विमानस्थल विस्तारको विकल्प

सुर्खेत विमानस्थल विस्तारको योजना असफल भएको छ । तत्काल यो अघि नबढ्ने भएको हो । बरु वैकल्पिक विमानस्थल निर्माणको योजना अघि सारिएको छ । प्रदेश सरकार नै विमानस्थल विस्तार गर्ने योजनाबाट पछि सरेको छ । वीरेन्द्रनगर नगरपालिका पनि उक्त योजना अघि बढाउन असफल बन्यो । जसका कारण लामो समयदेखि चर्चामा आउने तर अलपत्र परिरहेको यो योजनाको गति रोकिने भएको हो । सुर्खेत विमानस्थलको धावनमार्ग साँघुरो हुँदा ठूला जहाज सञ्चालन हुन नसकेपछि स्तरोन्नतिको योजना अघि सारिएको थियो । हालको विमानस्थल विस्तार गर्न उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाई विस्तार गर्ने योजनासहित अध्ययन भएका थिए । त्यसका लागि करिब ३० बिगाहा क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने बताइएको थियो । संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने भनिएको उक्त योजनाको अब भने विकल्प खोजिने भएको हो ।

विमानस्थल विस्तार गर्न करिब ३० विगाहा जमिन अधिग्रहणको तयारी थालिएको थियो । तर योजना कार्यान्वयनको सुरुवातमै विवाद निम्तियो । अधिग्रहणमा पर्ने क्षेत्रका नागरिकले विरोध गरेपछि विस्तार योजना नै अलपत्र परेको हो । प्रदेश सरकारले विमानस्थल विस्तारका लागि गत आर्थिक वर्षमा ५० करोड रूपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । त्यो मध्येको पाँच प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले बेहोर्ने समेत सहमति भएको थियो । झन्डै दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको विमानस्थल निर्माणका लागि संघीय र प्रदेश सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । स्थानीयको अवरोध भइरहेको तथा आर्थिक र प्राविधिक हिसाबले पनि उक्त योजना अघि बढाउन कठिनाइ देखिने भएपछि विकल्पको खोजी गरिने भएको छ । लामो समयदेखि चर्चामा रहेको विमानस्थल स्तरोन्नतिको योजना सम्भव नदेखिएपछि अन्ततः वैकल्पिक स्थानको खोजी गर्ने निश्कर्षमा प्रदेश सरकार पुगेको हो । विमानस्थल विस्तार गर्ने भनिएको ठाउँ धेरै महँगो भएको बताउँदै नागरिकहरूको समेत निरन्तर विरोध भइरहेपछि विकल्प खोज्नु बाध्यता भएको बताइएको छ । हाल स्तरोन्नति गर्ने भनिएको ठाउँमा सम्भव नभएपनि विमानस्थल निर्माणका लागि प्रदेश सरकारले अन्य स्थानको खोजी गरिने छ ।

सुर्खेतमा ठूलो क्षमताको विमानस्थल अपरिहार्य भइसकेको छ । यसका लागि अहिले भइरहेको विमानस्थलको विस्तार वा अन्यत्र विकल्प खोज्ने भन्ने विषय पेचिलो बनेको छ । त्यसो त विगतदेखि नै छिन्चुमा विमानस्थल निर्माणको योजना अघि सारिएको पनि हो । अध्ययनसमेत गरिएको थियो । तर योजना अघि बढ्न सकेन । प्रदेश सरकारले विमानस्थलको स्तरोन्नतिलाई ‘प्रदेश गौरव’ को योजनाका रूपमा हेरेको छ । तर विवाद सुल्झिन भने सकेको छैन ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७८, मंगलवार ०५:०३