प्रदेश नेतृत्वको अक्षमता

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिना पूरा भयो । यति लामो समय भइसक्दासम्म पनि सरकारले भने पूर्णता पाउन सकेको छैन । अहिले पनि सरकार अपूर्ण छ । मन्त्रिपरिषद् विस्तारको विषय झनै पेचिलो बन्दै गएको छ । मन्त्रीमण्डललाई पूर्णता दिन प्रदेशको गठबन्धन असफल भएको छ । यसले सरकार विस्तारमा थप सकस देखिएको छ । कहिलेसम्म सरकार विस्तार हुन्छ भन्ने टुंगो पनि छैन । गठबन्धनका दलहरूबीच पटक–पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन । तीन वटै दल आआफ्नै अडानमा यथावत छन् । यसले मुख्यमन्त्री शाहीलाई अप्ठ्यारोमा पारेको छ ।

मन्त्रालय भागबन्डाको विवाद प्रदेशमा हल नभएपछि अहिले केन्द्रीय गठबन्धनलाई गुहारिएको छ । सरकार विस्तारको बाधा फुकाउने जिम्मा केन्द्रीय गठबन्धनलाई दिइएको हो । अब गठबन्धन दलका शीर्ष नेतृत्वको सहमतिका आधारमा मात्र कर्णाली प्रदेश सरकारले पूर्णता पाउने बताइएको छ । पार्टीका आन्तरिक कलह समाधानदेखि सत्ता राजनीतिको निकाससम्ममा प्रदेशले केन्द्रकै भर पर्नु परिरहेको छ । केन्द्रमा गठबन्धन हुनुभन्दा पहिले नै कर्णालीमा सत्ता सहकार्यको सहमति गरिएपनि अन्ततः यसको निरन्तरताका लागि केन्द्रकै जिम्मा लगाइएको हो । प्रदेशमा गरिएको सत्ता सहकार्यको सहमतिअनुसार अघि बढ्न नसकेपछि केन्द्रलाई गुहार्नु परेको नेताहरूले बताएका छन् । सरकार विस्तारका लागि केन्द्रबाट पनि भागबन्डा मिलाउन सहज भने देखिएको छैन । भागबन्डाको गलफतीले अझै पनि केही समय लिने उनीहरूको बुझाइ छ । तीन महिनादेखि अधुरो सरकारले पूर्णता कहिले पाउँछ भन्नेबारे अन्योल कायमै रहेको छ । कर्णालीको सत्ता राजनीति अझै केही समय यही परिस्थितिबाट गुज्रिने सत्ता पक्षकै नेताहरूको भनाइ छ । प्रदेशले मिलाउन नसकेको भागबन्डाको किचलो केन्द्रले सहजै मिलाइहाल्नेमा उनीहरूको आशंका छ ।

सरकारको नेतृत्व परिवर्तन भएको तीन महिनासम्म प्रदेशका पाँच मन्त्रालय मन्त्रीविहीन छन् । कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अहिलेसम्म दुई जनालाई मात्र मन्त्री बनाएका हुन् । शाही नेतृत्वको सरकारमा माओवादी केन्द्र र समाजवादीबाट एक–एक जना मन्त्री छन् । सरकार विस्तारमा विलम्ब गर्दा उनी सर्वत्र आलोचित बन्ने गरेका छन् । मन्त्रीका आकांक्षी धेरै र गठबन्धन दलहरू पनि आ–आफ्नै अडानबाट पछि नहटेपछि सरकारले पूर्णता नपाएको हो । गठबन्धनभित्रकै स्वार्थविवादका कारण सरकार भने असफलताउन्मुख भइरहेको छ ।

प्रकाशित मितिः   १८ माघ २०७८, मंगलवार ०५:०४