विकासमा दलीय टकराव
सुर्खेत: प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थल विस्तारको चर्चा लामो समयदेखि हुँदै आएको छ । केही वर्षयता विमानस्थलको विकासका लागि थालिएका प्रयास भने निरर्थक बनिरहेका छन् । अहिले फेरि प्रदेश सरकार नै विमानस्थल विस्तारको योजनाबाट पछि हटेको छ । सुरुदेखि नै विमानस्थलको विकल्प खोज्नुपर्ने अडानमा रहेका स्थानीयको दबाब थेग्न नसकेपछि अन्ततः स्तरोन्नतिको योजना स्थगित गरिएको हो । विमानस्थल विस्तारका लागि स्थानीयको असन्तुष्टिकाबीच यसअघि कतिपय प्रक्रिया अघि बढाइएको थियो । विमानस्थल विकासको ठोस योजना नबनाउँदा पछिल्लो पटक थप अन्योल देखिएको छ ।
विमानस्थल विस्तारको योजना खारेज गर्ने निर्णयसँगै कर्णाली सरकार आलोचित बनेको छ । हालको स्थानमा स्तरोन्नति सम्भव नदेखिएको ठहर गर्दै यसको विकल्प खोजिने मुख्यमन्त्री जीवनबहादुर शाहीले बताइसकेका छन् । आर्थिक र प्राविधिक रूपमा उक्त स्थान उपयुक्त नभएको निष्कर्षमा प्रदेश सरकार पुगेको हो । प्रादेशिक विमानस्थलका लागि उपयुक्त विकल्पको खोजी गरिने सरकारले जनाएको छ । तर, वैकल्पिक ठाउँको खोजी कहाँ गर्ने भन्नेमा समेत सरकार अलमलमा देखिन्छ ।
सुर्खेतस्थित केही राजनीतिक दल प्रादेशिक विमानस्थल निर्माणको हल्ला मात्रै गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्ट छन् भने केहीले दलीय स्वार्थकै कारण योजना अघि बढ्न नसकेको आरोप लगाएका छन् । विमानस्थलको विकासमा राजनीतिक दलहरू नै विभाजित हुँदा योजना अघि बढ्न नसकेको कतिपय नेताको तर्क छ । नेकपा (माओवादी केन्द्र)का प्रदेश उपाध्यक्ष कृष्ण जिसी ‘जितेन्द्र’ विमानस्थल स्तरोन्नतिको सवालमा जिम्मेवार नेताहरू नै बाधक बनेको बताउँछन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले विमानस्थल विस्तारको कार्ययोजना बनाएर बजेटसमेत छुट्याएको अवस्थामा एकाध राजनीतिक दलले स्थानीय बासिन्दालाई उचालेर अवरोध खडा गरेको उनको आरोप छ । सीमित नेताको स्वार्थका कारण विगतमा क्षेत्रीय विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बनाइएका कार्ययोजना पनि अघि बढाउन नदिइएको उनको जिकिर छ । ‘त्यतिबेला उपत्यका बाहिर विमानस्थल बनाउनुपर्छ भन्दा हैन उपत्यकाभित्रै बनाउनुपर्छ भनियो । जब हालकै विमानस्थल विस्तारको योजना अघि बढाइयो, फेरि अवरोध गरियो,’ उनी भन्छन्, ‘उही दल जसको अगुवाइमा अहिले विस्तारको काम रोकियो ।’ जिसीले एमालेका नेताहरूलाई संकेत गर्दै उपत्यकाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि नै विमानस्थल विस्तारको खिलाफमा उत्रिएको दाबी गरे । विमानस्थल विकासका सन्दर्भमा सबै दललाई एउटै घानमा हाल्नु नहुने बताउँदै अर्कोे विकल्पमा जाने कार्ययोजना अघि बढ्नेमा पनि उनले शंका व्यक्त गरे । ‘यहाँ एकैचोटी ठूलो क्षमताको विमानस्थल निर्माण गर्न हरेक दृष्टिकोणले सहज छैन,’ उनले भने, ‘तत्काललाई अहिलेकै विमानस्थल स्तरोन्नतिको विकल्प नै उत्तम देखिन्छ ।’
जिल्लामा क्रियाशील राजनीतिक दलको बेवास्ताका कारण विमानस्थलको योजना सफल हुन नसकिरहेको जनगुनासो छ । राजनीतिक दलले यसमा चासो नदिएको सरोकारवालाहरू बताउँछन् । नेकपा (एमाले) सुर्खेतका अध्यक्ष अमृतबहादुर बिसी सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणका लागि आफूहरू विगतदेखि नै निरन्तर रूपमा लागिपरेको दाबी गर्छन् । ‘विमानस्थलका लागि पटक–पटक पहल गरिएको छ,’ उनी भन्छन्, ‘अहिलेको विमानस्थल विस्तारमा पनि एमालेको असहमति होइन । हामीले प्रभावित क्षेत्रका बासिन्दाको उचित व्यवस्थापन हुनुपर्छ मात्र भनेका हौं ।’ हाल विमानस्थल रहेको स्थान दीर्घकालीन नहुने भए अन्यत्र भएपनि तत्कालै विकल्प खोज्नुपर्ने उनले बताए । प्रदेश राजधानी बाहिर विमानस्थल बनाउने गरी गरिने छलफलमा भने एमालेको सहमति नरहने बिसी बताउँछन् । ‘सुर्खेत र त्योपनि सकभर वीरेन्द्रनगर आसपासमै विकल्प खोज्नुपर्छ,’ उनले भने, ‘त्यस्ता थुप्रै ठाउँ वीरेन्द्रनगरभित्रै छन् ।’ प्रदेश राजधानीमा गतिलो विमानस्थल नहुँदा कर्णालीको समग्र विकासमै बाधा भइरहेको बताउँदै उनले विमानस्थलको खाँचोप्रति प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए ।
नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी विमानस्थल विकासका लागि आफूहरूले सहजीकरण गरिरहेको भन्दै निर्माण गर्ने निकायले ठोस योजनाका साथ अघि बढ्न नसक्दा अन्योल भइरहेको बताउँछन् । विमानस्थलको विकासका प्रक्रिया अघि बढाउनुको साटो हल्ला मात्रै गर्ने काम भइरहेको उनले बताए । ‘न विस्तार हुने न त अन्यत्र विकल्प नै खोज्ने खालको स्थिति देखियो,’ उनले भने, ‘यसरी कुरा मात्रै गरेर के अर्थ भयो र ?’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुखसमेत रहेका सुवेदीले स्थानीयलाई मनाएर अहिलेकै विमानस्थल विस्तार गर्ने वा विकल्पको खोजी गर्न ढिलाइ गर्न नहुने जनाए । विमानस्थल निर्माणको विकल्प भने वीरेन्द्रनगरभित्रै खोजिनुपर्ने उनको धारणा छ ।
विमानस्थल विकासको योजनामा दलहरू एकमत नहुँदा पनि चुनौती भइरहेको बताइएको छ । विमानस्थल विकास योजना दलीय स्वार्थको चंगुलमा परेको सरोकारवालाहरू बताउँछन् । प्रदेश सरकारले विमानस्थल विस्तारको काम अघि नबढाउने निर्णय गरेपछि निजी क्षेत्र पनि असन्तुष्ट बनेको छ । गतिलो विमानस्थल नहुँदा मारमा पर्दै आएका यहाँका उद्योगी व्यवसायीले विस्तारको काम नरोक्न माग गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले विमानस्थल विस्तारको योजना फेरि अगाडि बढाउन ज्ञापन–पत्रमार्फत मुख्यमन्त्री शाहीको ध्यानाकर्षण गराएको छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले पनि विमानस्थल विस्तारको योजना अगाडि बढाउन आग्रह गरिरहेको छ ।
विमानस्थल विस्तारका लागि गत वर्ष बजेट विनियोजन गरी जग्गा अधिग्रहणको प्रक्रिया थालिए पनि सुरुदेखि नै विवादित उक्त योजना अघि बढ्न सकेन । झन्डै डेढ वर्षअघि संघीय सरकार र कर्णाली प्रदेश सरकारको संयुक्त लगानीमा सुर्खेत विमानस्थल विस्तार गर्ने समझदारी भएको थियो । त्यसका लागि आवश्यक जग्गा अधिग्रहण गरेर धावनमार्ग विस्तार गर्ने, टर्मिनल भवन निर्माण तथा अन्य पूर्वाधार विकास गरिने कार्ययोजना थियो । दलीय विभाजन तथा प्रदेश सरकारको पछिल्लो निर्णयका कारण विमानस्थल विकासमा थप अन्योल देखिएको छ ।
प्रकाशित मितिः २ चैत्र २०७८, बुधबार ०५:०५
साझा बिसौनी ।