विमानस्थल विस्तार योजना
सुर्खेत विमानस्थल विस्तारको चर्चा चलेको लामै समय भयो । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन हुन नसकेपछि धावन मार्गसहित विमानस्थल स्तरोन्नतिको योजना अघि सारिएको थियो । तर उक्त योजना चर्चामै सिमित हुँदै आएको छ । विभिन्न समयमा चर्चा हुने र रोकिने गरेको छ । पटक–पटक बजेटसमेत फ्रिज हुँदै आएको छ । गत आर्थिक वर्षमा यसका लागि विनियोजित रकमसमेत फ्रिज गएको थियो । करिब दुई अर्ब हाराहारी लागत लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार तथा स्तरोन्नतिमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याएका थिए । स्थानीयले हालको विमास्थल विस्तारका लागि उपयुक्त नभएको भन्दै सकभर वैकल्पिक ठाउँको खोजी गर्नुपर्ने बताउँदै आएका छन् ।
केही समययता सेलाएको सुुर्खेत विमानस्थल विस्तारको विषयले पुनः चर्चा पाउन थालेको छ । यसअघि विमानस्थल विस्तारको प्रक्रिया थालिए पनि प्रभावित क्षेत्रका बासिन्दाको असन्तुष्टिका कारण बीचमै रोकिएको थियो । अहिले फेरि विमानस्थल विस्तारको योजना अघि बढाउन सघन छलफल थालिएको छ । प्रदेश सरकारको नेतृत्व परिवर्तन भएसँगै यो विषयले प्राथमिकता पाएको र आवश्यक छलफलहरू भइरहेका छन् । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा अघि बढेको विमानस्थल स्तरोन्नतिको योजनालाई निष्कर्षमा पु¥याउन मुख्यमन्त्री जीवनबहादुर शाहीले दौडधुप थालेका छन् । उनी सरोकारवाला पक्षसँग छलफल गरी सहमति जुटाउने प्रयासमा लागेका हुन् । विमानस्थल विस्तार योजना अगाडि बढाउन स्थानीय प्रशासन, प्रभावित क्षेत्रका नागरिक तथा सरोकारवालाका साथै राजनीतिक दलका प्रतिनिधिसँग औपचारिक तथा अनौपचारिक भेटघाट गरिएको छ । त्यसको समन्वय स्थानीय प्रशासनले गरिरहेको छ । हालको विमानस्थल विस्तार गर्न उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाई विस्तार गर्ने योजनासहित यसअघि अध्ययन गरिएको थियो । त्यसका लागि करिब ३० बिगाहा क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने बताइएको थियो । संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने भनिएको उक्त योजना स्थानीयको अवरोधका कारण अझै अन्योल कायमै छ ।
सुर्खेतमा ठूलो क्षमताको विमानस्थल अपरिहार्य भइसकेको छ । यसका लागि अहिले भइरहेको विमानस्थलको विस्तार वा अन्यत्र विकल्प खोज्ने भन्ने विषय पेचिलो बनेको छ । त्यसो त विगतदेखि नै छिन्चुमा विमानस्थल निर्माणको योजना अघि सारिएको पनि हो । अध्ययनसमेत गरिएको थियो । तर योजना अघि बढ्न सकेन । प्रदेश सरकारले विमानस्थलको स्तरोन्नतिलाई ‘प्रदेश गौरव’ को योजनाका रूपमा हेरेको छ । तर विवाद सुल्झिन भने सकेको छैन । आवश्यक समन्वयमार्फत विवाद समाधान गरी विमानस्थल स्तरोन्नतिका लागि तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः १० फाल्गुन २०७८, मंगलवार ०५:०२
सम्पादकीय ।