक एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, जन समाजवादी पार्टी, नेपाल दलित पार्टी, साझा पार्टी, त्रिमोल नेपाल पार्टीलगायत छन् । राष्ट्रिय मान्यता पाएका नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी नेपालले स्वतः चिन्ह प्राप्त गर्नेछन् । नयाँ दल कतिले निर्वाचनमा सहभागी हुन पाउने र मतपत्रमा कति वटा चिन्ह हुने भन्नेबारे छानबिनपछि मात्रै यकिन हुने जनाइएको छ ।

निर्वाचन आयोगले राजनीतिक दललाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा चैत ६ गतेसम्म चुनाव चिन्हका लागि आवेदन दिन भनेको थियो । सोहीअनुसार सुर्खेतमा उक्त संख्यामा राजनीतिक दलहरूले आवेदन दिएका थिए । ती निवेदन आयोगमा पठाइएको हो । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दलहरूले चुनाव चिन्हका लागि दिएका निवेदन अहिले आयोगमा छानबिनका क्रममा रहेको जनाएको छ । ‘दलका पदाधिकारीको संख्यासहित आवेदन आयोगमा पठाएका छौं,’ प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘त्यो अहिले छानबिनका क्रममै छ ।’

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयहरूले चुनाव पूर्वका व्यवस्थापकीय कामहरू तीव्रताका साथ अघि बढाएको जनाइएको छ । प्रदेश निर्वाचन कार्यालयले सुर्खेत र कर्णालीका अन्य जिल्लाका हकमा सम्बन्धित निर्वाचन कार्यालयहरूले व्यवस्थापनका काम अघि बढाएका हुन् । आयोगको निर्देशन बमोजिम आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भएर निर्वाचन कार्यालयहरू तयारीमा होमिएका छन् । दश वटै जिल्लास्थित निर्वाचन कार्यालयले मतदाता नामावलीको प्रशोधन, सरोकारवाला निकायसँग छलफल, चुनावका लागि जनशक्ति तथा स्रोत–साधनको व्यवस्थापनका काम गरिरहेका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार आयोगले चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । मतदाता नामावली आयोगको वेबसाइटमा राख्ने तयारी भइरहेको प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए । प्रारम्भिक विवरणअनुसार सुर्खेतमा दुई लाख ४० हजार आठ सय एक जना मतदाता रहेका छन् । उक्त संख्यामा त्रुटि सच्याउँदा केही घट्न सक्ने आकलन गरिएको छ । दोहोरिएका र मृत्यु भएकाहरूको नाम हटेपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ ।

मतदाताको अन्तिम नामावली चैत १३ मा प्रकाशित हुने

नौ वटा स्थानीय तह रहेको सुर्खेतमा मतदान कार्य व्यवस्थि गर्न एक सय ३८ मतदान स्थल निर्धारण गरिएको छ भने दुई सय ९२ मतदान केन्द्रहरू प्रस्ताव गरिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा यो पटक सुर्खेतमा २९ वटा मतदान केन्द्र थप गर्न प्रस्ताव गरिएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा दुई सय ६३ वटा मतदान केन्द्र थिए । मतदान स्थल भने फेरबदल नहुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । २९ वटा मतदान स्थललाई सुरक्षाको दृष्टिले अतिसंवेदनशील स्थानका रूपमा राखिएको छ । सडक सञ्जाल, सञ्चार र विगतमा भएका झडपको आंकलन गरी सुरक्षा समितिले संवेदनशील स्थानका रूपमा हेरेको हो । सुर्खेतमा यसअघिका निर्वाचनमा २० वटा मतदानस्थल संवेदनशील मानिएकोमा यसपटक थप नौ वटा स्थललाई पनि जोखिममा राखिएको छ । स्थानीय प्रशासनले पनि अहिले चुनावलक्षित सुरक्षा रणनीति बनाइरहेको छ । प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारीहरूले जिल्लाभरका मतदान स्थल तथा केन्द्रहरूको स्थलगत अनुुगमन तथा सरोकारवालासँग आवश्यक समन्वय गरिरहेका छन् । अनुगमनका क्रममा संवेदनशील ठानिएका मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्थाको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मितिः   ११ चैत्र २०७८, शुक्रबार ०५:०५