एबीसी दोस्रो पटक जिल्ला लिग च्याम्पियन
सुर्खेत: एबीसी स्पोर्टस् क्लबले सुर्खेत जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लिगको अर्को बलियो प्रतिस्पर्धी फ्रेण्डसीप स्पोर्टस् क्लबलाई फाइनलमा २–० गोलअन्तरले पराजित गर्दै एबीसीले उपाधि रक्षासँगै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो ।
बिहीवार भएको फाइनलमा साविक विजेता एबीसीलाई रोक्दै पहिलो पटक उपाधि जित्ने दाउमा थियो फ्रेण्डसीप । सुरुवातमा विपक्षीमाथि दबाब बनाएपनि गोलका अवसर खेर फाल्दा फ्रेण्डसीपले उपाधि एबीसीलाई सुम्पिनु प¥यो । एबीसीले भने प्राप्त अवसरलाई गोलमा परिणत गर्दै आफ्नो च्याम्पियन छवीलाई कायम राख्न सफल भयो । पहिलो हाफमा १ गोल गरेको एबीसीले दोस्रो हाफमा पनि १ गोल थप्दै जित सुनिश्चित गरेको हो । खेलको ३९औं मिनेटमा सुदिन विकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा लक्ष्मण शाहीले अर्को गोल थपेका हुन् । उनले खेलको ७०औं मिनेटमा गोल गरेका थिए ।
उपाधिसँगै एबीसीले ५१ हजार रूपैयाँ नगद पुरस्कारसमेत पाएको छ । गत सिजनको उपाधि पनि एबीसीले नै जितेको थियो । उसले फाइनलमा वीरेन्द्रनगर स्पोर्टस् क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेर लिग च्याम्पियन बनेको थियो । सोही लय दोहो¥याउँदै लगातार दोस्रो सिजनको उपाधि बाजी मारेको छ । एबीसी सुर्खेतको पुरानो र प्रतिष्ठित फुटबल क्लब हो । उपविजेता फ्रेण्डसीपले भने २५ हजार पाएको छ ।
सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा गत पुस २४ गतेदेखि लिग सुरु भएको थियो । अघिल्लो सिजन शीर्षस्थानमा रहेका ६ र यसपटक नकआउट चरणबाट छनोट भएका ६ गरी १२ टिमबीच लिग प्रतिस्पर्धा भएको हो । दुई–दुई वर्षमा हुनुपर्ने लिग कोरोना महामारीका कारण चार वर्षपछि भएको हो । यसपटकदेखि आयोजक जिल्ला फुटबल संघले लिगको आफ्नै मौलिक ट्रफीसमेत तयार गरेको छ ।
प्रकाशित मितिः १४ माघ २०७८, शुक्रबार ०५:०३
साझा बिसौनी ।