दिदी र फुपूमा के फरक छ, बुवा ?
बुवा ठूलो स्वरले कराऊँछन् ।
राजु दौडँदै आउँछ, र सोध्छ, ‘हजुर बुवा…, के होला ?’
बुवा– ‘तँलाई थाहा छैन, आज तेरो दिदी रश्मी आउँदै छ भनेर ? हिजोबाट तीन–चार पटक भनिसकें ! यो चोटी उसले हामीहरूसँगै मिलेर आफ्नो जन्मदिन मनाउने छ…। अब छिटो जा र आफ्नो दिदीलाई ल्याएर आइज..! अनि, सुन त.. तँ तेरो नयाँ कार लगेर जा जो तैंले गत साता किनेको थिइस्….रश्मिलाई राम्रो लाग्ला ।’
राजु– ‘तर मेरो कार त आज बिहानै मेरो साथीले लगेर गैसक्यो..।’
बुवा– ‘ठीकै छ त..! त्यसोभए मेरो नै कार लगेर जा न त ।’
राजु– ‘तपाईंको कार पनि ड्राईभरले ब्रेक जाँच गर्नु पर्नेछ भन्दै लगेर गा छ ।’
बुवा– ‘ठीक छ…. तँ एअरपोर्ट त जा छिटो….अरु कसै साथीको कार लगेर गए पनि भो । कसैको न पाइए भाडामा नै लगेर जा ….तर जा छिटो, रश्मिको पुग्ने बेला हुन लाग्यो ।’
राजु– ‘अहो बुवा, तपाईं पनि…! त्यो कोई सानी बच्ची हो र ? आई हाल्छ नि आफै कुनै ट्याक्सी वा अटो हायर गरेर…, तपाईं किन चिन्ता गर्नुहुन्छ ?’
बुवा– ‘तँलाई लाज लाग्दैन यसो भन्न ? आफ्नो घरमा कार हुँदा–हुँदा, घरकी छोरी ट्याक्सी वा अटोमा आउँछे ?’
राजु – ‘ठीक छ, त्यसोभए तपाईं जानुहोस्, मसँग धेरै काम छ…. म जान सक्दिन ।’
बुवा– ‘तँलाई आफ्नो दिदीको केही मतलब छैन ? बिहे भैसक्यो भन्दैमा के दीदी पराई भैहाली ? के उसलाई हामी सबैको माया पाउने अधिकार छैन ? यस घरमा जति अधिकार तेरो छ, त्यत्ति नै तेरो दिदीको पनि छ, बुझिस्…! कोही पनि छोरी वा बहिनी आफ्नो माइतीघर छोड्दैमा पराई हुँदैन ।’
राजु – ‘तर मेरो लागि अब ऊ पराई भैसकेकी छे, अब यस घरमा मेरो मात्र अधिकार छ ।’
‘……चट्याम्म…!’
अचानक बुवाको हात राजुको गालामा….पर्यो !
त्यसैबेला आमा आउँछिन्….।
आमा – ‘ए…बूढा, पागल भयौ कि के हो ? के ग¥या यो ? तन्नेरी छोरा माथि हातपात गर्नुहुन्न ।’
बुवा – ‘तिमीले सुनेनौ …के भन्यो यसले ? आफ्नो दिदीलाई पराई भन्छ, यो त्यही दिदी हो जो यसबाट एक क्षणको लागि पनि अलग हुन्न थिइ । उसले हरेक क्षण यसको ख्याल राख्थी । पकेट मनीको पैसा बचत गरेर यसका लागि केही न केही किनेर ल्याऊँथी । बिहेको बेला छुट्टिदा पनि उसले हामीभन्दा बढी यसलाई अँगालो हालेर रोएकी हो । आज यो नालायकले उसै दिदीलाई पराई भन्छ ।’
राजु – (मुस्कुराउँदै) ‘फुपूको पनि त जन्मदिन आजै हो बुवा, उनी धेरै पटक यस घरमा आउँछिन् तर हरेक चोटी अटोबाट आउँछिन् .. के तपाईंले कहिल्यै आफ्नो कार लगेर उहाँलाई लिन जानुभयो ? उनी आज समस्यामा छिन् तर हिजो उनी पनि धेरै धनी थिइन् । तपाईंलाई, मलाई र यस घरको लागि उहाँले सम्पूर्ण हृदयले मद्दत र सहयोग गर्नु भएको छ । फुपू पनि यसै घरबाट बिहे भएर छुट्टीनुभएको हो.., फेरी दिदी र फुपूमा के फरक छ ? रश्मि मेरो दिदी हो भने, फुपू पनि त तपाईको बहिनी हुन् ।’
राजुका कुराले उसको बुवालाई आज सोच्न बाध्य बनाएको थियो…उनलाई आज आफ्नो गल्ती महशुस भैरहेको थियो ।
उता पश्चातापको आगोमा जलेर बुवा रोइरहेका थिए भने यता राजु… ।
यतिकैमा बाहिर कारको ब्रेकको आवाज आयो…!
रश्मि दुगुरेर आऊँछे….
आमा र बुवालाई अँगालो हाल्छे तर तिनीहरूको अवस्थालाई देखेर सोध्छ, ‘के भयो बुवा.. ?’
बुवा – ‘तेरो भाई आज मेरो पनि बा भैसक्यो, छोरी ।’
रश्मि – (भाई तर्फ हेर्दै) ‘ए.. पागल .. !! नयाँ कार हाँ..? धेरै राम्रो छ, ड्राइभरलाई पछाडी बस्न लगाएर मैले आफैले गुडाएर ल्याएँ, एकदम मज्जा आयो, रंग पनि मेरै रोजाईको रहेछ नि !’
राजु – ‘मेरो प्यारी दिदीलाई जन्मदिनको शुभकामना ! त्यो कार तपाईंको नै हो दिदी …हामीहरूको तर्फबाट तपाईंलाई जन्मदिनको उपहार..।’
यो सुनेर रश्मि खुसीले उफ्रिँदै थिइ कि…फुपू पनि भित्र आइन् ।
फुपू– ‘के हो…दादा…तपाईं पनि ?
न कोही फोन, न कोही खबर….! एक्कासी कार पठाई दिनुभयो तपाईंले… म त आफूलाई रोक्न सकिन …आईहाले खुसी हुँदै… । यस्तो लाग्यो कि बुवा अझै जिऊँदै हुनुहुन्छ ।’
उता… आँखाभरि आँसु बोकेर बुवाले एकटक राजुलाई हेरी रहेका थिए….!
यता….राजुले बुवालाई चुप रहने इशारा गरिरहेको थियो…!
फुपू भन्छिन्, ‘म कति भाग्यमानी छु, मैले बुबा जस्तो भाइ पाएँ, भगवानले मलाई आशीर्वाद दिउन् कि म हरेक जन्ममा तपाईं जस्तै भाइ पाउन सकूँ … ।’
बुवा आमा दुवैलाई थाहा थियो कि यो सबै करतूत राजुको हो । तर आज फेरि सम्बन्धहरूलाई बलियो सँग गाँसीएको देख्दा बुवाभित्रबाट खुसीले टुक्रिए र रून थाले । उहाँ अब धेरै निश्चित हुनुहुन्थ्यो कि म यो संसारबाट गैसके पछि मेरो राजुले सम्बन्धहरूलाई अझ धेरै बालियो र सुरक्षित राख्नेछ ।
छोरी र बहिनी यी दुई धेरै मूल्यवान शब्दहरू हुन् जसको उमेर धेरै कम हुने गर्दछ किन कि बिहे पछि छोरी र बहिनीहरूलाई कसैको श्रीमती, कसैको सासु र कसैको बुहारी बन्नूपर्ने हुन्छ । छोरी बहिनीहरू शायद यस कारणले माइतीघरमा आउने गर्छन् कि यहाँ उनका कानहरूले फेरी छोरी र बहिनी शब्दहरू सुन्न पाऊँछन् ।
-दिपक बडुवाल
प्रकाशित मितिः ७ फाल्गुन २०७८, शनिबार ०५:०४
दिपक बडुवाल ।