थारु भाषाको जर्नल ‘लखागिन’ विमोचन
सुर्खेत: थारु भाषाको जर्नल ‘लखागिन’ विमोचन गरिएको छ । लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको प्रथम साधारणसभामा उक्त जर्नल विमोचन गरिएको हो ।
जर्नलले थारु समुदायको सामाजिक, सांस्कृतिक, भाषिक तथा कलासाहित्यको उजागर गरेको छ । जर्नलका सम्पादक मानबहादुर चौधरी ‘पन्ना’ले विशेष गरेर सुर्खेती थारुहरुको तथ्याङ्क, भाषिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा धार्मिक अवस्थाको खोज गरेर जर्नल तयार गरिएको जानकारी दिए । जर्नलमा नेपालको मोरङदेखि कञ्चनपुर जिल्लासम्मका थारु साहित्यकार तथा अनुसन्धानकर्मीहरुको लेख, रचना, थारुहरुको लोक कला, साहित्य संस्कृतिका विषयवस्तु समेटिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर–२ का वडाअध्यक्ष बलबहादुर रोकायले थारुहरुको कला–संस्कृतिको उत्थानको लागि थारु युवाहरुले सशक्त भूमिका निभाउनु पर्ने बताए । त्यसैगरी विशेष अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले लखागिन जर्नल सुर्खेतको ऐतिहासिक दस्तावेज हुने बताए ।
जर्नल प्रकाशन टिमका संरक्षक एवम् समाजसेवी शनिश्रा दहित, मध्यपश्चिम विश्वविद्यालयका लाइब्रेरी प्रमुख संग्राम चौधरी, लखागिन थारु उत्थान मञ्चका सल्लाहकार लालबहादुर चौधरीलगायतले कर्णाली प्रदेशकै गहनाका रुपमा रहेका सुर्खेती थारु जातिको संस्कृतिप्रति स्थानीय सरकार, प्रदेश सरकार गम्भीर नहुनु दुःखद भएको टिप्पणी गरेका थिए ।
साधारणसभाबाट मञ्चको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । अध्यक्षमा मानबहादुर चौधरी, उपाध्यक्षमा लोकबहादुर चौधरी, सचिवमा जितबहादुर चौधरी, कोषाध्यक्षमा राजु चौधरी र सहसचिवमा कृष्णा चौधरी चयन भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मण चौधरी, प्रभा चौधरी, माया चौधरी र बेञ्जु चौधरी रहेका छन् ।
प्रकाशित मितिः ३० फाल्गुन २०७८, सोमबार ०५:०१
साझा बिसौनी ।