अलपत्र चक्रपथ

वीरेन्द्रनगरमा चक्रपथ निर्माणको योजना अघि सारिएको दुई दशक पुग्न थाल्यो । निर्माणको काम सुरु भएकै दशक बितिसक्यो । तर सम्पन्न हुने त परको कुरा आधामै अलपत्र छ । सुब्बाकुना हुँदै उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने यो चक्रपथ निर्माणको काम आर्थिक वर्ष २०६२÷०६३ बाट सुरु गरिएको थियो । २९ किलोमिटर लामो चक्रपथको कामले जग्गा विवादका कारण हालसम्म पनि गति लिन छैन । समयमै चक्रपथ निर्माणको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती व्यहोर्दै आइरहेका छन् । निर्माण सम्पन्न भएर यातायात सुविधा उपभोग गर्ने बेलामा निर्माणको काम अलपत्र परेको हो ।

रिङ्गरोडमा जग्गा विवाद अझै कायमै रहेको छ । जग्गा विवाद नसुल्झिँदा काम अघि बढाउन बाधा भएको हो । झन्डै २९ किलोमिटर लामो चक्रपथको ४० प्रतिशत खण्डको काम बाँकी नै छ । निर्माण भएको सडकमध्ये दुई किलोमिटर पनि कालोपत्रे भएको छैन । सडक निर्माणमा जग्गा विवादसँगै बारम्बार स्थानीयको अवरोध हुने गरेका छ । सडक खण्डमा संरक्षित वन क्षेत्रपर्ने तथा विभिन्न समयमा अदालतको आदेशका कारण पनि चक्रपथ निर्माण योजना पूरा हुन नसकेको हो । सडक खण्डको वडा नं. १, २, ८ र १२ मा वन र व्यक्तिगत जग्गाको विवाद कायमै छ । कतिपय स्थानमा स्थानीयले जग्गा छोड्न मानिरहेका छैनन् । आगामी असार मसान्तभित्र चक्रपथ निर्माणको काम सक्ने लक्ष्य लिइएको छ । निर्माणका क्रममा देखिएका विवाद सुल्झाउने प्रयास पनि भइरहेको छ । तर समाधान निस्किएको छैन । चक्रपथ निर्माणको चार बर्से ठेक्का सम्झौताअनुसार २०७६ चैत समान्तसम्म काम सक्नुपर्नेमा पुनः म्याद थप गरिएको थियो । पछिल्लो सम्झौतामा २०७८ चैत मसान्तभित्र निर्माण कार्य सक्ने उल्लेख छ ।

प्रदेश राजधानी भएसँगै पछिल्लो समय वीरेन्द्रनगरमा बसोबास गर्नेको संख्या ह्वातै बढेको छ । सोहीअनुसार राजधानीमा आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन । साँघुरा र कच्ची सडक तथा यातायात सेवाको सर्वसुलभ पहुँच नहुँदा वीरेन्द्रनगरबासीले सास्ती खेप्नु परिरहेको छ । चक्रपथ निर्माण सम्पन्न भए यहाँको सडक पूर्वाधारमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । तर, निर्माणको चर्चामात्र नभइ काम नै थालिएको दशकौं बितिसक्दा पनि यो योजना अझै अधुरै छ । बढ्दो सहरीकरणसँगै चक्रपथ निर्माणको योजना उपत्यको विकासको मेरुदण्ड सावित हुन सक्दछ । त्यसैले पनि अलपत्र चक्रपथको निर्माणका लागि सम्बन्धित निकाय गम्भीर हुनेपर्ने देखिन्छ । चक्रपथ निर्माणको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाको मात्रै पनि होइन । यसको विकासमा प्रदेश सरकार र संघीय सरकारले पनि आवश्यक ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७८, शुक्रबार ०५:०३