अनुगमन बढाऊ

बजारमा अखाद्य तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्री वितरण भइरहेका छन् । हरेक पटकका अनुगमनका क्रममा बजारमा बेच्न रााखिएका खाद्य वस्तुको गुणस्तर मापदण्डविपरीत हुने गरेको पाइन्छ । अर्कोतर्फ मूल्यवृद्धि र मनपरी मूल्य निर्धारणको समस्या पनि छ । बजारका यस्तै बेथितिको निगरानी तथा नियन्त्रण गर्नका लागि सरकारी निकाय नै बनाइएको छ । यति हुँदाहुँदै पनि कानुन विपरितका यस्ता कार्य रोकिएका छैनन् । नियन्त्रणमा आउन सकेको छैनन् । बजारमा कतिसम्म बेथिति छ भन्ने दृष्टान्त खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले पनि देखाउँछ । उक्त कार्यालयले चालु वर्षको यो अवधिमा चार लाख बराबरका विभिन्न खाद्य वस्तुहरू जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा भेटिएका गुणस्तरहीन खाद्य सामग्री नष्ट गरिएको हो ।

दैनिक उपभोग्य वस्तुमै कैफियत देखिन थालेपछि अनुगमन गर्ने गरिएको छ । कार्यालयले यो वर्ष मात्रै खाद्य उद्योगहरूमा १३ पटक अनुगमन गरेको छ । जसअन्तर्गत ४५ वटा उद्योगको निरिक्षण गरिएको छ । खाद्य पसल, सुुपरमार्केट, रेष्टुुरेण्ट तथा मिठाई पसल गरी दुुई सय ६८ मा अनुगमन गरिएको थियो । त्यस्तै, दाना उद्योग चार वटामा दुुई पटक अनुुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुुर्खेतले बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । कर्णालीका ६ जिल्ला हेर्दै आएको कार्यालयले यो अवधिमा विभिन्न ठाउँमा अनुगमन गरेको छ । दैलेख, सुुर्खेत, जाजरकोट, रूकुुम–पश्चिम, डोल्पा र हुुम्लामा अनुुगमन गरिएको हो । कोरोना महामारीका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाएको छ । गुणस्तर नियन्त्रणका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको नमुना परीक्षणसमेत बढाइएको छ ।

अनुगमनले बजारलाई व्यवस्थित बनाउन उघाउँछ । मापदण्डविपरित अखाद्य वस्तु बिक्री वितरण गर्ने व्यवसायीलाई त्यस्ता कार्य गर्नबाट निरुत्साहित गर्न सकिन्छ । त्यसैले पनि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन जरुरी छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बेलाबखत गर्ने अनुगमन भने पर्याप्त छैन । यसलाई वार्षिक योजना बनाएर नियन्त्रण गर्नु अपरिहार्य भएको छ । अनुुगमनले खाद्य स्वच्छतासम्बन्धी चेतनामा अभिवृद्धिसमेत गराउँछ । खाद्य स्वच्छता बारेमा नागरिक सचेत भए बजारका बेथिति नियन्त्रण गर्न मद्दत पुग्दछ । कुनै पनि उपभोग्य वस्तुको गुणस्तरीयता सम्बन्धमा नागरिकहरूमा चेतनास्तर वृद्धि भएको खण्डमा गुणस्तरहीन वस्तुको बिक्री वितरण पनि नियन्त्रण हुन सक्दछ ।

प्रकाशित मितिः   २६ माघ २०७८, बुधबार ०५:०३