कुडा कर्णालीका

पुईंसाका कुडाः थैलीदेखि बैंकसम्म

किरणकुमार श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड)

पैसा मलाई जीवन हो जस्तो लाग्छ । किनभने हाम्रा दैनिक क्रियाकलापहरू बिहान उठ्दादेखि राति सुत्ने बेलासम्म कुनै न कुनै रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसासँग जोडिएका हुन्छन् । पैसा विनिमयको आधार हो । पहिले वस्तुको विनियम हुन्थ्यो । यसलाई सरलीकृत गर्न पैसाको आविष्कार भयो । त्यसपछि खरिद बिक्रीको कुरा भयो । आज हाम्रा हरेक आवश्यकता पैसाकै माध्यमबाट परिपूर्ति हुन्छन् । व्यवसाय सञ्चालन वा विकास निर्माण पनि पैसासँगै गाँसिएको छ । अतः स्रोत साधनलाई राम्रो ढङ्गले प्रयोग गर्ने माध्यम पनि पैसा नै हो ।

जबसम्म बैंकको पहुँच हुँदैन तबसम्म विकासका कुराहरू अथवा वित्तीय स्रोत परिचालन वा वित्तीय पहुँचका कुराहरू सम्भव हुँदैनन् । सबैभन्दा पहिलो आधार बैङ्किङ अथवा वित्तीय पहुँच हो । वित्तीय पहुँचका धेरै मोडालिटी छन् । हामीले अहिले शाखारहित शाखाको कुरा पनि गरेका छौं । पछिल्लो समय डिजिटल बैङ्किङका कुराहरू पनि आए । जुनसुकै माध्यमबाट भएपनि बैङ्किङ पहुँच देश विकासको अनिवार्य सर्त हो । बैङ्किङ पहुँचसँगै वित्तिय साक्षरताको पनि उत्तिकै महŒव छ । हामीले वित्तिय साक्षरताका लागि पनि काम गर्नुपर्छ । वित्तिय चेतना, वित्तिय साक्षरता र वित्तिय पहुँचले मात्रै मानिसहरूलाई वित्तिय सञ्जालमा जोड्छ ।

वित्तिय सञ्जालमा जोडिनु भनेको एकातिर आफूसँग भएको निष्क्रिय पुँजीलाई सुरक्षित तवरले राख्नु र आवश्यक परेको बखत फिर्ता लिन सक्नु हो । अर्कोतर्फ कसैको निष्क्रिय पुँजीलाई कसैले कर्जाको माध्यमबाट सक्रिय बनाइदिन्छ । ठूला व्यवसाय, कलकारखाना, होटल, आदि त्यही सक्रिय पुँजीको उपज हो । सरसर्ती हेर्दा फलाना व्यक्तिको यति सम्पत्ति छ भन्ने देखिन्छ तर त्यहाँभित्र सबैको पैसा हुन्छ । बैङ्कको पैसा भनेको पनि जनताकै निक्षेप हो । परम्परागत सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा दुईखाले समस्या देखिए । पहिलो कुरा सही मान्छेले पाएन । दोस्रो बिचौलियाको बिगबिगी भयो । त्यसैले जसले पाउनुपर्ने हो उसैले पाउनुपर्छ भन्ने कुराको समाधान गर्न बैङ्किङ प्रणाली अवलम्बन गरिएको हो । जहाँसम्म दुर्गमको कुरा छ त्यहाँका स्थानीय तह, तिनका वडा कार्यालय र बैंकले साझेदारी गरेर एउटा प्रक्रिया अपनाउन सकिन्छ ।

न्यून आय भएका मजदुर किसानहरूलाई बैङ्कको पहुँचमा पु¥याउन नेपाल सरकारले आजभन्दा दुई वर्ष अगाडि सात वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा ल्यायो । अहिले थपेर नौ वटा शीर्षक बनाएको छ । सहुलियतपूर्ण कर्जाको चुरो कुरो उद्यमशीलतासँग सम्बन्धित छ । जोसँग उद्यम गर्ने जाँगर छ तर पुँजीको अभाव छ भने उसलाई बैंकसँग जोड्ने हो । कृषि, महिला उद्यमशीलता, वैदेशिक रोजगारीबाट फर्केका युवा, परम्परागत पेसाको विकास, शिक्षित बेरोजगार युवा, उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन आदि सहुलियतपूर्ण कर्जाका क्षेत्र हुन् । यद्यपि यसका लागि सोच र योजना जरुरी छ । सहुलियत ऋणको व्याजदर दुई तीन प्रतिशत मात्रै छ । त्यसैले केही गर्ने जोश जाँगर भएका मानिस कर्जा लिन बैंकमा आउनुपर्छ । यसको मुख्य उद्देश्य भनेको उत्पादन र रोजगारीमा वृद्धि हो ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार अहिले प्रत्येक बैंक्को प्रत्येक शाखाले कम्तीमा १० वटा सहुलियतपूर्ण ऋण अनिवार्य रूपमा दिनुपर्छ । अनिवार्य दिइएन भने जरिवाना लाग्छ । यसमा नागरिकहरूले राष्ट्र बैंकसमक्ष उजुरी गर्न सक्छन् । कर्जा नदिने बैंकहरूलाई थप कारबाहीसमेत हुन्छ । अतः सरकार र केन्द्रीय बैंक्ले परिश्रमी मान्छे तथा मजदुर किसानहरूलाई लक्षित गरेर यो कार्यक्रम ल्याएको हो । जलविद्युत, कृषि र पर्यटन त राज्यको प्राथमिकताका क्षेत्र नै हुन् । हामीले कृषिमा १० प्रतिशत लगानी गर्नैपर्छ । पर्यटन र जलविद्युतमा हाकिमले १५ र २५ प्रतिशत लगानी गर्नैपर्छ । त्यसैले हामीले पर्याप्त लगानी गरेका छौं ।


सुष्मा गिरी (शाखा प्रवन्धक, सनराइज बैंक सुर्खेत शाखा)

अंग्रेजीमा एउटा उखान छ, ‘मनि इज इभ्रिथिङ् बट नथिङ्’ । पैसा सबै चिज हो । जीवन निर्वाह गर्नका लागि चाहिन्छ । चाहिँदैन पनि कसरी भन्नु बिहान उठ्ने बेला देखि राती सुत्ने बेलासम्म हामी पैसाको पछाडि हिँडिरहेका हुन्छौं ।

अहिलेको परिवेशमा सुर्खेत कर्णाली प्रदेशको राजधानी भएको कारणले गर्दा पनि बैंक तथा वित्तिय संस्थाको धेरै लगानी होटल व्यवसायमा छ । कोरोना भाइरसको कारणले भने त्यो अलिकति रोकिएको थियो । होटल व्यवसाय सानो ठूलो जस्तो होस् तर एकदमै धेरै लगानी भएको देखिन्छ । अन्य उत्पादनमूलक उद्योगहरूको संख्या त यहाँ एकदमै कम छ । कर्णाली प्रदेशमा नगण्य मात्रामा उत्पादनमूलक उद्योग छन् । केही मात्रामा रियल स्टेटको कारोबार भएको देखिन्छ । रारालगायतका पर्यटकीय स्थलमा जाने गेटवे भएकाले सुर्खेतमा होटल वा पर्यटन व्यवसाय फस्टाउँदो छ ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार बैंकहरूले महिला उद्यमी कर्जा दिइरहेका छन् । यसले पहिलेको तुलनामा महिलाहरूलाई बैंकतर्फ अथवा उद्यमीतर्फ लगाव भएको देखिन्छ । वाणिज्य बैंकको एउटा शाखाले एक आर्थिक बर्षमा अनिवार्य दश वटासम्म महिला उद्यमी कर्जा दिनुपर्ने प्रावधान भएको हुनाले अहिलेको परिवेशमा यसले महिला उद्यमी बढाउन सक्छ । अनुदानकै रूपमा भए पनि ऋण लिएर व्यवसाय गर्नुपर्छ, यसलाई आर्जनको रूपमा लिनुपर्छ भन्ने रूपमा महिलाहरूले लिएको पाइयो । सरकारले दिएको सुविधालाई प्रयोग गर्नुपर्छ भन्ने कुरा पनि महिला दिदिबहिनीहरूले बुभ्mनुभएको छ ।

२०७६ असार मसान्तबाट हामीले महिला उद्यमी कर्जा दिन सुरु गरेका हौं । हाल (२०७७ फागुनसम्म) सम्म हाम्रो शाखाबाट ५८ वटा महिला उद्यमी कर्जा प्रवाह भएको छ । अरु फाइलहरू पनि पेश भएका छन् । कर्जा माग बढ्दो छ । यसले गर्दा व्यवसायमा महिलाहरूको पनि पहुँच बढिरहेको छ । ठोस प्रस्तावनाको फाइल लिएर बैंक गएमा कर्जा पाइन्छ । बैंकहरूलाइ कर्जाको पनि आफ्नै टार्गेट हुन्छ । तर बैंकमा आउने बेलामा मेरो एक करोडको घर छ, २० लाख पनि ऋण नदिने ? भन्नेखालको कुरा आउँछ । बैंकले आयस्रोत पनि हेर्नुपर्ने हुन्छ । धितोभन्दा पनि आयस्रोतलाई हेर्ने कारणले गर्दा कतिपय कुराहरू अस्वीकृत हुन्छ । सुर्खेतमा मात्रै २५ वाणिज्य बैंकका शाखाहरू छन् । स्पष्ट भिजन र प्रस्ताव भएको खण्डमा हामीले सितिमिति ग्राहकलाई खाली हात फिर्ता गर्दैनौं ।


मनोज ज्ञवाली (तत्कालीन नायव महाप्रबन्धक, नविल बैंक लिमिटेड)

कर्णाली प्रदेशमा अलि सम्भावना भएको भनेको पर्यटन नै हो । पर्यटनसँग सम्बन्धित अरू चिजहरूसँग पनि सँगै जान सकिन्छ । कर्णालीमा कोदो फल्छ । सबैभन्दा धेरै जौ फल्ने ठाउँ पनि यहीँ हो । जडिबुटीको कुराहरू छ । स्याउ, ओखर फल्छ । तर धेरैजसो कुरा कुहिएर जान्छ । यहाँको अर्गानिक कृषिलाई प्रवद्र्धन गर्नु जरुरी छ ।

हाम्रो शरीरमा तागत हुँदा बित्तिकै पढाई छोडेर नजिकको नाकाबाट भारतमा काम गर्न जाने प्रचलन छ । गाउँमा केटाकेटी र पाका मान्छे मात्रै बस्छन् । खेतहरू पनि बाँझै छन् । उद्यमशीलता भन्दा पनि हाम्रो सोच अलिकति सानो जागिर खान सके खाइहाल्ने नसके छ महिना भारतमा गएर काम गर्ने र बाँकी छ महिना त्यही पैसा खर्च गरेर खाने प्रवृत्ति छ । यो प्रवृत्तिबाट अलिकति बाहिर जान आवश्यक छ । कर्णाली प्रदेश हरेक सूचकहरूमा पछाडि छ । ती सूचकाङ्कहरू लाई माथि ल्याउन पहिले सम्भावनाहरूको पहिचान गर्नुपर्छ । त्यसको लागि सुरुमा भौतिक पूर्वाधार आवश्यक पर्छ । अहिले कतिपय स्थानमा बाटो नै पुगेको छैन । बाटो नै नपुगेपछि त बाँकी केही पनि सम्भव हुँदैन । त्यसैले सरकारले सम्भावना भएको क्षेत्रहरूमा सबैभन्दा पहिले बाटो बनाउनु पर्छ ।

अनि कृषिको सम्भावना भएको क्षेत्र पहिचान गरेर कहाँ कति उत्पादन हुन्छ, उत्पादनको भण्डारण र सुरक्षित तवरले बजारसम्म पु¥याउने तथा बजारीकरणको व्यवस्थापन गर्नुपर्छ । त्यसपछि हामीले हामीसँग भएको मार्सी चामल, स्याउ, भेडा आदि बेच्न सक्छौं । तर हामीले अहिले जुम्ला कालिकोटमा पनि ब्रोइलर कुखुरा पठाइरहेका छौं । काठमाडौंमा लोकल कुखुरा पाइन्छ तर गाउँमा पाइँदैन । किन कि हामी हिँडेको बाटो उल्टो छ । पहिलो कुरा त वित्तीय साक्षरताको कमी छ । दोस्रो कुरा उद्यमशीलताको विकास पनि यत्तिकै हुने होइन । हामीमा अरुको नक्कल गर्ने बानी छ । कर्णाली उत्सवले वहसको थालनी गरेको छ जुन राम्रो हो । अब स्थानीयस्तरम पनि यस्ता कार्यक्रम हुनु जरुरी छ । यसले जनचेतना जगाउँछ ।

हामीलाई राज्यले नदिएको पनि होइन तर त्यो कुरा हामी आफैलाई थाहा छैन । सहुलियतपूर्ण कर्जामा कति धेरै सम्भावनाहरू छन् । अहिले आफूसँग भएको शैक्षिक प्रमाण पत्र धितो राखे पुग्छ । अझ महिलाको हकमा १५ लाखसम्म पाइन्छ । म आबद्ध बैङ्कको आधारभूत व्याज दर पाँच दशमलव ७६ प्रतिशत हो भने त्यसमा दुई प्रतिशत थपेर सात दशमलव ७६ प्रतिशतको दरमा मैले कर्जा दिनुपर्छ । त्यो कर्जामा अरू कुनै शुल्क लिन पाइँदैन । धितो पनि लिन पाइँदैन । सरकारले व्याजमा ६ प्रतिशत अनुदान दिन्छ भने एक दशमलव ७६ प्रतिशत दरमा १५ लाख रूपैयाँ ऋण लिएर कुनै व्यवसाय सुरु किन नगर्ने ? यस्तै विदेशबाट फर्केको मानिसले सानो व्यवसाय वा उद्यम किन नगर्ने ? बरु विदेश गएरै दुःख गर्छु भन्ने मानसिकता बदल्नुप¥यो । हामी नकारात्मक कुराहरू प्रति बढी नै आकर्षित भयौं । अरुलाई दोष मात्रै दिएर भएन । काम गर्न अग्रसर हुनुप¥यो ।
त्यसैले पहिला जानकारी लिनुस् । आफ्नो हकहरूबारे थाहा पाउनुस् । हामी सम्पूर्ण बैंकरहरूको तर्फबाट भन्छौं तपाईंहरू सहुलियतपूर्ण कर्जा लिन जानुभयो र त्यो बैंकले दिएन भने नेपाल राष्ट्र बैंकमा फोन गरेर गुनासो टिपाउनुस् । राष्ट्र बैंकले तुरुन्तै उक्त बैंकको सिइओलाई भनेर तपाईंलाई सहुलियतपूर्ण कर्जा दिन बाध्य गराउँछ । सम्भावनाहरू पहिल्याएर आउनुहोस्, बैंकले साथमा साथ हातमा हात दिन्छ । ग्राहकको समृद्धिविना बैंकको समृद्धि सोच्न समेत सकिंदैन ।अहिले गाउँ गाउँमा बैंक खुलेका छन् । बैंकहरूबीच पनि प्रतिष्पर्धा छ । हामीलाई पनि बिजनेसको दबाब छ । बोर्डले व्यवस्थापकलाई, व्यवस्थापकले शाखालाई दबाब दिन्छ नै । तर मैले ग्राहकलाई सेवा दिइनँ भने अर्कोले आइज कि आइज भनेर तानेर लैजान्छ । हिजोको तुलनामा बैंकको नाफा पनि घटेर गएको छ । गाउँ–गाउँमा शाखा लैजाँदा हेलिकप्टरबाट नगद पु¥याउनुपर्छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको प्रयोग हामीले वित्तीय साक्षरताको लागि गरेका छौं । कर्णालीका १५ देखि ५९ वर्ष उमेर समूहका ६९ प्रतिशत महिलाहरूले मोबाइल बोक्नुहुन्छ तर जम्मा २८ प्रतिशतको मात्रै बैंक खाता छ । अहिलेसम्म २० हजार नौ सय जनाले करिब ४७ अर्ब सहुलियत कर्जा लिएका छन् भने शिक्षित बेरोजगार कर्जा लिने जम्मा ३८ जना छन् । शिक्षित बेरोजगारहरूले यो भएन, ऊ भएन भन्ने तर आफ्नो जिम्मेवारी याद नगर्ने जस्तो भएको छ । चेतना जगाउने काम बैंक, युवा, मिडिया, सरकार सबैको हो ।

बैंकहरूले ब्याजमा पैसा लिने र दिनेबाहेक अरू काम किन गर्दैन भन्ने कुरामा प्रष्ट पार्न चाहन्छु । बैंकको काम नै त्यही हो । बैंक भनेको वित्तीय मध्यस्थकर्ता हो । हामीले सबै गर्छौं भन्यौं भने त्यो भ्रम हो । हाम्रो काम वित्तिय मध्यस्थता गर्ने हो । बाँकी संस्थागत सामाजिक उत्तरदायित्व बाहेक केही काम गर्दैनौं । गर्न अनुमति पनि हुँदैन । हामीमा उद्यमशीलताको चेत निर्माण भयो भने बाँकी परिवर्तन आफै हुन्छ ।


अशोक शेरचन (प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक लिमिटेड)

पैसा भन्नासाथ मलाई जीवन निर्वाहका लागि आवश्यक पर्ने चिज भन्ने लाग्छ । तर यो सबथोक चाहिँ होइन । पैसाको आवश्यकता जीवनभन्दा पक्कै पनि ठूलो छैन । जीवन जिउनको लागि अन्य धेरै माध्यमहरू हुन्छन् । ती माध्यमबाट पैसा जन्माउने हो । पैसा पनि एउटा माध्यम हो । जसको आवश्यकता कसैलाई बढी र कसैलाई कम पर्छ । तर जीवन जिउनका लागि यो नभइ नहुने वा यति नै चाहिने भन्ने मापन चाहिँ हुँदैन । पैसा नभइकन पनि धेरै मान्छे सफल छन् । सानो पुँजीबाट धेरै कमाएका पनि छन् । ५० रूपैयाँ लगानीबाट ५० करोडको सम्पत्ति जोडे भन्नेहरू पनि छन् । पैसाभन्दा ठूलो कुरा जुक्ति हो । त्यसैले पैसा साधन हो तर साध्य होइन ।

कर्णाली भनेको हामीले जान्दाखेरि नै विकट क्षेत्र हो भनेर जानेका हौं । तर त्यति हुँदाहुँदै पनि कर्णालीसँग प्रशस्त प्राकृतिक स्रोत साधनहरू छन् । अहिले सडक र सञ्चारको सुविधा भने धेरै ठाउँमा पुगेको छ । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा प्रभु बैंकको शाखा छ । त्यहाँ अहिलेसम्म गाडी जाँदैन । तीन चार दिन लगाएर हिँडेर जानुपर्छ । जहिलेसुकै हिउँ परिरहेको हुन्छ । शाखा खोलिसकेपछि त्यहाँका मान्छेलाई धेरै सुविधा भएको छ । हामीले पैसा, सामान र कर्मचारी हेलिकप्टरबाटै त्यहाँ पु¥याएको हो । मैले यहाँहरूलाई भन्नुपर्ने कुरा चाहिँ के हो भने उद्यमी बन्न कोसिस गर्नुस् । अथवा अन्यत्रबाट उद्यमीहरूलाई यस प्रदेशमा आकर्षित गर्नुस् । त्यसो भयो भने हामीले रोजगारी सिर्जना गर्न सक्छौं । हामीले यहाँ भएको स्रोत साधनलाई अधिकतम रूपमा प्रयोग गर्न सक्छौं । हामीसँग जडिबुटी त छ भन्छौं । तर ८० करोडको जडिबुटी निर्यात गरेर तीन अर्बको जडिबुटीजन्य औषधी आयात गर्छौं । यसले के देखाउँछ भने हामीले वस्तुको कन्भर्जन वा भ्यालु एड गर्न सकेका छैनौं । अब हामीले त्यतातिर सोच्नुप¥यो ।

अहिले सबै स्थानीय तहमा बैंकको पहुँच पुगिसकेको छ । बैंकहरूलाई अनिवार्य रूपमा स्थानीय तहमा लगानी गर्नु भन्ने नेपाल सरकार र राष्ट्र बैंकको निर्देशन रहेको छ । आवश्यकता भनेको खाली उद्यमशीलता र उद्यमी बन्ने सोचको मात्रै हो । बैंकले तपाईंहरूलाई लगानी गर्नैपर्छ र लगानी गर्छ । कर्णालीमा भौगोलिक कठिनाइहरू छन् तर ती कठिनाइहरूलाई चिर्दै अब डिजिटल बैङ्किङका कुराहरू पनि आए । दूरसञ्चार कम्पनीहरू नेपाल टेलिकम, एनसेल आदिले पनि सामान्य बैङ्किङको काम गर्न खोजिरहेको अवस्था छ । कर्णालीको अबको अभियान भनेको यहाँको स्रोत साधनलाई चिन्ने र त्यसलाई बढीभन्दा बढी भ्यालु एड गरेर बाहिर पठाउने हो । अथवा बजारमा लिएर आउने हो । बजार देशभित्रै र बाहिर पनि छ ।

हामी सधैँ सहायताबाट चल्ने कुरा हुँदैन । यो कुरा हामी सबैले बुझेका पनि छौं । अहिलेको कोरोना महामारीले पनि हामीलाई धेरै कुरा सिकाएको छ । मैले अघिदेखि यहाँ सोचको कुरा गरिरहेको छु । एउटा उदाहरण पनि दिन्छु । मनाङ जिल्ला एकदमै विकट थियो । त्यहाँ बाटो पनि पुगेको थिएन । बाटो खन्ने क्रम चलेको थियो । त्यसैबेला एक जना दाइलाई व्यावसायिक स्याउ खेती गर्छु भन्ने सोच आयो । स्याउ त त्यहाँ पहिले पनि फल्थ्यो । तर निर्वाहमुखी मात्रै । व्यावसायिक खेती गर्छु भन्ने उहाँको नवीन सोच हो । त्यही सोचलाई मूर्त रूप दिन उहाँले एउटा क्लबको नाममा रहेको १६५ रोपनी जग्गा वार्षिक ६५ लाख भाडा तिरेर लिजमा लिनुभयो । अनुसन्धानबाट त्यहाँ स्याउ फल्छ भन्ने भयो । हामी स्याउको विउ खोज्दै युरोप पनि पुग्यौं । रोपेको अर्को वर्षदेखि फल दिने स्याउ पनि पाइने रहेछ । बोटले क्षेत्रफल पनि कम ओगट्ने । स्थानीय स्याउ एक रोपनीमा करिब १५ बोटमात्रै रोप्न मिल्थ्यो । युरोपको उक्त स्याउ भने रोपनीमा ६५ बोटसम्म रोप्न मिल्दोरहेछ । अहिले त्यो फार्मबाट पूर्णरूपमा उत्पादन आइसकेको छैन । अघिल्लो सिजनमा मात्रै करिब सात लाख किलो स्याउ उत्पादन भयो । यस्ता नवीन सोचको कार्यान्वयन गर्न बैंकले लगानी पनि गर्छ । कर्णालीमा पनि नयाँ नयाँ सोचको खाँचो छ ।

हामीले प्रत्येक वर्ष अर्बौं रूपैयाँको स्याउ भारत तथा चीनबाट आयात गर्छौं । त्यसलाई विस्थापन गर्न सकिन्छ । मोटर बाटो धेरै ठाउँमा पुगिसकेको अवस्था छ । अब ससानो टुक्रा जग्गामा खेतीपाती गरेर हुँदैन । जसले बैङ्किङ क्षेत्रलाई नजिकबाट बुझेको छ त्यस्ताबाट यस्तो कामको नेतृत्व हुनसक्छ । जोखिम उठाउन सक्ने हो भने बजार तयार छ । स्रोतको पनि अभाव हुँदैन । हामीले खाली यो भएन वा त्यो भएन, यहाँ भएन वा त्यहाँ भएन भन्ने मात्रै होइन । तपाईं चाहे जुम्लाको हुनुहोस् वा हुम्लाको हुनुहोस् तर केही आइडियाहरू छन् भने लिएर आउनुहोस् । हामी त्यसमा सहयोग गर्न सधैँ तयार हुन्छौं । आवश्यकता पनि त्यसकै हो । मैले कर्णालीमा बैङ्किङ पहुँच, वित्तीय साक्षरता र लगानीको मुभमेन्ट नै चलाउनुहोस् भन्छु । लगानी यहाँकै मानिसले गर्दा पनि हुन्छ । बाहिरका मानिसले यहाँ आएर लगानी गर्दा पनि हुन्छ ।

म अर्को कुरा पनि सुनाउँछु । दैलेखमा शाखा खोल्ने क्रममा म केही वर्ष अगाडी त्यहाँ पुगेको थिएँ । पहाडमा बसेको एउटा सानो बजारमा पुगेपछि मैले तीनवटा चिज देखिनँ । ती हुन्– स्कुल, पेट्रोल पम्प र नर्सिङ होम । मैले त्यहीका व्यवसायीहरूलाई यो सुरु गर्नुस् नत्र बाहिरको मानिस आएर खोलिदिन्छ अनि तपाईंहरू हेरेको हेरै हुनुहुन्छ भनें । उहाँहरूले कहाँबाट लगानी ल्याउने भन्नुभयो । हामीले लगानी गर्छौं भनेपछि शान्तिजीले पेट्रोल पम्प खोल्नुभयो । त्यसपछि अर्को एक जनाले होटेल खोल्नुभयो । सायद नर्सिङ होम अहिलेसम्म खुल्न सकेको छैन । तपाईंहरूले आफ्नो ठाउँमा राम्रा राम्रा स्कुल खोल्नुहोस् । यदि तपाईंहरूले खोल्नुभएन भने अरुनै कोही आएर खोलिदिन्छ । त्यसैले यहाँ स्रोतभन्दा पनि सोचको अभाव छ । जोखिम लिने क्षमताको अभाव छ । यसमा हाम्रो ध्यान जानुपर्छ । हामीलाई त सरकारले प्रत्येक पालिकामा गएर महिला, उद्यमी, युवा आदिलाई कर्जा प्रवाह गर्नुहोस् भनेर निर्देशन नै दिइसकेको छ ।

अर्को कुरा बैंकले लगानी गर्दा अलग अलग प्रावधान हुनसक्छ । अरुको हेरेर मेरो किन भएन भन्नुहुन्न । ऋण धनीले मात्रै पाउने भन्ने पनि होइन । नेपालमा १६ लाख जना ऋणीहरू छन् । उनीहरू सबै धनी हैनन् होला नि । त्यसको पाँच प्रतिशत धनी हुन सक्लान् । बाँकी ९५ प्रतिशत त मध्यम वा निम्न वर्गका नागरिकहरू नै हुन् । बैंकको उपस्थिति जुन ठाउँमा छ त्यसले पनि यो देखाउँछ । तपाईंले ऋण पाउनुभएन भने बैंकले नै नदिएको भन्ने हुँदैन । तपाईंजस्तै अर्को कसैले त पाइरहेको होला नि । बैङ्कका पनि केही प्रक्रियाहरू हुन्छन् । ती प्रक्रियाहरू पूरा गर्ने क्रममा कहिलेकाही तलमाथि परेको अवस्थामा शाखा प्रबन्धक अथवा बैंकका कर्मचारीले अलिकति आनाकानी गर्न सक्छन् । तपाईंले मापदण्ड पूरा गरेर जानुहुन्छ भने बैंकले एकदमै खुसी भएर सेवा प्रवाह गर्छ । बैंकलाई पनि राम्रा ग्राहकहरूको खाँचो छ । हामीले खोज्छौं, बुझ्छौं र रोज्छौं पनि ।

बैंकहरूले लिलामी किन गर्छन् भन्ने कुरा आयो । करिब तीन करोडभन्दा बढी खातावालाहरू हुनुहुन्छ । उहाँहरूले बैंकमा पैसा जम्मा गर्नुभएको छ । उहाँहरूको विश्वासलाई मर्न नदिनको लागि हामीले जसलाई कर्जा दिन्छौं उहाँहरूले समयमै तिरिदिनुभएन भने जुन बेला बचतकर्ता माग्न आउनुहुन्छ त्यो बेला हामीले उहाँको बचत भएको पैसा फिर्ता दिनुपर्छ । हामीले उहाँहरूलाई रोकेर राख्न सक्दैनौं । बैंकले पनि कसैको बचतलाई परिचालन गर्ने न हो । बैंकको पैसा कहाँ हो र ? बैंकले त पुलको काम मात्रै गर्ने हो । फाइदा लिने दुवै पक्ष ग्राहक नै हो । बचतकर्ताले व्याज पाउँछ । कर्जा लिने मान्छेले उद्योगधन्दा र व्यवसाय गर्छ, कमाउँछ र व्याज तिर्छ । कतिपय नचाहेका कुरा हुन्छन् । भवितव्य पनि हुन्छ । वित्तीय अनुशासन पालना नगर्ने उद्यमी व्यापारीहरू पनि हुन्छन् । कोही जथाभावी खर्च गर्ने हुन्छन् । त्यसले कानुनी बाधा व्यवधान ल्याउन सक्छ ।

बैंकको चाहाना कहिल्यै पनि आफ्ना ग्राहकलाई मारौं भन्ने हुँदैन । आफ्ना ग्राहकलाई सिध्याइदिउँ वा सडकमा पु¥याउँ भन्ने बैंकको चाहाना कहिल्यै पनि हुँदैन । किन कि ग्राहकले सफलता हासिल गरेमात्रै बैंकहरूले सफलता हासिल गर्ने हो । ग्राहकहरूले कमाएर बैंकलाई तिर्नुभयो भने मात्रै बैंकले कमाउने हो । कहिलेकाहीँ समयको लचकताका आधारमा तीन महिना पछाडि तिर्छु भन्दा समस्यालाई समाधान गर्न सकिन्छ र त्यस्तो गरिरहेका पनि छौं । अन्तिम अवस्थासम्म पनि असुल नभएमा मात्रै हामीले कानुनी प्रक्रियामा लैजाने हो । तैपनि अन्तिम अधिकार ऋणी कै हुन्छ । उहाँहरू अन्तिम समयसम्म आउनुभयो भने पनि उहाँहरूलाई दिनुपर्छ भन्ने ठान्छौं । त्यसैले बैंकहरू लचकदार हुन्छन् ।


(ऋति फाउण्डेसनको आयोजनामा २०७७ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’को दोस्रो संस्करणको ‘पुईंसाका कुडाः थैलीदेखि बैंकसम्म’ सेसनका वक्ताहरूले व्यक्त गरेका विचार हुन्, यी । उत्सवका अन्य सत्रमा व्यक्त विचारहरू पनि क्रमशः प्रकाशित हुनेछन् ।)

प्रकाशित मितिः   ७ फाल्गुन २०७८, शनिबार ०५:०४