कोरोना परीक्षणमा बेवास्ता

लक्षणसहितका बिरामी बढेका बेला परीक्षणको दायरा भने साँघुरो बनाइएको छ ।

सुर्खेत: कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर समुदायस्तरमा फैलिएको छ । कर्णालीमा परीक्षण गरिएकामध्ये ठूलो संख्यामा संक्रमण पुष्टि हुँदै आएको छ । यतिबेला घर–घरमा रुघाखोकी र ज्वरोका बिरामी छन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएपनि अधिकांशले परीक्षण गर्ने गरेका छैनन् । स्वास्थ्य संस्थाहरूले समेत पछिल्ला दिनमा परीक्षणको दायरा साँघुरो बनाएका छन् । यसअघि प्रत्येक स्थानीय तहमा कोरोना परीक्षण हुने गरेकोमा हाल उक्त सेवा सीमित बनाइएको छ । केही पालिकाहरूमा मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण हुन्छ । दुर्गमका धेरैजसो स्थानीय तहमा अहिले परीक्षणको सुविधा छैन । सरकारले कोरोनाविरुद्धको खोप र परीक्षणको दायरा बढाउन निर्देशन गरेपनि सोहीअनुुसार स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्न नसकेका हुन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार कतिपय स्वास्थ्य संस्थामा जनशक्तिको अभाव छ भने केहीमा परीक्षण किटलगायतका स्वास्थ्य सामग्री उपलब्ध छैनन् । संक्रमण तीव्र बनेका बेला स्थानीय तहमा परीक्षणको व्यवस्थापन नहुँदा नागरिकहरू मर्कामा परेका छन् । सिकिस्त बिरामी परेकाहरू पनि परीक्षणका लागि स्वाब दिन वीरेन्द्रनगर नै आउनुपर्ने बाध्यता छ । जसले गर्दा लक्षणसहितका बिरामीले समेत सहज रूपमा परीक्षण गराउन पाएका छैनन् । सुर्खेतको चौकुने गाउँपालिकाका केही स्वास्थ्य संस्थाहरूमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिँदै आएको छ । गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले आरटी–पीसीआर परीक्षणका लागि भने स्वाब संकलन गरेर वीरेन्द्रनगर पठाउनुको विकल्प नरहेको जनाए । उक्त पालिकामा अहिले संक्रमण दर समेत न्यून रहेको उनको भनाइ छ ।

सुर्खेतमा जनस्वास्थ्य सेवा कार्यालय, वीरेन्द्रनगर नगरपालिका र प्रदेश अस्पतालमा कोरोना परीक्षण भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकामा नियमित र अन्यमा साताको तीन–चार दिन परीक्षण गर्ने गरिएको हो । साताको तीन दिन परीक्षण सेवा दिँदै आएको जनस्वास्थ्य कार्यालयले संक्रमणका आशंकितहरू जटिल समस्या देखिन थालेपछि मात्र चेकजाँचका लागि आउने गरेको बताएको छ । ‘हामीकहाँ परीक्षणका लागि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरू आउने गर्नुभएको छ,’ जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी गणेशभक्त गौतम भन्छन्, ‘अहिले परीक्षण गर्नेहरूको संख्या पनि विगतको तुलनामा कम छ ।’ उनका अनुसार हाल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर आशंकित सबैको परीक्षण हुँदैन । जसलाई लक्षण देखिएको छ उनीहरूले मात्रै कोरोना परीक्षण गर्ने गरेका हुन् । पहिलो र दोस्रो लहरमा निकै प्रभावित बनेको सुर्खेतमा तेस्रो लहरमा पनि कोरोना संक्रमण दर भने उच्च देखिने गरेको छ । यहाँ परीक्षण गरिएकामध्ये ७० प्रतिशतभन्दा माथिलाई दैनिक संक्रमण पुष्टि भइरहेको हो । सम्बन्धित निकायले परीक्षणलाई तीव्र बनाउन नसक्दा पनि जटिल समस्या निम्तिन सक्ने जानकारहरू बताउँछन् ।

सल्यान, दैलेख, जाजरकोट, कालीकोटलगायतका जिल्लाहरूमा कोरोना परीक्षण सदरमुकाम केन्द्रित छ । ती जिल्लाका थोरै पालिकाले मात्र आफ्नै ठाउँमा परीक्षणको व्यवस्था गरेका छन् । लक्षण देखिएका बिरामी जिल्ला अस्पताल आएपछि मात्र परीक्षणको सुविधा पाउँछन् । अर्कोतिर सुविधा भएकै ठाउँमा पनि लक्षणसहितका धेरै बिरामी घरमै थलिएका छन् । बिरामीहरूले परीक्षणमा हेलचक्य्राइँ गर्ने गरेको पाइएको हो । कोरोना परीक्षणको पहुँचमा भएकाहरूले समेत बेवास्ता गर्दै आएको वीरेन्द्रनगर–११ का अनिलकुमार चपाईंले बताए । आफ्नो टोलमा घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी भएपनि कसैले कोरोना परीक्षण नगरेको उनले जनाए । ‘मानिसहरूमा कोरोनाको त्रास हट्दै गएको हो कि खोइ ?,’
उनले भने, ‘यस्तो लापरबाही नगर्नु पर्ने हो । अहिले परीक्षणमा कसैले चासो दिएको देखिँदैन ।’

परीक्षण र आवश्यक सतर्कतामा बेवास्ता गर्दा समुदायमा थप संक्रमणको जोखिम बढेको छ । दुर्गमका स्थानीय तहमा मात्र नभइ वीरेन्द्रनगरमै परीक्षणको सहज पहुँच र उचित व्यवस्थापन हुन नसकेको कतिपयको गुनासो छ । व्यवस्थापन फितलो हुँदा परीक्षण गर्ने ठाउँमै संक्रमण फैलने जोखिम रहेको वीरेन्द्रनगर–९ का रामप्रसाद लम्सालले बताए । ‘संक्रमित दिनहँु बढ्दै गएका बेला सरकारी निकायले यसतर्फ कम चासो दिएको देखिन्छ,’ उनले भने, ‘खोप अभियानसँगै परीक्षणको दायरा फराकिलो र व्यवस्थित बनाउनु पर्‍यो ।’

परीक्षणको दायरा घटेपनि कर्णाली प्रदेशभर खोप अभियानलाई भने तीव्रता दिइएको छ । यहाँ खोपको लक्षित समूहमध्ये करिब ७० प्रतिशतले दुवै मात्रा लगाइसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । हाल प्रदेशका अधिकांश जिल्लामा खोपको ‘बुस्टर डोज’ समेत दिन थालिएको छ । स्वास्थ्य संस्था तथा विद्यालयहरूमै केन्द्र स्थापना गरी बालबालिकाका लागि पनि खोप अभियान सञ्चालन भइरहेका छन् । यस्तै, पछिल्लो पटक सीमा नाकाहरूमा पनि निगरानी बढाइएको छ । प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको छिन्चु र कुइँनेमा स्वास्थ्य सहायता कक्षमार्फत यात्रुहरूको चेकजाँच गर्ने गरिएको हो । ती स्थानहरूमा लक्षण देखिएका व्यक्तिहरू फेला परे कोरोना परीक्षणसमेत गरिँदै आएको छ ।

प्रकाशित मितिः   १८ माघ २०७८, मंगलवार ०५:०५