दलहरूको मौनता
प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थल विस्तारको चर्चा लामो समयदेखि हुँदै आएको छ । केही वर्षयता विमानस्थलको विकासका लागि थालिएका प्रयास भने निरर्थक बनिरहेका छन् । पछिल्लो पटक पनि अर्को योजना असफल भएको छ । जोडतोडका साथ विस्तार योजना अघि बढाएको प्रदेश सरकार नै विमानस्थल विस्तारको योजनाबाट पछि हटेको छ । सुरुदेखि नै विमानस्थलको विकल्प खोज्नुपर्ने अडानमा रहेका स्थानीयको दबाब थेग्न नसकेपछि अन्ततः स्तरोन्नतिको योजना स्थगित गरिएको हो । विमानस्थल विस्तारका लागि स्थानीयको असन्तुष्टिकाबीच यसअघि कतिपय प्रक्रिया अघि बढाइएको थियो । विमानस्थल विकासको ठोस योजना नबनाउँदा पछिल्लो पटक थप अन्योल देखिएको छ ।
विमानस्थल विस्तारको योजना खारेज गर्ने निर्णयसँगै कर्णाली सरकार आलोचित बनेको छ । हालको स्थानमा स्तरोन्नति सम्भव नदेखिएको ठहर गर्दै यसको विकल्प खोजिने मुख्यमन्त्री जीवनबहादुर शाहीले बताइसकेका छन् । आर्थिक र प्राविधिक रूपमा उक्त स्थान उपयुक्त नभएको निष्कर्षमा प्रदेश सरकार पुगेको हो । प्रादेशिक विमानस्थलका लागि उपयुक्त विकल्पको खोजी गरिने सरकारले जनाएको छ । तर, वैकल्पिक ठाउँको खोजी कहाँ गर्ने भन्नेमा समेत सरकार अलमलमा देखिन्छ । सुर्खेतस्थित केही राजनीतिक दल प्रादेशिक विमानस्थल निर्माणको हल्ला मात्रै गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्ट छन् भने केहीले दलीय स्वार्थकै कारण योजना अघि बढ्न नसकेको आरोप लगाएका छन् । विमानस्थलको विकासमा राजनीतिक दलहरू नै विभाजित हुँदा योजना अघि बढ्न नसकेको कतिपय नेताको तर्क छ । तर जिल्लामा क्रियाशील राजनीतिक दलको बेवास्ताका कारण विमानस्थलको योजना सफल हुन नसकिरहेको जनगुनासो छ । राजनीतिक दलले यसमा चासो नदिएको सरोकारवालाहरू बताउँछन् । त्यसो त प्रदेश सरकारले विमानस्थल विस्तार योजना अन्त्य गर्दासम्म पनि जिल्लाका दलहरूले आफ्नो धारणा सार्वजनिक गरेनन् । न त चासो नै दिए । मौन छन् । यसले पनि विकासप्रति दलहरूको बेवास्ता झल्किन्छ ।
विमानस्थल विकासको योजनामा दलहरू एकमत नहुँदा पनि चुनौती भइरहेको बताइएको छ । विमानस्थल विकास योजना दलीय स्वार्थको चंगुलमा परेको छ । बरू निजी क्षेत्रले तदारुकता देखाएको छ । प्रदेश सरकारले विमानस्थल विस्तारको काम अघि नबढाउने निर्णय गरेपछि निजी क्षेत्र पनि असन्तुष्ट बनेको छ । गतिलो विमानस्थल नहुँदा मारमा पर्दै आएका यहाँका उद्योगी व्यवसायीले विस्तारको काम नरोक्न माग गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले विमानस्थल विस्तारको योजना फेरि अगाडि बढाउन ज्ञापन–पत्रमार्फत मुख्यमन्त्री शाहीको ध्यानाकर्षण गराइसकेको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले पनि विमानस्थल विस्तारको योजना अगाडि बढाउन आग्रह गरिरहेको छ । निजी क्षेत्र सक्रिय हुँदासम्म राजनीतिक दल भने मौन बसेका छन् ।
प्रकाशित मितिः ३ चैत्र २०७८, बिहीबार ०५:०४
सम्पादकीय ।