समृद्धिका अड्चन

कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान दिनसक्ने धेरै आयोजनाहरू अलपत्र अवस्था छन् । लामो समयदेखि चर्चामा रहेर निर्माण हुन नसकेका तथा अलपत्र परेका आयोजनाहरूको सूची लामै छ । दैलेखमा पेट्रोलियम उत्खनन तथा अन्वेषण गर्ने योजना होस् या माथिल्लो कर्णाली जलविद्युत आयोजना । सुर्खेतकै चौकुने सिमेन्ट उद्योग स्थापनाको परियोजना होस् वा विमानस्थल विस्तार योजना । यस्ता धेरै आयोजना छन्, जसले कर्णाली समग्र विकासमा ठूलो मद्यत गर्न सक्दछन् । तर तिनको सञ्चालनमा अनेक अड्चन देखा पर्दैआएका छन् ।

प्रदेशमा वर्षौंदेखि यस्ता थुप्रै ठूला आयोजनाको अध्ययन, निर्माणको सुरुवात र सञ्चालनमा आएर अलपत्र पर्ने गरेका छन् । सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम दुई वर्षदेखि ठप्प छ । चिनियाँ प्राविधिकको टोलीले २०७६ फागुन ९ मा स्थलगत अध्ययन सकेको थियो । त्यसपछि स्वदेश फर्किएको टोली अहिलेसम्म नेपाल नआउँदा अन्वेषणको बाँकी काम हुन नसकेको हो । पछिल्लो पटक गत असोज वा कार्तिकदेखि गर्ने भनिएको काम अझै सुरु हुन सकेको छैन । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको काम पनि लामो समयदेखि अलपत्र अवस्थामा छ । वित्तीय व्यवस्थापन गर्न नसकेकाले आयोजना अगाडि बढ्नेमै अन्योल छ । कामको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले दुई पटक समय थप्दा पनि लगानी जुटाउन सकेको छैन । कम्पनीले तेस्रो पटक थप समय मागेको छ । यसबारे निर्णय भने भइसकेको छैन । सुर्खेतमा चौकुने सिमेन्ट उद्योग स्थापनाको सम्झौता भएको पनि वर्षौं बितिसक्यो । तर काम सुरु हुन सकेको छैन । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिले इजाजत लिएको थियो । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म पनि उत्खनन् कार्य सुरु भएको छैन । कर्णाली प्रदेशको अर्को ठूलो आयोजनाको रूपमा रहेको सुर्खेत विमानस्थल विस्तार गर्ने योजना पनि अन्ततः असफल भएको छ । अहिले भइरहेकै ठाउँमा विमानस्थल विस्तार गर्ने निर्णयबाट प्रदेश सरकार पछि हटेको छ । विस्तारको विकल्पमा नयाँ विमानस्थल बनाउने बताइए पनि त्यसको कुनै टुङ्गो छैन । तत्कालका लागि भने विमानस्थल विस्तार रोकिएको छ ।

पर्याप्त सम्भावना हुँदाहुँदै पनि कर्णाली आर्थिक र भौतिक विकासमा पछि परेको छ । यो अवस्थामा सुधार गर्न पर्याप्त मात्रामै संरचनाहरूको निर्माण आवश्यक छ । तर यसरी एकपछि अर्को आयोजना अलपत्र पर्ने अवस्थाले प्रदेशको विकासको गति अघि बढ्न सक्दैन । यसतर्फ सम्बन्धित सबैको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मितिः   ३० फाल्गुन २०७८, सोमबार ०५:०३