भेरी–बबई डाइभर्सन : ५३ प्रतिशत काम सम्पन्न

पहिलो चरण समय अगावै, दोस्रो चरणमा ढिलाइ, तेस्रो चरण सुरु

सुर्खेत: निर्धारित अवधिभन्दा एक वर्षअघि नै पहिलो चरणको काम सम्पन्न गरेको भेरी–बबई आयोजनाको दोस्रो चरणको काममा भने ढिलाइ भएको छ । हालसम्मको प्रगति हेर्दा तोकिएको समयमा काम सम्पन्न नहुने देखिएको हो । बरु म्याद बढाउनुपर्ने भएको छ ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७९/८० भित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तर जुन गतिमा काम भइरहेको छ त्यसले उक्त अवधिभित्र सम्पन्न गर्न मुस्किल पर्ने देखिएको आयोजनाका सूचना अधिकारी एवम् सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदी बताउँछन् । ‘यसबीचमा केही समय काम हुुन सकेन’ सुवेदीले भने, ‘दोस्रो चरणको काममा केही ढिलाइ भयो ।’ अहिले आयोजनाको काम धमाधम सञ्चालन भइरहेको छ । यद्यपि यही गतिमा काम भए अझै डेढ वर्ष समय अवधि थप्नुुपर्ने उनले बताए । ‘अबको बढीमा तीन वर्षभित्रमा सक्ने योजनाका साथ काम भइरहेको छ’ सुवेदीले भने ।

काममा तीव्रता

केही समय समस्या देखिए पनि अहिले तीव्र गतिमा काम भइरहेको छ । आयोजनामा दुुई सय जना कामदारले काम गरिरहेका छन् । दोस्रो चरणअन्तर्गत विशेष गरेर पावर हाउस र बाँध निर्माणको काम भइरहेको छ ।

२०७५ चैतमा पहिलो चरणको काम सम्पन्न गरेपछि २०७६ मंसिरदेखि दोस्रो चरणका कार्य थालिएको थियो । ‘सुरुको वर्ष काम भएन’ सूचना अधिकारी सुवेदीले भने, ‘भेरी नदीको चिप्लेमा निर्मित बाँध बगाएपछि निर्माणको काम पछि धकेलिएको हो ।’ यसबीचमा कोरोना महामारीको प्रभावले पनि नियमित काम हुन सकेन । ‘विगतमा कोरोना महामारीका कारण सामग्री ढुवानीमा समस्या भएपछि पनि आयोजनाको काममा ढिलाइ भएको हो’ उनले थपे, ‘वैशाखदेखि भने काम रफ्तारमा भइरहेको छ ।’

जति हुनुपर्ने हो, त्यति काम हुुन नसकेको सुवेदीको भनाइ छ । साथै छोटो समयमा धेरै काम गर्नुुपर्ने भएकाले तीव्र गतिमा काम गर्नुपर्ने चुनौती रहेको औंल्याए । अहिले राती र दिनमा काम भइरहेको छ । तर यो चुनौतीपूर्ण देखिन्छ । ‘रातमा काम गर्न गराउन निकै समस्या छ’ उनले भने, ‘कामदारको संख्या थपघट हुुनसक्छ ।’ कहिलेकाहीँ समयमै सामग्री उपलब्ध नहुुँदा काम रोक्नुपर्ने अवस्थासमेत आउने गरेको छ ।

दोस्रो चरणका लागि कम्पनीले गत वर्ष साउन १५ मा ६ अर्ब १६ करोड ५२ लाख रूपैयाँमा कामको सम्झौता गरेको हो । हालसम्म ९२ करोड बजेट खर्च भइसकेको छ । ६ अर्ब १६ करोड ५२ लाखमध्ये माघ मसान्तसम्म निर्माण व्यवसायीले एक अर्ब ८८ करोड पेश्की रकम भुक्तानी लिइसकेको छ ।

तेस्रो चरण सुरु

दोस्रो चरणको काम पूरा नहुँदै तेस्रो चरणको काम भने प्रारम्भ भइसकेको छ । जसमा हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम) सम्बन्धी काम पर्दछन् । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता गरी काम अघि बढाएको छ । गत मंसिरमा चाइनिज कम्पनीसँग दुई अर्ब १३ करोडमा सम्झौता भएको हो ।

सूचना अधिकारी सुवेदीले भने, ‘तेस्रो चरणमा हाइड्रोमेकानिकलमा फलामसम्बन्धी गेट, पाइपलगायतका निर्माणको काम भइरहेको छ ।’ चिनिया कम्पनीले विभिन्न डिजाइनका काम तीव्र गतिले गरेको छ । इलेक्ट्रोमेकानिकलतर्फ अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरीएको सुवेदीले जानकारी दिए । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल काम आयोजनाको प्रमुख काम भएको उनले जनाए ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले तीन चरणको गरेर समग्रमा हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ । हाल बाँध (हेडवक्स) र विद्युत गृह (पावरहाउस) निर्माण, हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकामिकल (ईएम) सम्बन्धी डिजाइनका काम भइरहेको आयोजनाले जनाइको छ । सुवेदीले भने, ‘समग्र आयोजनाको प्रगति ५३ प्रतिशत भएको छ, दोस्रो चरणको सिभिल निर्माणको काम झन्डै ४५ प्रतिशत सम्पन्न भएको छ ।’ आयोजनाले सकेसम्म समयावधि भित्रै सम्पन्न गर्नेगरी काम अघि बढाएको छ । ‘सुरुको वर्ष काम गर्न पाएनौ, गत वर्ष ६ महिना काम भएन, वैशाखदेखि भने काम तीव्र रूपमा भइरहेको छ’ सुवेदीले भने ।

बहुचर्चित भेरी बबई आयोजनाबाट ४८ मेगावाट विद्युत उत्पादन हुनेछ । यसका साथै बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ हुने जनाइएको छ । यो ३६ अर्ब ८० करोड ७७ लाख रूपैयाँ लागतको आयोजना हो । निर्धारित समयमै सम्पन्न गर्ने सम्भावना भने न्यून बन्दै गएको छ ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७८, शुक्रबार ०५:०५