सडक सञ्जालको विस्तार

पूर्वाधार विकासको आधार हो सडक । तर कर्णाली प्रदेश भने सडक निर्माणमै पछि पर्दै आएको छ । अहिले पनि पर्याप्त सडक छैनन् । भएका सडक पनि अधिकांश कच्चि छन् । कयौं बस्ती सडकविहीन अवस्थामै छन् । यद्यपि स्थानीय सरकार बनेसँगै सडक विकास र विस्तारमा भने विगतकोभन्दा धेरै सुधार भएको छ । जनप्रतिनिधिको नेतृत्वमा रहेका स्थानीय सरकारले सडकलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न थालेका हुन् । जसले गर्दा पछिल्लो समय गाउँगाउँ र बस्तीबस्तीमा सडक सञ्जालको विस्तार भएको छ । नागरिकले सेवा र सुविधा पाएका छन् ।

सडक विस्तारमा कर्णालीका अधिकांश स्थानीय तहले लगानी गरिरहेका छन् । प्रदेशका धेरैजसो पालिकाहरूले वडा–वडामा सडक सञ्जाल पु¥याएका छन् । स्थानीय जनप्रतिनिधिका अनुसार सडक बनेपछि विकट ठाउँमा पनि विकासका अन्य गतिविधि सञ्चालनमा सहज हुँदै गएको छ । दैलेखमा पछिल्ला तीन–चार वर्षमा सडक विस्तारका कामले गति लिएका छन् । महाबु गाउँपालिकाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ । ६ वटा वडा रहेको गाउँपालिकामा चार वर्षअघिसम्म दुई वडामा मात्र सडकको ट्रयाक खोलिएको थियो । हाल सबै वडा सडक सञ्जालको पहुँचमा पुगेका छन् । महाबुका धेरैजसो भू–भागमा सडक सुविधा नहुँदा विकास निर्माण मै बाधा पुगेको थियो । त्यसैले गएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका जनप्रतिनिधिहरूको प्रमुख चुनावी एजेण्डा पनि सडक नै बन्यो । सोही अनुरूप काम पनि भएको छ । सडक विस्तारसँगै नागरिकलाई निकै सुविधा भएको छ ।’ उनका अनुसार महाबुमा तीन तहका सरकारको साझेदारीमा सडक सुधार–विस्तारका काम भएका छन् । यस्ता अन्य थुप्रै पालिका छन्, जसले सडकमा लगानी गरेका छन् ।

पालिकाको लगानी र पहलमा गाउँ–गाउँमा सडक पुगेपछि स्थानीयलाई आय–आर्जनका लागि बाटा खुलेका छन् । किसानले उत्पादन गरेका तरकारी तथा दुग्धजन्य वस्तुले सहजै बजार पाएका छन् । सडक सञ्जाल जोडिएसँगै नागरिकको दैनिकिमा नै परिवर्तन आएको छ । कतिपय पालिकाले टोल–टोलमा सडक निर्माण गरेपनि गुणस्तरीय नहुँदा सुविधासँगै सास्ती पनि हुने गरेको छ । धमाधम सडकका ट्रयाक बनाइए पनि त्यसपछिको स्तरोन्नतिमा बेवास्ता हुने गरेको हो । जसले गर्दा ग्रामीण भेकका बहुसंख्यक सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छन् । यसतर्फ भने ध्यान दिन जरुरी छ । सडकको पहुँच विस्तार सँगसँगै त्यसको गुणस्तर र मर्मत सुधारमा पालिकाहरू गम्भिर हुनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७८, आईतवार ०५:०३