प्रदेशको उत्कृष्ट पालिका बन्यो सिमकोट

शीर्ष दशभित्र पनि परेन वीरेन्द्रनगर, दोस्रोमा चामुण्ड विन्द्रासैनी

सुर्खेत: स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा हुम्लाको सिमकोट गाउँपालिका कर्णाली प्रदेशकै उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा अन्य ७८ पालिकालाई पछि पार्दै सिमकोट पहिलो हुन सफल भएको हो ।

आयोगले आर्थिक वर्ष २०७९÷०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अङ्कसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये उक्त गाउँपालिकाले ७५ दशमलव ३१ अङ्क ल्याएर प्रदेशकै पहिलो बनेको हो ।

आयोगले तयार गरेको १७ वटा सूचकलाई आधार बनाएर तयार गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएको उच्च हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका पहिलो बनेपछि यसको कार्यशैली र व्यवस्थापनका बारेमा चर्चा हुन थालेको छ । मूल्याङ्कनमा प्रदेशमै पहिलो गाउँपालिका बन्नुमा संघीय सरकारबाट प्राप्त बजेटको सही सदुपयोग, सबै वडामा पूर्वाधार विकास र कर्मचारीको सहयोग मुख्य रहेको उक्त गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए । दुर्गम र अत्यन्तै विकट मानिएको यस गाउँपालिका मूल्याङ्कनमा प्रथम भएकामा लामाले आभार व्यक्त गरे ।

त्यस्तै दोस्रो हुने दैलेखको चामुण्ड विन्द्रासैनी नगरपालिकाले ७४ दशमलव ५६, तेस्रो हुने कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले ७० दशमलव ४६, चौथो हुने रूकुमको सानीभेरी नगरपालिकाले ६९ दशमलव ३१, पाँचौं हुने दैलेखको नौमूले गाउँपालिकाले ६८ दशमलव ६३, छैटौं हुने चौरजहारी नगरपालिकाले ६८ दशमलव १७, सातौं हुने हुम्लाको नाम्खा गाउँपालिकाले ६७ दशमलव ५७, आठौं हुने जाजरकोटको बारेकोट गाउँपालिकाले ६६ दशमलव ४८, नवौं हुने डोल्पाको जगदुल्ला गाउँपालिकाले ६६ दशमलव ४६ र दशौं हुने जुम्लाको गुठीचौर गाउँपालिकाले ६५ दशमलव ०२ अङ्क प्राप्त गरेको छ ।

आयोगले नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ख) बमोजिम संघीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिस गर्दा वित्त आयोग ऐन, २०७४ को दफा (३) को उपदफा (२) बमोजिम प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई आधार लिइ कार्यसम्पादनमा आधारित वित्तिय समानीकरण अनुदानको रकम सिफारिस गर्दै आएको छ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७८, मंगलवार ०५:०१