‘संघीयता अनुकूल नीति बनाउँछौं’
सुर्खेत: सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता अनुकूल सहरी विकास नीति बनाउन लागिएको जानकारी दिएकी छन् । उनले सहरी नीतिलाई संघीयता अनुकूल बनाउन र सबै तहका सरकारको स्वामित्व बढाउन मन्त्रालयले नीति निर्माण गर्न लागेको बताएकी हुन् ।
सहरी विकास मन्त्रालयद्वारा आइतवार सुर्खेतमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर सञ्चालनसम्बन्धी ऐन तर्जुमा विषयक प्रादेशिक कार्यशालालाई सम्बोधन गर्दै उनले नागरिकलाई केन्द्रमा राखेर सहरी नीति बनाउन लागिएको बताइन् । उनले भनिन्, ‘जनताको जीवन निर्वाह मात्र नभएर सिङ्गो अर्थतन्त्रलाई चलायमान बनाउन र दिगो सहरी पूर्वाधार विकास गर्ने दिशामा केन्द्रित भएर नीति निर्माणमा जुटेका छौं ।’
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा आयको सिर्जना गर्ने गरी राष्ट्रिय सहरी नीति तर्जुमा गनुपर्नेमा जोड दिए । कार्यशालामा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सहरको निर्माण र विकासमा तीनै तहका सरकारबीच समन्वयको खाँचो रहेको बताए । सहर निर्माण गर्ने क्रममा जनता जिम्मेवार हुनुपर्नेमा जोड दिँदै नीति निर्माण गर्दा लगानी र नवप्रवर्तनमा समेत ध्यान दिन सुझाव उनले दिए । मन्त्रालयले सात वटै प्रदेशमा कार्यशालाको आयोजना गरेर सहरी नीति सम्बन्धमा सुझावहरू संकलन गरिरहेको छ ।
प्रकाशित मितिः ३० फाल्गुन २०७८, सोमबार ०५:०४
साझा बिसौनी ।