गाउँ–गाउँमा चुनावी अभियान
सुर्खेत: आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक वृत्त तातिएको छ । दलहरू चुनाव केन्द्रित भएका छन् । निर्वाचनलक्षित गतिविधिमा सक्रियता बढ्न थालेको छ । जनाधार बटुल्न यतिबेला राजनीतिक दलहरू गाउँ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् ।
सुर्खेतमा पनि राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँ केन्द्रित अभियान सुरु गरेका हुन् । दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत आफ्नो पक्षमा पार्न दलहरूले गाउँ–गाउँमा पुगेर भेला, सभा, प्रशिक्षण तथा बैठक सञ्चालन गरिरहेका छन् ।
नेपाली कांग्रेसले आइतवारदेखि देशभर एकसाथ चुनावी अभियान थालेको छ । कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित एक महिने चुनावी अभियान घोषणा गरेको हो । जसअनुसार आइतवार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहितका केन्द्रीय नेताहरूले सुर्खेतका अगुवा नेता–कार्यकर्तालाई वीरेन्द्रनगरमा प्रशिक्षण समेत दिएका छन् । अब जिल्लाका सबै कांग्रेस नेताहरू चुनावी अभियानसहित गाउँ पस्ने कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेलले जनाए । जिल्ला कार्यसमितिहरूले वडा र टोल–टोलसम्म पुगेर चुनावीसभा गर्ने योजना बनाएका छन् भने टोल कार्यसमितिहरूलाई घरदैलो गर्न निर्देशन गरेको छ ।
जिल्लाको अर्को प्रमुख दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको मिति घोषणा भएदेखि नै गाउँ केन्द्रित गतिविधि गरिरहेको छ । एमालेले स्थानीय तह निर्वाचन लक्षित भनेर ठ्याक्कै कुनै अभियान त चालेको छैन । तर, गाउँ–गाउँमा भेला, प्रशिक्षण, छलफललगायतका गतिविधि सञ्चालन भइरहेको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । अभियानका क्रममा अन्य पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको उनको भनाइ छ । पार्टी प्रवेश कार्यक्रमलाई एमालेले तीव्रताका साथ अगाडि बढाएको छ । यतिबेला जिल्लामा पनि पार्टी परिवर्तन गर्नेको होडबाजी नै चलेको छ ।
एमाले अहिले जिल्लाका स्थानीय तहहरूमा प्रशिक्षण कार्यक्रममा व्यस्त छ । पालिकास्तरीय विस्तारित बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिरहेको छ । एमालेको प्रशिक्षण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल, केन्द्रीय सदस्यद्वय नवराज रावत र मोहनमाया ढकाल सहभागी छन् । केन्द्र र जिल्लाको निर्देशनअनुसार टोल कमिटी निर्माण गर्ने र सबै किसिमका संगठनलाई चुस्त बनाउने काम पनि एमालेले गरिरहेको छ ।
माओवादी केन्द्रले पनि निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिइरहेको छ । कुनै औपचारिक निर्णय नै नगरे पनि माओवादीले गाउँघरमा चुनाव केन्द्रित अभियान भने चलाइरहेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला देशदौडाहमा केन्द्रित छन् । शुक्रवार मात्रै सुर्खेतमै प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण सञ्चालन गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले प्रदेशका अगुवा नेताहरूलाई आगामी स्थानीय तहको निर्वाचन केन्द्रित प्रशिक्षण दिएका थिए । योसँगै पार्टी निर्वाचन केन्द्रित भएको छ । अब गाउँगाउँमा चुनावी अभियान सञ्चालन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिवार वीरेन्द्रनगरमा आमसभा नै गर्यो । सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सुर्खेत आएका थिए । उनीहरूले जिल्लास्थित नेता–कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका थिए । आफ्ना एजेण्डासहित जनतामाझ जान र मत माग्न अध्यक्ष लिङ्देनको आग्रह थियो । नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि आफ्ना गतिविधि बढाउँदै लगेको छ ।
यसरी सबैजसो दलहरू अहिले चुनाव केन्द्रित भएका छन् । मतदाता रिझाउन नेता–कार्यकर्ताहरू महत्वाकांक्षी योजनासहित स्थानीयस्तरमा खटिसकेका छन् । कर्णालीको राजधानी सुर्खेतमा मात्र होइन प्रदेशभर यतिबेला निर्वाचनको माहोल तातिएको छ । एकातर्फ चुनावी अभियान चलिरहेको छ भने अर्कोतर्फ नेताहरूबीच उम्मेदवार बन्ने होडबाजी चलेको छ । आकांक्षीहरूले जिल्ला पार्टी नेतृत्वसँग आफूलाई टिकट दिन भन्दै लबिङ थालेका छन् ।
प्रकाशित मितिः ३० फाल्गुन २०७८, सोमबार ०५:०५
साझा बिसौनी ।