सहायक चौथो तहको विज्ञापन आह्वान

सुर्खेत: कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको पदपूर्तीका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले स्थायी पदपूर्तिका लागि मंगलवार सहायक चौथो तहका विभिन्न पदका लागि विज्ञापन गरेको हो । स्थानीय र प्रदेशका गरी तीन सय ७३ जना कर्मचारीका लागि विज्ञापन खोलिएको छ । आयोगले खुला, महिला, दलित, आदिवासी÷जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ । सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ विज्ञान भएको हो । सहायक प्रशासनतर्फ ६५ सिटका लागि विज्ञापन गरिएकोमा खुला ३९, महिला १९, आदिवासी÷जनजाती पाँच, मधेसी एक र दलितका लागि एक कोटा छ ।

त्यस्तै, प्राविधिकतर्फको इन्जिनियरिङमा ८५ सिटमा विज्ञापन भएको छ । आयोगले असिष्टटेन्ट सब इन्जिनियर सिभिल खुलामा ४१ र महिलातर्फ २३ सिटका लागि आवेदन माग गरेको छ । यस्तै, इन्जिनियरिङमै आदिवासी÷जनजाती पाँच र मधेशी ६ कोटा छन् । इन्जिनियरिङ सिभिल स्यानिटरीतर्फ ६ र अमिन सर्भेमा चार सिटका लागि विज्ञापन भएको छ । स्यानिटरी र सर्भेमा खुलातिरको मात्रै विज्ञापन भएको हो । आयोगले नायब प्राविधिक सहायक कृषितर्फ खुलामा १४ र महिला दुई सिटमा विज्ञापन गरिएको छ । महिला विकाससँगै स्वास्थ्यतर्फ एक सय ४० सिटका लागि आवेदन माग गरिएको छ । आयोगद्वारा जारी सूचनामा योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा फागुन १६ र अतिरिक्त शुल्क तिरेर फागुन २३ सम्म दरखास्त दिन सक्ने जनाइएको छ । सूचनाअनुसार अप्राविधिकको प्रथम पत्र वैशाख १७, प्राविधिकको जेठ ६ देखि २१ सम्म र महिला विकासको जेठ ५ मा परीक्षा हुनेछ ।

प्रदेश लोक सेवा आयोग गठन भएयता स्थायी कर्मचारीको पदपूर्तिका विज्ञान गरिएको यो दोस्रो पटक हो । यसअघि आयोगले पुस २७ गते प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फका पदमा विज्ञापन गरिसकेको छ । आयोगले अप्राविधिक पाँचौं तहको खुलामा ६८, महिलामा १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरेको थियो । त्यस्तै, प्राविधिकतर्फ सब–ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन आह्वान गरिएको थियो ।

प्रकाशित मितिः   २६ माघ २०७८, बुधबार ०५:०१