जनगणनाको विश्वसनीयता
केन्द्रीय तथ्यांक विभागले बुधवार जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक ग¥यो । प्रारम्भिक विवरण अनुसार नेपालको कूल जनसंख्या तीन करोड हाराहारी अर्थात दुई करोड ९१ लाख ९२ हजार चार सय ८० जनसंख्या पुगेको देखिएको छ । दश वर्षअघि वि.सं. २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । विगतका तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार नौ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको छ । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । तर यो तथ्यांकले जनगणनाको विश्वसनीयतामाथि प्रश्न खडा गरिदिएको छ ।
यस पटकको जनगणनाले नेपालको जनसंख्या तीन करोडभन्दा बढी पुगेको देखाउने धेरैको अनुमान थियो । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजामा भने नेपालको जनसंख्या तीन करोड पुगेको देखिएन, झन्डै आठ लाख कम देखियो । तथ्यांक विभागले नै डेढ वर्षअघि नेपालको जनसंख्या तीन करोड नाघेको भनेर अनुमानित विवरण सार्वजनिक गरेको थियो । तर देशभर टोलटोलमा परीवेक्षक र गणक खटाएर गरिएको जनगणनाको विवरण भने त्योभन्दा न्यून आयो । प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या अझै तीन करोड पुग्न सकेको छैन । अर्थात्, वर्षौंदेखि नेपालको जनसंख्या तीन करोड नाघिसक्यो भन्ने हिसाबले गरिँदै आएको तर्कलाई राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकले गलत साबित गरिदिएको छ ।
जनसंख्याको वृद्धिदर जन्म, मृत्यु र बसाइँसराइँका आधारमा तय हुन्छ । नेपालको वृद्धिदर कम हुँदै जानुको कारण मृत्यु र बसाइँसराइँ बढी हुनुभन्दा पनि जन्म नै कम हुनु रहेको विज्ञहरूले बताएका छन् । अहिलेको नतिजा प्रारम्भिक भएकाले अन्तिम परिणामसम्म यो संख्या केही तलमाथि हुन सक्ने बताइएको छ । अन्तिम परिणाम आउँदा पाँच प्रतिशतसम्म घटबढ हुन सक्ने तथ्यांक विभागले जनाएको छ । यद्यपि जनगणना प्रारम्भ हुँदादेखि नै विभिन्न प्रश्न सतहमा आएका थिए । गणकहरू सबै घरमा नपुगेको गुनासो यसअघि नै सुनिएका थिए । गणनाको तथ्यांक सार्वजनिक भएपछि यो प्र्रश्न अझ चर्को रूपमा उठेको देखिन्छ । त्यसमाथि कतिपय जिल्लामा विगतकोभन्दा जनसंख्या घटेको देखिएको छ भने कतिपय जिल्लामा यसअघिका निर्वाचनमा सहभागि मतदाताको संख्याभन्दा कूल जनसंख्या कम देखिनुले गणना विधि र त्यसको विश्वसनीयतामाथि प्रश्न उठेको हो ।
प्रकाशित मितिः १४ माघ २०७८, शुक्रबार ०५:०३
सम्पादकीय ।