विवाद समाधान गर

सुर्खेत उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि चैत २६ मा अधिवेशन तोकिएको छ । निर्वाचन नजिकिँदै जाँदा उद्योग वाणिज्य संघभित्र विवाद बढ्दै गएको छ । जिल्लाका उद्योगी–व्यवसायीहरूको छाता संस्थामा सदस्यता नवीकरणलगायतका विषयमा केही समययता व्यवसायीहरू विभाजित छन् । उक्त असमझदारी समाधान गर्ने प्रयास गरेपनि सार्थक बन्न सकेको छैन । सहमति जुट्न नसक्दा पटक–पटक संघमा तालाबन्दी हुँदै आएको छ । संघको नेतृत्वप्रति असन्तुष्ट व्यवसायीहरूले पछिल्लो पटक सोमवार पुनः कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीसँगै विवाद बल्झिएको छ ।

यसअघि पनि असन्तुष्ट पक्षले तालाबन्दी गरेका थिए । व्यवसायीहरूले आफ्ना माग सम्बोधन नगरी एकाएक नयाँ कार्यसमिति चयनका लागि निर्वाचन घोषणा गरिएको भन्दै पहिलो पटक माघ २८ गते संघको कार्यालयमा तालाबन्दी गरेका थिए । तर केही दिन पहिले दुई पक्षबीच सहमति भइ आन्दोलनका कार्यक्रम स्थगित गरिएका थियो । विवाद समाधानका लागि स्थानीय प्रशासनको रोहबरमा व्यवसायीहरू आपसी समझदारीमा अघि बढ्न तयार भएका थिए । फागुन २० गते सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी संघका वर्तमान र पूर्व अध्यक्षहरूको पाँच सदस्यीय विवाद समाधान समिति बनाइएको थियो । उक्त समिति बनेपछि असन्तुष्ट व्यवसायीले आन्दोलनका कार्यक्रम रोकेका थिए । सदस्यता विवाद सुल्झाउन आफूहरूसँग यसअघि गरिएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट समूह फेरि आन्दोलित भएका हुन् । व्यवसायी एकता र संस्थाको हितका लागि सदस्यता नवीकरणको माग राखिए पनि त्यसको सम्बोधन नगरी एकलौटी रूपमा अघि बढेपछि आफूहरू पुनः आन्दोलित हुन बाध्य भएको व्यवसायीहरू बताउँछन् । संघका बहुमत पदाधिकारी तोकिएकै मितिमा अधिवेशन गर्ने गरी अघि बढेका छन् । तर केही पदाधिकारीसहितका व्यवसायिहरू भने सदस्यता विवादलाई टुंगो लगाउनुनर्पेमा जोड दिँदै आएका छन् । सदस्यता नवीकरणको विषय सहमतिमा टुङ्गो लगाएमात्रै अधिवेशनको मिति तोकिनुपर्ने असन्तुष्ट व्यवसायीहरूको माग छ ।

सुर्खेत उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यवसायीहरूका दुई समूह छन् । पार्टी गुटका कारण पदाधिकारीभित्रै फरक मत छ । दुई कित्तामा विभाजित व्यवसायीबीच आगामी अधिवेशनबारे विवाद उत्कर्षमा पुगेको हो । वरिष्ठ उपाध्यक्ष हर्शविक्रम खड्कालगायत कार्यसमितिका केही सदस्य र व्यवसायीहरू आन्दोलित बनेका छन् । असन्तुष्ट पक्षले धेरै व्यवसायीलाई सदस्यता बन्नबाट वञ्चित गरिएको आरोप लगाउँदै आएका छन् । संघ सम्पूर्ण व्यवसायीहरूको हकहितका लागि काम गर्ने संस्था हो । यसमा स्वार्थको राजनीति गर्नु हुँदैन । व्यवसायीलाई मर्का नपर्नेगरी छलफल तथा संवादमार्फत समस्या समाधानतर्फ ध्यान दिन आवश्यक देखिन्छ ।

प्रकाशित मितिः   २ चैत्र २०७८, बुधबार ०५:०३