थालिए चुनाव लक्षित तयारी
सुर्खेत: आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयहरूले आवश्यक तयारी थालेका छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन पूर्वका व्यवस्थापकीय कामहरू सुरु गरिएको जनाएको छ । सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने निर्णय गरेसँगै निर्वाचन कार्यालयहरू सोहीअनुसार आन्तरिक व्यवस्थापनमा जुटेका हुन् ।
छैटौँ निर्वाचन दिवसको अवसर पारेर शुक्रवार वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा आयोजना सरोकारवालाबीच अन्तक्रिया कार्यक्रममा निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे जानकारी गराइएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले आयोगले आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भएर गतिविधि अघि बढाएको जनाए । उनका अनुसार अहिले मतदाता नामावलीको प्रशोधन, सरोकारवाला निकायसँग छलफल, चुनावका लागि जनशक्ति तथा स्रोत–साधनको व्यवस्थापनलगायतका कामहरू भइरहेका छन् । प्रदेश कार्यालयले सुर्खेतको मात्रै निर्वाचन व्यवस्थापन गर्ने बताइएको छ । कर्णालीका अन्य जिल्लामा सम्बन्धित निर्वाचन कार्यालयहरूले नै निर्वाचन व्यवस्थापनका काम गर्ने छन् ।
प्रदेश निर्वाचन कार्यालयले फागुन १९ गते सुर्खेतका सबै वडामा प्रारम्भिक मतदाता नामावली पठाइने जनाएको छ । नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि उक्त विवरण वडा–वडामा पठाउन लागिएको हो । त्यहाँबाट फाइनल भएर आएको नामावलीलाई चैत १३ गतेभित्र आयोगको वेबसाइटमा राख्ने तयारी गरिएको निर्वाचन अधिकारी चालिसेले बताए । पछिल्लो विवरणअनुसार सुर्खेतमा झन्डै ढाई लाख मतदाता छन् ।
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा एक सय ३८ मतदान स्थल र दुई सय ७६ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्रहरू भने अझै पनि थप हुनसक्ने बताइएको छ । यतिबेला स्थानीय प्रशासन पनि चुनावलक्षित सुरक्षा रणनीति बनाउन जुटेको छ । प्रशासन, निर्वाचन कार्यालय र सुरक्षा निकायका अधिकारीहरूले जिल्लाभरका मतदान स्थल तथा केन्द्रहरूको स्थलगत अनुुगमन गरेका छन् । अनुगमनका क्रममा संवेदनशील मानिएका मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्थाका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिको टोलीले स्थानीय तहमा पुगेर उपयुक्त स्थानहरूको छनोट र संवेदनशीलताबारे अध्ययन गरेको हो ।
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीवारदेखि दल दर्ताको आह्वान गरिएको छ । राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालहरूमा दल दर्ता गर्नुपर्ने र निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १५ सम्मको समयसीमा तोकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यसपटकदेखि सार्वजनिक निकायमा व्यक्तिगत बेरुजु रहेकाहरूले उम्मेदवार बन्न पाउने छैनन् । त्यस्तै, निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने नयाँ व्यवस्था गरिएको छ । आयोगले मतदाता परिचय पत्र हराएको वा कुनै कारणले नष्ट भएको भएको खण्डमा सम्बन्धित वडाको सिफारिसका प्रतिलिपि लिन सकिने जनाएको छ । त्यसका लागि फागुन २० गतेसम्म वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने छ । यसअघि मतदाता परिचय पत्रको प्रतिलिपि दिने व्यवस्था थिएन । त्यस्ता मतदाताले नागरिकतालगायतका अन्य परिचय खुल्ने कागजात साथमा लिएर मात्रै मतदान गर्न पाउँथे ।
प्रकाशित मितिः ७ फाल्गुन २०७८, शनिबार ०५:०२
साझा बिसौनी ।