आजदेखि कर्णाली उत्सव

सुर्खेत: सुर्खेतमा आज (शुक्रवार) देखि कर्णाली उत्सव सञ्चालन हुँदैछ । उत्सवको तेस्रो संकरण आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक ऋति फाउण्डेशनले बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर तयारीको बारेमा जानकारी दिएको हो ।

शुक्रवारदेखि सुरु हुने उत्सव तीन दिनसम्म चल्ने छ । बिहान ११ बजेदेखि जिल्लाको पर्यटकीय स्थल बुलबुले उद्यानमा उत्सवको उद्घाटन हुने फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए । उनका अनुसार तीन दिनको कार्यक्रममा १२ वटा सत्र सञ्चालन हुनेछन् । जसमा विभिन्न विषयमा छलफल र संवाद हुनेछ ।

‘यसपालिको उद्घाटन सत्रमा सोफिया थापाले गाएको छाउपडीसम्बन्धी गीत विमोचन हुनेछ । आयोजक सहरको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्वागत मन्तव्य राख्नेछिन् । त्यसैगरी ‘खस भाषाको लहरो’ शीर्षकमा प्राध्यापक दिनेशराज पन्तले विद्वत प्रवचन दिने कार्यक्रम रहेको छ । ‘उद्घाटनको दिन कर्णाली भेरी सुसेल्दो छ, बजार विकास, हजार निकास गरी दुईवटा सत्र सञ्चालन गरिनेछ’ उनले भने ।

कर्णाली उत्सवमा अघिल्लो वर्षबाट समाजको लागि पराक्रम गरेका र कर्णाली चिनाउने अदृश्य हिरोलाई पैकलोको रूपमा आफ्ना कथा भन्न लगाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने आयोजक समितिका प्रकाश लामिछानेले बताए । ‘हामी पैकलो चिनाउने कामलाई थप प्रभावकारी बनाउने योजनामा छौं,’ उनले भने, ‘पैकलो कर्णालीको इतिहाससँग जोडिएको र कर्णाली चिनाउने गतिविधि गरेका मान्छे हुनेछ । यो वर्ष चार जना पैकेलालाई मञ्चमा उतारिनेछ ।’

कर्णालीमा सामाजिक संवादको परम्परा नभएको समयमा कर्णाली उत्सवले नयाँ–नयाँ पात्रलाई मञ्चमा राखेर विमर्श गर्ने गरेको छ । ‘आम नागरिकको आवाजलाई कम सुनिने संस्कार रहेको समयमा कर्णालीका नागरिकले विचार विमर्श गर्ने थालनी हुनु निकै महत्वपूर्ण कदम हो,’ उनले भने, ‘यहाँ भएका छलफलको आधारमा प्रदेश र स्थानीय तहमा परेका प्रभावले पनि कार्यक्रम सार्थकतालाई प्रष्ट्याएको छ । यो मञ्चको आयतनलाई अझ फराकिलो बनाउने काम आगामी दिनमा पनि हुनेछन् ।’

कर्णाली उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएर विचारको उत्साह बनाइएको आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमल लम्सालले बताए । ‘विचारको मेला लगाएर पनि रमाउने संस्कृतिको विकास गर्ने काम कर्णाली उत्सवले थालेको छ,’ उनले भने, ‘यसमा समावेशीताको सवाललाई पनि ख्याल गरिरहेको छ ।’ उनका अनुसार हरेक सत्रका तीन वटा विशेषता रहेका छन् । हरेक सत्रको नाममा खस शब्दहरू आउनु, सहभागितामा अधिकतम् समावेशी बनाउनु र हरेक सत्रमा कम्तीमा एक जना सहभागी कर्णालीकै होस् भनी अधिकतम् प्रयत्न गरिनु हो ।

कर्णाली बुझ्ने र बुझाउने प्रयास गरेको कर्णाली उत्सवमा यो वर्ष सांकेतिक भाषाको माध्यमबाट कान नसुन्ने सम्बन्धी अपाङ्गता भएकाहरूको पहुँच पु¥याउने लक्ष्य राखिएको आयोजक टिमले जनाएको छ । समृद्ध कर्णाली निर्माण गर्ने अभियानमा विचारको मेलाले सहयोग गर्नेमा आफू विश्वस्त रहेको आयोजक संस्थाका माधव चौलागाईले बताए । ‘कर्णालीको विषयमा चिन्ता गर्ने र चासो राख्ने हरेकको विचारबाट उत्सवलाई सुसज्जित बनाउने काम गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँहरू देशको जुनसुकै कुनाका भए पनि हाम्रा लागि सम्मानित हुनुहुन्छ । यसबाट हामीले अधिकतम् सिक्ने प्रयास गर्नेछौं ।’

प्रकाशित मितिः   २७ फाल्गुन २०७८, शुक्रबार ०५:०२