पाँच पालिकामा ‘शिसा’ परियोजना
सुर्खेत: सुर्खेतका पाँच वटा पालिकामा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थानका लागि परियोजना लागू भएको छ । कोभिड–१९ बाट प्रभावित कृषि क्षेत्रको उत्थानका लागि ‘शिसा’ परियोजना लागू भएको हो । कृषि खाद्य प्रणालीहरूमा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान र द्रूत प्रतिक्रियालाई सहयोग गर्ने उद्देश्यले उक्त परियोजना लागू गरिएको हो । परियोजनामा अन्तर्गत कृषि क्षेत्रको घाटा कम गर्न विशेष वित्तीय उत्पादन र सेवाहरू सुरु गर्न, कोभिडबाट प्रभावित व्यवसाय र उपभोक्ताहरूको सहयोगका लागि डिजिटल बैंकिङ प्रविधिको विस्तार र कृषि औजारहरूको विस्तार गरिनेछ ।
विभिन्न एग्रोभेट, मेसेनरी सर्भिस प्रोपाइटरसँग, वित्तीय संस्थाहरू समन्वय र सहकार्य गरेर काम गरिने परियोजनाका कृषि इन्जिनियर सुवास अधिकारीले जानकारी दिए । कृषिसम्बन्धी सामग्रीहरू किसानसम्म पु¥याउने, उत्पादनको बजारीकरण, डिजिटल बैंकिङ, कृषि औजारको क्षेत्रमा परियोजनाले काम गर्ने उनले जानकारी दिए । शिसा परियोजना सुर्खेतका कार्यक्रम अधिकृत ललितबहादुर सारुका अनुसार यो परियोजना सुर्खेतको पाँच वटा स्थानीय तहमा लागू हुनेछ । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा लागू गरिने सारुले जनाए । परियोजना २०२३ जुनसम्म सञ्चालन हुने छ । अहिले पाँच वटा पालिकाबाट काम सुरु गरेपनि पछि सबै पालिकामा कार्यक्रम विस्तार गरिने जनाइएको छ ।
परियोजनाले चार वटा क्षेत्रमा रहेर काम गर्नेछ । पहिलो क्षेत्र कृषिसम्बन्धी सेवा तथा सल्लाह प्रदान गर्ने साना तथा मध्यम वर्गका व्यवसायहरूको वित्तीय पहुँच बढाई उत्थान तथा पुनस्र्थापना सुनिश्चित गर्ने जनाएको छ । साना तथा मझौला उद्यमीहरूलाई सहयोग हुने वित्तीय उत्पादनहरू बनाउने, सीमान्तकृत समुदायका सदस्य तथा महिलाहरूलाई पहुँच बढाउने परियोजनाको उद्देश्य छ ।
यस्तै दोसो क्षेत्रमा वित्तीय उत्पादनहरूका लागि विशेष व्यापार मोडेलहरू तयार गरी सजिलै नष्ट हुने कृषि उत्पादनहरू उत्पादन, विरण र बिक्रीमा संलग्न व्यवसायहरूलाई सहयोग गर्ने र वित्तीय सहायता प्रदान गर्न वित्तीय संस्थाहरूसँग सम्झौता गर्ने, यसबाट नौ सय एक र ६ सय ४४ महिला र जोखिममा परेका समुदायका सदस्यहरूले लाभ लिने अपेक्षा गरिएको छ । महिला, सीमान्तकृत कृषकहरूलाई लक्षित गरेर वित्त प्रशिक्षण गर्ने र यी कार्यबाट दुई हजार पाँच सय ५० बढी किसानहरूले मुल्य श्रृंखलाका पात्रको रूपमा लाभान्वित हुने छन् ।
परियोजनाले सोमवार कृषि सामग्री व्यवसाय, वित्तीय संस्था र सरोकारवालाहरूसँग अन्तरक्रिया गोष्ठीको आयोजना गरेर परियोजनाका बारेमा जानकारी दिएको हो । युएसएआईडीको सहयोगमा शिसा पयिोजना अन्तर्गत अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र सिमिट, आइडि नेपाल, इमीलगायतका संस्थाको साझेदारीमा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न पालिकाका कृषि शाखा, एग्रोभेट, बैंक, मेसीनरी डिलरलगायतका क्षेत्रबाट उपस्थित रहेको थियो । कार्यक्रममा सहभागीहरूले कृषि उत्पादनको बजारीकरण, पहुँचवालाहरूले मात्र धेरै सेवा पाइएकोले मुक्त हलिया, कमैया, महिलाहरूको समावेशी सहभागितामा पनि ध्यान दिनुपर्ने बताए ।
प्रकाशित मितिः २४ फाल्गुन २०७८, मंगलवार ०५:०२
साझा बिसौनी ।