मातृ–शिशु मृत्युदर अझै उच्च

सुर्खेत: सुरक्षित प्रसूति सेवाको विस्तार भए पनि कर्णालीमा मातृ–शिशु मृत्युदरमा कमी आएको छैन । यहाँ बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको हो । अत्याधिक रक्तश्राव, इम्बोलिजम्, पाठेघर फुट्ने, गर्भवती अवस्थामा हुने कम्पनलगायतका कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेका छन् । पछिल्ला वर्षमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । तर, पनि उपचार अभावमा ज्यान गुमाउनेहरूको संख्या भने घटेको छैन । समयमै अस्पताल पु¥याउन नसक्दा थुप्रै महिलाले बाटोमै ज्यान गुमाइरहेका छन् । ग्रामीण भेकका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र उपकरण अभावले प्रसूति सेवा अझै प्रभावकारी हुन नसकेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २६ र २०७५/०७६ मा प्रदेशभर १३ जना सुत्केरी आमाले ज्यान गुमाएका थिए । त्यस्तै, पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २१ र गएको आर्थिक वर्ष २०७७/०७८ मा २० आमाको ज्यान गएको थियो । चार वर्षको अवधिमा ८० जना सुत्केरी महिलाले ज्यान गुमाएका हुन् । चालु आर्थिक वर्षको यो अवधिसम्म नौ जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको उपचार गर्न अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

विगत केही वर्षयताको तथ्याङ्क केलाउँदा आमाहरूको मात्रै होइन शिशुको मृत्युदर पनि उच्च छ । पछिल्ला तीन वर्षमा मात्रै प्रदेशभर ६ सय ५० नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा एक सय ५२ र आर्थिक वर्ष २०७६÷०७७ मा दुई सय आठ नवजात शिशुको मृत्यु भएको हो । यस्तै, गत आर्थिक वर्ष २०७७/०७८ मा दुई सय १८ नवजात शिशुको ज्यान गएको थियो । यो आर्थिक वर्षको हालसम्म ६० जना नवजात शिशुको मृत्यु भइसकेको तथ्याङ्क निर्देशनालयको छ ।

मातृ–शिशु मृत्युदर घटाउन सरकारी तथा गैरसरकारी तहबाट थुपै्र पहल भइरहे पनि अवस्थामा उल्लेखनीय सुधार हुन सकेको छैन । सरकारले स्वास्थ्यचौकीमा सुत्केरी हुँदा प्रोत्साहन भत्तासमेत दिँदै आएको छ । तर, पनि ठूलो संख्या अहिले पनि सुत्केरी गराउन अस्पताल जाँदैनन् । कर्णालीका गर्भवती महिलामध्ये झन्डै ७० प्रतिशतले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क छ । बाँकी ३० प्रतिशत गर्भवती घरमै असुरक्षित रूपमा सुत्केरी हुन्छन् । प्रदेशमा तीन सय १८ बर्थिङ सेन्टर रहेका छन् ।

प्रसूति सेवा लिने बढे

विगतका वर्षभन्दा गर्भावस्थामा नियमित चेकजाँच गर्ने र सुरक्षित सुत्केरी हुने महिलाको संख्या भने बढ्दो छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेशभर ३३ हजार एक सय ६० जना गर्भवती स्वास्थ्य संस्थामा गएर सुुरक्षित सुुत्केरी भएका छन् । दैलेखको आठबीस नगरपालिका–८ तिलेपाटा स्वास्थ्य चौकी अनमी रेश्मा विक पछिल्ला वर्षहरूमा प्रसूति सेवा लिनेको संख्या बढेको बताउँछिन् । आठबीसमा अधिकांश गर्भवती महिलाले स्वास्थ्य चौकीमा आएर चार पटक चेकजाँच गराउने गरेका हुन् । स्वास्थ्य चौकीमा भिडियो एक्सरेलगायतका सुविधा नहुँदा भने बच्चाको अवस्था जाँच गर्न समस्या हुने गरेको विकले जनाइन् । ‘यहाँ गर्भवतीको सामान्य जाँच हुन्छ,’ उनले भनिन्, ‘भिडियो एक्सरे नहुँदा बच्चाको अवस्थाबारे थाहा हुँदैन ।’ उनका अनुसार अहिले पनि गाउँघरमा गर्भावस्थामा पोषिलो खाना, आराम र समय–समयमा स्वास्थ्य जाँच गराउन भने बेवास्ता गर्ने प्रवृत्ति व्याप्त छ ।

मातृ–शिशु मृत्युदर घटाउन आठबीस नगरपालिकाले स्वास्थ्यकर्मी खटाएर सुुत्केरीको घरमै आवश्यक उपचार सेवा दिने व्यवस्था गरेको छ । आठबीस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुुख देवराज तिमिल्सेनाले अवस्था सुुधार गर्न स्वास्थ्यकर्मीलाई छुुट्टै भत्ताको व्यवस्था गरेर सुुत्केरी भेटघाट कार्यक्रम राखिएको बताए । गर्भवती अवस्थामा स्वास्थ्य चौकी आए पनि सुुत्केरी भएपश्चात् जाँच गर्नेको संख्या न्यूून भएकाले यस्तो कार्यक्रम ल्याएको उनी बताउँछन् । यस्तै, उक्त पालिकामा गर्भवतीसँग उपप्रमुख कार्यक्रम पनि सञ्चालन गरिएको छ । जसअन्तर्गत पोषिलो खानेकुुरा उपहार स्वरूप दिने गरिन्छ ।

यस्तै, मुगुका चारवटै स्थानीय तहका अधिकांश वडामा अहिले प्रसूति गृह सञ्चालनमा छन् । त्यहाँ सेवा विस्तार भएसँगै मातृ तथा शिशु मृत्युदर पनि घटेको बताइएको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार चालु आर्थिक वर्षको साउनयता मातृ–शिशु मृत्युदर शून्य छ । गत वर्ष २ महिलाले सुत्केरी अवस्थामा ज्यान गुमाएका थिए । प्रसूति सेवा नहुँदा यसअघि घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने बाध्यता थियो । स्थानीय तहले गर्भवती महिलालाई पोषण र यातायात भत्ता उपलब्ध गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरूको संख्या बढिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

रुकुम–पश्चिमको चौरजहारी अस्पतालका मेडिकल निर्देशक डा. कालेबकुुमार बुुढाले मातृ–शिशु मृत्यदुर घटाउने तीनै तहका सरकारको प्राथमिकतामा रहेकाले पछिल्ला वर्षहरूमा सेवा विस्तार भइरहेको बताए । उनका अनुसार अवस्था पहिलाको भन्दा सुुधारउन्मुुख छ । गर्भवती अवस्थामा चेकजाँच गर्ने संख्यामा पनि उल्लेखनीय रूपमा वृद्धि भइरहेको उनी बताउँछन् । प्रदेश सरकारले गर्भवती र सुत्केरी अवस्थामा जोखिममा रहेका महिलाहरूको उद्धारका लागि निःशुल्क हवाई सेवा सञ्चालन गर्दै आएको छ । उक्त सेवा भने सबैको पहुँचमा छैनन् ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७८, आईतवार ०५:०५