सिकाइमा प्रविधिको प्रयोग

वीरेन्द्रनगरमा सुरु गरिएको अनलाइन सिकाइ सहजीकरण केन्द्रबाट एकैसाथ १० वटा विद्यालयका विद्यार्थीले कक्षा लिइरहेका छन् ।

सुर्खेत: प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई सिकाइ सहजीकरण गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले अनलाइन सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गरेको छ । भर्चूअल माध्यमबाट कक्षा १० का विद्यार्थीको सिकाइमा सहजीकरण गर्न केन्द्र स्थापना गरिएको हो । सिकाइ केन्द्रबाट वीरेन्द्रनगरभित्रका १० वटा सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले अनलाइनको माध्यमबाट थप कक्षा लिइरहेका छन् । कोरोना महामारीका कारण एसईई दिने विद्यार्थीको पढाइमा बाधा पुुगेकाले प्रविधिको प्रयोगमार्फत शिक्षण गतिविधि सुरु गरिएको नगर शिक्षा शाखाका प्रमुख (उपसचिव) धिरेन्द्रप्रसाद शर्माले बताए ।

वीरेन्द्रनगरमा सुरु गरिएको अनलाइन सिकाइ सहजीकरण केन्द्रबाट एकैसाथ १० वटा विद्यालयका विद्यार्थीले कक्षा लिइरहेका छन् ।

सिकाइ केन्द्रबाट अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा सञ्चालन हुँदै आएको छ । अंग्रेजी विषय बिहान ८ः३० देखि ९ः३० बजेसम्म शिक्षण हुुन्छ । यस्तै, दिउँसो ३ः३० देखि ५ः३० सम्म बजेसम्म गणित र विज्ञान विषयको पढाइ भइरहेको छ । यो सिकाइले बाँकी रहेको कोर्षलाई पूरा गर्नेगरी विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको गणित शिक्षक होमप्रसाद पौडेलले बताउँछन् । ‘निकै चासोका साथ विद्यार्थीहरूले कक्षा लिइरहेका छन्,’ उनले भने, ‘नबुझेको कुरा पालैपालो सोध्न सकिने र सम्बन्धित विषयको शिक्षक कक्षामै हुुने भएकाले पनि सहजीकरणमा कुनै समस्या छैन ।’ कक्षा १० का विद्यार्थीलाई सहज हुने किसिमले विषयवस्तुु छनोट गर्ने गरिएको उनले जनाए ।

अनलाइन सिकाइ सहजीकरणका लागि दक्ष शिक्षक छनोट गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । एउटा विषयमा दुई÷तीन जना शिक्षकले आलोपालो गरेर कक्षा दिने गरेका छन् । केन्द्रमा सामुुदायिक विद्यालयकै स्थायी शिक्षकहरूले पढाउने गरेका हुन् । विद्यालयको कक्षालाई असर नपर्ने गरी बिहान बेलुुकाको समयमा शिक्षकहरूले समय दिइरहेका छन् । एसईई दिने विद्यार्थीलाई लक्षित गरी अनलाइन कक्षा नमुना कार्यक्रमका रूपमा यसलाई अघि बढाइएको हो । ‘सिकाइ केन्द्र पाइलट प्रोजेक्टका रूपमा सुरु गरिएको छ,’ शिक्षा शाखा प्रमुख शर्माले भने, ‘अहिलेसम्मको अवस्था मूल्याङ्कन गर्दा प्रभावकारी बन्ने देखिन्छ ।’ उनका अनुसार भर्चूअल सिकाइ केन्द्र यही फागुन १७ गतेदेखि सञ्चालनमा आएको हो ।

वीरेन्द्रनगर नगरकार्यपालिकाको आडैमा रहेको बाल मन्दिर हाताभित्र केन्द्र स्थापना गरिएको छ । सिकाइ सहजीकरणको ‘मास्टर रुम’ रहेको सोही स्थानबाट इन्टरनेटको माध्यमले अन्य विद्यालयहरूलाई कक्षामा जोड्ने गरिएको छ । अनलाइनबाट गरिने शिक्षणको विद्यालयमा रहेका शिक्षकले सहजीकरण गर्दै आएका छन् । भर्चूअल कक्षा सहजीकरणका लागि प्रत्येक विद्यालयलाई एउटा कम्प्युटर र स्मार्ट टिभी उपलब्ध गराइएको छ । नगर शिक्षा शाखा प्रमुख शर्माका अनुसार कक्षा सञ्चालनको अवस्थाबारे शिक्षा शाखाले अनुगमन तथा निगरानी राख्ने गरेको छ ।

विभिन्न महामारी तथा विपद्का बेला सबै विद्यालयमा अनलाइन कक्षा सञ्चालनमा समस्या हुुने गरेको विषयलाई मध्यनजर गरी सहजीकरण केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । केही विद्यालयमा विषयगत शिक्षकको समेत अभाव रहेकाले यसरी केन्द्रबाट शिक्षण गरिँदा विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । महामारीका कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा बाधा पुगिरहेका बेला प्रविधिको प्रयोगबाट वैकल्पिक सिकाइ सहजीकरण गर्न सहज हुने बताइएको छ । उक्त अनलाइन सिकाइ सहजीकरण केन्द्र स्थापनाका लागि संघीय सरकार र नगरपालिकाको बजेटलाई संयुक्त रूपमा विनियोजन गरिएको छ ।

सिकाइ सहजीकरण केन्द्र स्थापनाका लागि तीन लाख रूपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । त्यस्तै, शिक्षक परिचालनका लागि दुुई लाख तथा १० वटा विद्यालयमा सामग्री व्यवस्थापनमा सात लाख ७० हजार बजेट खर्च गरिएको छ । वीरेन्द्रनगरले थालेको सिकाइ सहजीकरणमा कर्णाली प्रदेशका अन्य जिल्लाका विद्यालयहरू पनि जोडिन सक्ने बताइएको छ । त्यस्तै, जिल्लाका संस्थागत विद्यालयहरूले पनि चाहेमा नियमभित्र रही भर्चूअल कक्षामा जोडिन सक्ने नगर शिक्षा शाखाले जनाएको छ ।

कोरोना महामारीका कारण विगत तीन वर्षयता शैक्षिक क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । कोरोना संक्रमणको जोखिमले भौतिक उपस्थितिमा पठनपाठन सम्भव नभएपछि लामो समय विद्यालय बन्द गरिएका थिए । सरकारले सो समयमा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन भनेपनि ती कार्यक्रम प्रभावकारी बन्न सकेका थिएनन् । अधिकांश विद्यालय र विद्यार्थीहरू इन्टरनेटको सहज पहुँचमा नहुँदा भर्चूअल कक्षामा सहभागिता न्यून रहने गरेको थियो । वीरेन्द्रनगर नगरपालिकाले वैकल्पिक सिकाइलाई व्यवस्थित बनाउन केन्द्र स्थापना गरी कक्षा सञ्चालन सुरु गरेको हो । विद्यालयमा विषय शिक्षकसँगै बसेर भर्चूअल रूपमा पढ्न पाउँदा घरमा इन्टरनेट सेवा उपलब्ध नहुने विद्यार्थीलाई सिकाइमा सहज बनाएको शिक्षकहरूले बताएका छन् ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७८, मंगलवार ०५:०५