एमसीसी सम्झौता संसदबाट अनुमोदन

काठमाडौं: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । आइतवारको संसद् बैठकले एमसीसी परियोजना सम्झौता बहुमतले पारित गरेको हो । पछिल्लो समय नेपाली राजनीति नै तरङ्गित बनेको एमसीसी लामो विवाद र बहसकाबीच सम्झौता भएको चार वर्षपछि पारित गरिएको छ । सम्झौताका पारित गर्न संसद्मा ध्वनि मत प्रयोग गरिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसीसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन । एमसीसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए । अरू सांसदले वेल घेरेर नाराबाजी गरिरहँदा एमाले सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी भएका थिए । उनले रोष्ट्रममै गएर आफ्ना धारणा राखेका हुन् । रावलले एमसीसी पारित गर्नु नहुने बताएका थिए । संसद्बाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

यसअघि आइतवार नै संसद्मा एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसदहरूले धारणा राखेका थिए । मन्त्रिपरिषद्बाट एमसीसीको व्याख्यात्मक प्रस्ताव पास गरेलगत्तै आइतवार साँझ बसेको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पारित गर्ने प्रस्ताव पेस गरेका थिए । एमसीसीकै कारण गठबन्धन भत्किने अवस्था आएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लचिलो बनेका थिए । दोस्रो तहका नेताहरूले तयार पारेको व्याख्यात्मक घोषणाको प्रस्तावमा शीर्ष नेताहरू पनि सहमत भएका हुन् । विगतमा विरोध गर्दै आएका सत्तारुढ दलहरू नै एमसीसीको व्याख्यात्मक घोषणा गरेर संसद्बाट पारित गर्न तयार भएका थिए । सत्तासाझेदार चार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति जुटाएका हुन् । सत्ता साझेदार माओवादी केन्द्रको विरोध र प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभामा यही फागुन ८ गते अमेरिकी अनुदान सम्झौता एमसीसी पेस भएको थियो ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७८, आईतवार २२:२२