मदन भण्डारी राजमार्ग : सुर्खेत खण्डको कामले लियो गति

सुर्खेत: मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नति थालिएको छ । धुलियाविट–भेडाबारी–बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम सुरु गरिएको हो । हाल जीर्ण अवस्थामा रहेको उक्त सडक अब भने राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सुधार–विस्तार गर्न लागिएको छ । कालोपत्रे गर्न लागिएको सडक दुई लेनको बनाइँदै छ । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाइनेछ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय सुुर्खेतका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेले सडकलाई चौडा बनाउन साइड कटिङलगायतका कामहरू धमाधम भइरहेको जनाए । ‘कटिङसहितको सडकको चौडाइ ११ मिटर हुनेगरी काम थालिएको छ,’ उनले भने, ‘अहिले भित्ताको माटो काट्ने, साइडलेन, पक्की नाला निर्माण, ग्राबेल, वाललगायतका काम हुँदैछन् ।’ यी सबै कामहरू राष्ट्रिय राजमार्गको मापदण्डअनुुसार नै अघि बढाइएको कार्यालयले जनाएको छ । स्तरोन्नति भइरहेको सडक खण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रहरूलाई जोेड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकवेशी र गुुर्भाकोट नगरपालिकाका भू–भाग पर्दछन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । यो खण्डमा नयाँ सडक निर्माण गर्नुपर्ने छैन । पहिल्यै बनेका सडकलाई जोडेर स्तरोन्नति गरिने भएको हो ।

सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुुमान गरिएको छ । ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको कार्यालयले जनाएको छ । लागत अनुुमानभन्दा ४१ प्रतिशत कममा निर्माण कम्पनीसँग सम्झौता भएको हो । निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ । स्तरोन्नतिका लागि वि.सं. २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । वि.सं. २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ ।

स्तरोन्नतिको काम अघि बढाइए पनि कतिपय काममा भने प्रक्रियागत ढिलाइले असर पुगेको छ । सडक निर्माण क्षेत्रभित्र रहेका एक हजार चार सय रूख काट्नुपर्ने छ । ती रूखलाई काट्नका लागि टाँचा लगाइसकिएको छ । तर, सडकको आफ्नो क्षेत्रभित्र भएपनि सार्वजनिक जग्गामा रहेका रूख कटानका लागि अनुमति आइसकेको छैन । रूख कटानको प्रक्रिया लामो हुँदा काममा केही ढिलाइ भएको कार्यालयले जनाएको छ । रूख कटानबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने भएकाले अनुमति पर्खेर बसेको निमित्त प्रमुख लामिछाने बताउँछन् । त्यस्तै, विद्युतका पोल हटाउने प्रक्रियामा पनि धेरै समय अल्झिनु परेकाले सडकको काममा बाधा पुुगेको बताइएको छ ।

सुर्खेतमा मदन भण्डारी राजमार्ग योजना कार्यालय गएको मंसिरमा स्थापना गरिएको थियो । राजमार्ग अन्तर्गत सुर्खेत खण्डमा पर्ने सडकको कामलाई गति दिन वीरेन्द्रनगरमा कार्यालय राखिएको हो । कार्यालय स्थापनासँगै जिल्लाको पूर्वी खण्डको काममा प्रगति भएको जनाइएको छ । ‘कार्यालय र कर्मचारी व्यवस्थापन भएपछि सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र योजनाका गतिविधि पनि अघि बढाउन सहज भएको छ,’ कार्यालय प्रमुख लामिछानेले भने । उनका अनुसार नयाँ कार्यालय भएकाले समयमै मन्त्रालयबाट रकम निकासा भइरहेको छैन । अझै पनि कार्यालय व्यवस्थापनकै कतिपय काम बाँकी नै छन् ।

कच्ची र जीर्ण सडकका कारण यस क्षेत्र आसपासका बासिन्दाले दशकौंदेखि सास्ती खेप्दै आएका छन् । यो रुटमा बर्खामा सडक हिलाम्मे हुन्छ भने हिउँदमा धुलाम्मे । जिल्लाकै पुरानोमध्येको सडक अहिले पनि ट्रयाक खोल्दाकै अवस्थाको जस्तो छ । धुलियाविट–भेडाबारी सडकको वि.सं. २०३६ सालमै ट्रयाक खोलिएको थियो । सडक निर्माण थालेको चार दशकपछि मदन भण्डारी राजमार्ग नामाकरण गरी सुधारको काम अघि बढेको हो । सडक स्तरोन्नतिको काम सम्पन्न भए यहाँ बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

यस्तै, सुर्खेतको पश्चिम खण्डको सडकको विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) तयार गरिएको छ । राजमार्ग अन्तर्गत पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्छ । जसमध्ये १३ किलोमिटर सडक प्रदेश सरकारले स्तरोन्नति गर्ने भएको छ । त्यसका लागि प्रदेशले चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरेको छ । प्रदेशको लगानीमा हुने कामको प्रक्रिया अघि बढाइएको छ । मंगलवार बड्डीचौर–खम्बागाडे–बाबियाचौर सडक खण्ड कालोपत्रे योजनाको टेण्डर भएको छ । अरु खण्डमा काम सुरु कहिले हुने भन्नेबारे अन्योल नै छ ।

यस क्षेत्रको कुन सडकलाई मदन भण्डारी राजमार्गमा पार्ने भन्ने विवाद लामो समय चलेको थियो । स्तरोन्नतिका प्रक्रियागत काममा त्यसैले पनि ढिलाइ हुँदै आएको छ । हाल उक्त विवाद भने समाधान भइसकेको छ । मदन भण्डारी राजमार्गलाई बड्डीचौरदेखि बेनिघाट लिने सहमति गरिसकिएको हो । सोहीअनुसार डीपीआर तयार पारिएको छ । बड्डीचौर–बेनिघाट खण्डमा पर्ने सडक जीर्ण हुँदा पश्चिमका बासिन्दाले पनि निकै सास्ती खेप्ने गरेका छन् । कच्ची सो सडक वर्षात्का बेला मात्रै नभएर हिउँदमा पनि पटक–पटक अवरुद्ध हुने गरेको छ । बड्डीचौर–बेनिघाट सडक निर्माणको काम थालिएको झन्डै तीन दशक भएको छ । तर, हालसम्म आवश्यक स्तरोन्नति हुन नसकेको हो । सडक सुधार नहुँदा त्यस क्षेत्रका नागरिक अहिले पनि यातायातको सहज पहुँचमा छैनन् ।

मदन भण्डारी राजमार्ग योजनाले स्तरोन्नतिको काम नथालेसम्म पश्चिमको सडक समस्याको दीर्घकालीन समाधान नहुने स्थानीयहरूले बताएका छन् । राजमार्ग अन्तर्गत सुर्खेतको पूर्व र पश्चिम खण्डमा एकैपटक डीपीआर निर्माण थालिएपनि सर्वेक्षणकै क्रममा अवरोध गरेकाले पश्चिममा ढिलाइ भएको हो । पश्चिम खण्डको सडक सुधार–विस्तार कार्य कहिले सुरु हुने भन्नेबारे अझै अन्योल छ । त्यो खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन ‐ईआईए) लगायतका काम नै भएका छैनन् । मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले १४ जिल्लालाई छुन्छ । यो राजमार्गले नेपालको पूर्वदेखि पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

प्रकाशित मितिः   २६ माघ २०७८, बुधबार ०५:०४