तदारुकताको अपेक्षा

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानीकै लागि समस्या छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको छ । तर त्यो पर्याप्त छैन । उपत्यका आसपासका विभिन्न साना स्रोतबाट हाल वीरेन्द्रनगरमा करिब एक सय ६० लिटर प्रतिसेकेण्ड पानी आउँछ । जब कि माग भने दुई सय ५७ लिटर प्रतिसेकेण्डभन्दा बढी छ । आपूर्तिभन्दा माग निकै बढी रहेको छ । अर्कोतर्फ उपत्यकामा हरेक वर्ष आठ सयदेखि एक हजारसम्म घरधुरीले धाराका लागि आवेदन दिने गरेका छन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिले १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन् । यसले पनि पानीको समस्या थप बढ्दै जाने देखिएको छ । यद्यपि विकल्पको खोजी भने भइरहेको छ । झुप्रा खोलाबाट ल्याइएको पानी अपुग भएपछि थप स्रोतको खोजी भइरहेको थियो । जसअनुसार भेरी नदीको पानी उपत्यकामा ल्याउने योजना अघि सारिएको छ ।

वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आकलन गरेर खानेपानी आयोजना सञ्चालनको तयारी थालिएको छ । दीर्घकालीन समस्या टार्न भेरीको पानी पम्पिङ प्रविधिमार्फत उपत्यकामा ल्याउन लागिएको हो । यो आयोजनाको चर्चा हुन थालेको केही वर्ष भएपनि प्रक्रिया भने केही महिना अघिदेखि मात्रै सुरु भएका छन् । आयोजनाका लागि विश्व बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । तर, त्यसका लागि आवश्यक प्रक्रिया भने पूरा गर्न बाँकी नै छ । आयोजना सञ्चालन पूर्वका कानुनी प्रक्रिया र लगानीपछिको दिगोपनाबारे विश्व बैंकले सुनिश्चितता खोजेको छ । बैंकसँग आउँदो चैतमा सम्झौता गर्नेगरी तयारी भइरहेको छ । आयोजना निर्माणपूर्व गर्नुपर्ने कामहरू विभाग तथा सम्बन्धित निकायहरूले अघि बढाइरहेका छन् । त्यस्तै, प्रारम्भिक वातावरण परीक्षण (आईई) अध्ययनका कामहरू भइरहेका छन् । बैंकतिरको ऋण सम्झौताका लागि पनि विभागले प्रक्रिया अगाडि बढाएको जनाइएको छ । भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै बनिसकेको छ ।

आयोजनाको संरचना बन्ने स्थानको जग्गा प्राप्तिमा पनि समस्या देखिएको छैन । अमृतडाँडास्थित सामुदायिक वन क्षेत्रको जग्गामा ट्याङ्की निर्माण गर्ने योजना छ । ठूलो आयोजना निर्माणको प्रक्रियामै ढिलाइ हुने गरेका छन् । यद्यपि सम्बन्धित पक्षले तदारुकता देखाएमा भने निर्धारित लक्ष्यभित्रै काम सम्पन्न हुन सक्दछन् । त्यसैले प्रदेश राजधानीको खानेपानी समस्या समाधानको महङ्खवाकांक्षी योजना अघि बढाउन सम्बन्धित सबै पक्षको तदारुकता जरुरी देखिएको छ ।

प्रकाशित मितिः   २४ माघ २०७८, सोमबार ०५:०४