संसद्को गतिरोध हटाउन कार्यदल

सुर्खेत: प्रतिपक्ष दलसँग संवाद र समन्वयमार्फत संसद्को गतिरोध अन्त्य गर्न कार्यदल गठन गरिएको छ । पूर्वमन्त्री एमव् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा (एकीकृत समाजवादी) का नेता चन्द्रबहादुर शाही छन् । संयोजक भण्डारीले प्रदेशसभाको गतिरोध अन्त्य गर्ने र बजेटमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको बताए । ‘टास्क फोर्सले सभामा देखिएका गतिरोध अन्त्य गर्दै सदन सञ्चालन गर्ने, सहमतिको वातावरण निर्माण गर्ने र बजेटमा देखिएको केही समस्या समाधान गर्ने छ । त्यसका लागि हामीले आवश्यक काम पनि थालिसकेका छौं’ संयोजक भण्डारीले भने ।

आइतवार मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको माग सम्बोधन गर्न कानुन बमोजिम बजेटमा हेरफेर गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि आइतवार राति नै कार्यदल गठन गरिएको थियो । कार्यदलले सदनको गतिरोध अन्त्य गर्न आवश्यक सुझाव सर्वदलीय बैठकमा पेस गर्ने म्याण्डेट पाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुराना अलपत्र आयोजनालाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन हुनुपर्ने माग अघि सारेको छ । त्यस्तै टुक्रे आयोजनालाई कार्यान्वयन गर्न नहुने, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फेरबदल भएको कार्यविधि संशोधन गर्नुपर्ने, सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने, क्षेत्र विकास कोषको बजेट सबै क्षेत्रमा पठाउनुपर्ने माग पनि एमालेले राखेको छ । यीनै माग राखेर यसअघि एमालेले लगातार संसद् अवरुद्ध पार्दै आएको थियो । सरकारले माग सम्बोधनको प्रतिबद्धता जनाएपछि संवाद अघि बढाइएको जनाइएको छ ।

प्रकाशित मितिः   १८ माघ २०७८, मंगलवार ०५:०२