चुनावी गठबन्धनको टुङ्गो छैनः थापा

सुर्खेत: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हाल कायम रहेको सत्ता गठबन्धन र चुनावी तालमेल फरक विषय भएको बताएका छन् । सुर्खेत आएका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै अन्य पार्टीहरूले बाहिर चर्चा जे गरेपनि चुनावबारे निर्णय गर्ने अधिकार कांग्रेसमा निहित रहेको बताएका हुन् ।

अहिलेको आवश्यकतामा यो गठबन्धनले स्थानीय तहको निर्वाचन गराउने भन्नेमा अलमल नभएको तर तालमेलसँग यसले कुनै खास अर्थ नराख्ने थापाले उल्लेख गरे । २०५६ सालमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धनको प्रसङ्ग उठान गर्दै थापाले भने, ‘तत्कालिन समयमा नेकपा माओवादी केन्द्र सशस्त्र द्वन्द्वमा थियो, त्यो बेलाको आवश्यकता निर्वाचन गराउनु पर्ने भएकाले एमाले र कांग्रेसबीच गठबन्धन भयो तर निर्वाचनमा दुवै पार्टी अलग–अलग प्रतिस्पर्धा गरेर निर्वाचन लड्यौं ।’

तर चुनावमा सहकार्य गरेर जाने वा नजाने भन्ने विषयमा कांग्रेस पार्टीभित्र छलफल सुरु भएको थापाले बताए । ‘अहिले जुन गठबन्धन कायम छ, यही गठबन्धनलाई चुनावमा लैजानुपर्छ भन्ने मत पनि पार्टीभित्र छ,’ थापाले थपे, ‘पार्टीको आफ्नो स्वभाव, चरित्र, मतदाताहरूको मनोविज्ञान र आवश्यकताअनुसार एक्लै निर्वाचन लड्नुपर्छ भन्ने जबरजस्त अर्को मत छ, यसबारे आधिकारिक निर्णय चैत दोस्रो साता केन्द्रीय समितिले गर्छ ।’

सबै नेताहरू निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीयस्तरमा खटिएकाले उनीहरूको मतका आधारमा यकिन धारणा पार्टीले बनाउने थापाले स्पष्ट पारे । आगामी वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा केन्द्रीय मुद्दाभन्दा स्थानीयस्तरमा आवश्यक एजेण्डाहरू जनतामाझ लैजाने महामन्त्री थापाले उल्लेख गरे । उनले अबको पाँच वर्षभित्र जनतासँग जोडिएका विषयहरू कसरी पूरा गर्ने भन्ने एजेण्डाहरू नै लैजाने बताए ।

प्रकाशित मितिः   ३० फाल्गुन २०७८, सोमबार ०५:०३