मुख्यमन्त्रीसँग खेलाडीका गुनासै गुनासा

सुर्खेत: ‘खेलकुदको आधारस्तम्भ भनेकै पूर्वाधार हो तर हामीसँग त्यही न्यून छ । जनशक्ति अभाव छ, प्रतियोगिता र प्रोत्साहन पनि छैन’ कराँते प्रशिक्षक प्रदिप राईले मुख्यमन्त्री जीवनबहादुर शाहीसामु कर्णालीको खेलकुद विकासमा देखिएका चुनौतीका सविस्तार लगाए । ‘वर्षौंलगाएर हामी खेलाडी उत्पादन गर्छौं तर रोजगारी र स्वास्थ्यको सुरक्षा नहुँदा खेलाडी पलायन हुने गरेका छन्’ उनले थपे ।

त्यति मात्रै होइन, राइले कर्णालीको खेलकुद विकासका लागि एकीकृत योजना बनाउनुपर्ने सुझावसमेत राखे । सँगै प्रश्न तेर्साए, ‘खेल क्षेत्रको विकासका लागि प्रदेशले कस्तो योजना र नीति तर्जुमा गरेको छ ?’ प्रदेश खेलकुद परिषद्ले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको ‘खेलाडीसँग मुख्यमन्त्री’ अन्तरसंवाद कार्यक्रममा राईसहित खेलक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले प्रदेशभित्र खेलकुद विकासमा देखिएका समस्या र गुनासा मुख्यमन्त्रीसमक्ष राखेका हुन् ।

भलिबल खेलाडी जीवनबहादुर शाहीले टे«निङ सेन्टरलाई अनुदान दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । ‘हामीले आफ्नै व्यक्तिगत पैसा खर्च गरेर टे«निङ गरिरहेका छौं’ उनले भने, ‘सरकारले अनुदानको व्यवस्था मिलाइदिए सहज हुनेछ ।’

त्यसैगरी जिल्ला खेलकुद विकास समिति सुर्खेतको अध्यक्ष चन्द्रकुमार गिरीले समितिसँग कर्मचारीको अभाव रहेको बताए । कर्मचारी नहुँदा समितिले काम गर्न नसकेको भन्दै आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । जिल्ला खेलकुद विकास समिति मुगुको अध्यक्ष वीरेन्द्रबहादुर मल्लले खेलकुद पूर्वाधार विकासका नाममा विनियोजन भएको टुक्रे बजेटले विकास सम्भव नहुनेतर्फ मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । साथै दुर्गमलाई विशेष प्राथमिकतामा राखेर पूर्वाधार विकासका लागि बजेट व्यवस्थापन गर्न अनुरोध गरे ।

मुख्यमन्त्री शाहीले खेलकुद विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै क्रमशः योजनाबद्ध रूपमा काम गर्दै अघि बढ्ने बताए । सुर्खेतमा प्रदेश गौरवको आयोजनाका रूपमा रंगशाला निर्माण गर्न लागिएको भन्दै उनले अन्य जिल्लाहरूमा पनि आवश्यकताका आधारमा पूर्वाधार विकास गरिने जनाए । शाहीले खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणसँगै खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा दिने बताएका छन् । नेपालमै पहिलो पटक भलिबलको अन्तर्राष्ट्रिय कवर्डहल निर्माणसँग १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि पूर्वाधार निर्माणमा सरकार लागिरहेको पनि जनाए । ‘कर्णालीमा खेलकुदका पूर्वाधार नहुँदा अहिलेसम्म राष्ट्रिय प्रतियोगीता हुन सकेका छैनन्’, उनले भने, ‘अब कर्णालीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेर पूर्वाधार निर्माणमा लागिरहेको छ ।’

मुख्यमन्त्री शाहीले खेलाडी प्रोत्साहनसँग खेलाडी उत्पादनमा सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले कर्णालीबाट प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडीहरूलाई प्रोत्साहनसँगै पुरस्कृत गर्ने गरिएको जानकारी दिए ।

प्रकाशित मितिः   २ चैत्र २०७८, बुधबार ०५:०२