जनगणनाको प्रारम्भिक तथ्याङ्कमा त्रुटि !

घरदैलो नगरी हचुवाको भरमा विवरण लिएको सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मको गुनासो

सुर्खेत: नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बुधवार कूल जनसंख्याको प्रारम्भिक तथ्याङ्क बाहिरिएसँगै उक्त विवरणमा त्रुटि रहेको टिप्पणी हुन थालेका छन् । जनगणनाका क्रममा प्रत्यक घरदैलोमा नपुगी हचुवाका भरमा विवरण संकलन गरेको भन्दै सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरूमा बहस तथा आलोचना भइरहेका हुन् । जनगणना अभियान सञ्चालनका क्रममा स्थानीय सरकारसँग पर्याप्त समन्वय नभएका कारण कतिपय परिवारको विवरण संकलन नभएको बताइएको छ । राष्ट्रिय जनगणना अभियानलाई व्यवस्थित गर्न केन्द्रदेखि वडा तहसम्म विभिन्न संयन्त्र बनाइए पनि त्यसको परिचालन नहुँदा सही तथ्याङ्क नआएको सम्बद्धहरू बताउँछन् ।

राजनीतिकर्मी डम्मर गरञ्जा मगरले जनगणनाका बेला सरोकारवालसँग आवश्यक समन्वय नगरिँदा थुप्रै त्रुटि भएको हुनसक्ने औंल्याए । कतिपय जनप्रतिनिधिले नै आफ्नो वडामा जनगणना भए÷नभएकोबारे जानकारी नपाएको उनी बताउँछन् । ‘यस्तो अवस्था भएपछि सही तथ्याङ्क आयो होला भनेर कसरी पत्याउनु ?,’ उनले भने, ‘अभियानमा लापरबाही देखिएकाले कोही परिवारका सदस्य गणनामा छुट्ने र कतिपय दोहोरीने जस्ता समस्या पक्कै भएका छन् ।’ उनले आफूले चिनेजानेकै केही परिवारको गणना कतैबाट पनि नभएको दाबी गरे । ‘उहाँहरू बराहताल गाउँपालिकाको स्थायी बासिन्दा हो । अहिले वीरेन्द्रनगर बस्दै आउनु भएको छ । न यताबाट गणना भयो, न त उताकै तथ्याङ्कमा समेटियो ।’

गणनाका बेला फर्मको सट्टा एकमुस्ट कापीमा डाटा संकलन गरेको, घरदैलोमा पुग्दै नपुगेको, गणकले गाउँका अगुवा व्यक्तिहरूको सहायतामा पूरै टोलको तथ्याङ्क एकै ठाउँमा बसेर लिएको जस्ता आरोप सामाजिक सञ्जालमार्फत लगाइएको छ । त्यसरी टिप्पणी गर्नेमध्ये धेरैले आफ्नो घरमा गणक नै नपुगेको र परिवारको तथ्याङ्क समावेश नगरेको बताएका छन् । विभागले प्रारम्भिक नतिजा सार्वजनिक गरेपछि धेरै नागरिकले यस्ता सवाल उठान गरेका हुन् । उनीहरूले यो तथ्याङ्क सही नभएको र आफ्नो विवरण टिप्न कोही नआएको बताएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ मुख्य बजार क्षेत्र भएको वडा हो । जहाँ भिन्न–भिन्न पेसा व्यवसाय गर्ने मानिसको चाप छ । यहाँ रहेको वास्तविक जनसंख्याभन्दा आधामात्र संख्या गणनामा समेटिएको विश्लेषण हुुन थालेको छ । स्थानीय सरकारसँग समन्वय नभएकाले अभियान सञ्चालनमा आफूहरू प्रत्यक्ष जोडिन नपाएको वडाअध्यक्ष मोतिप्रसाद कंडेलले बताए । वीरेन्द्रनगरका अन्य वडाको तुुलनामा उक्त वडामा जनसंख्या अधिक छ । वडा कार्यालयसँग सुुरुवाती चरणदेखि नै तालमेल राम्रो नभएकाले वडाबासीको वास्तविक गणना हुन नसकेको उनी बताउँछन् । जनप्रतिनिधिलाई बेवास्ता गर्दा गणकहरूले घर–घरमा गएर सत्यतथ्य तथ्याङ्क ल्याउन नसकेको उनले दाबी गरे । ‘हाम्रो वडामा चित्त बुुझ्दोगरी गणना भएकै छैन,’ कंडेलले भने, ‘गणकहरू सबैको घरदैलोमा पुगेनन् । अनुमानका आधारमा विवरण राखियो ।’ टोल विकास समितिका अध्यक्षहरूलाई समन्वयकारी भूमिका निभाउन भनिएको भएपनि प्रभावकारी नभएको कंडेलले बताए । उनकाअनुसार वडाबासी धेरैले गणक आफूहरूको विवरण टिप्न नआएको गुनासो गरेका छन् । ‘जनगणनामा हेलचक्य्राइँ भएको थियो । सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया आउनु स्वाभाविक नै हो,’ उनले भने । जनप्रतिनिधिहरूले तथ्याङ्क संकलनमा कमजोरी भएको भन्दै छुुटेका नागरिकको विवरण समावेश हुुनुुपर्ने बताएका छन् । सहरी क्षेत्रमा बस्ने कतिपय परिवार गणनामा नसमेटिएको उनीहरूको भनाइ छ ।

प्रारम्भिक तथ्याङ्कमा भइरहेका टिकाटिप्पणी र आशंकाजस्तो गणनामा कमजोरी भने नभएको तथ्याङ्क कार्यालय सुर्खेतका सूचना अधिकारी जनक बोेहोराले जनाए । कर्णालीमा प्रत्येक स्थानीय तहका वडाअध्यक्षसँग समन्वय गरेरै गणकहरूले काम गरेको उनको दाबी छ । ‘सहरी क्षेत्रमा डेरामा बस्नेहरू जनगणनामा छुट्ने सम्भावना रहन्छ,’ उनले भने, ‘त्यस्ता व्यक्ति तथा परिवारलाई पनि समेट्न मंसिर महिनाभर समय थप गरिएको थियो ।’ कोही व्यक्ति गणनामा छुटेकै भएपनि तथ्याङ्क विभागको निर्णय नै अन्तिम र आधिकारिक हुने उनले बताए ।

दश वर्षअघि २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख थियो । त्यसैलाई आधार मानेर जनसंख्या बढेर तीन करोड पुगिसकेको अनुमान गरिएको थियो । कतिपय सरकारी दस्तावेज र जिम्मेवार ओहोदाका व्यक्तिहरूले समेत सार्वजनिक रूपमै जनसंख्या तीन करोड भइसकेको अभिव्यक्ति दिन्थे । त्यसैले पनि यसपटकको जनगणनाले जनसंख्या तीन करोडभन्दा बढी पुगेको देखाउने धेरैको अनुमान गरेका थिए । तर, सार्वजनिक जनगणनाको प्रारम्भिक नतिजामा भने नेपालको जनसंख्या तीन करोड पुगेको देखिएन । भनिदै आएको तीन करोडभन्दा झन्डै आठ लाख कम देखिएको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० मात्रै देखिएको छ । तथ्याङ्क विभागका अनुसार अबको ६ महिनाभित्र जनसंख्याको अन्तिम नतिजा आउने छ । प्रारम्भिक विवरण र अन्तिम नतिजामा झन्डै तीन देखि पाँच प्रतिशतसम्म फरक पर्नसक्ने विभागका अधिकारीहरूको आकलन छ । यसपालिको जनगणना अभियान कार्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालन भएको थियो ।

दैलेखमा जनसंख्या वृद्धिदर ऋणात्मक

दैलेखमा दश वर्ष अघिकोभन्दा अहिले जनसंख्या कम देखिएको छ । यसले पनि गणना व्यवस्थित नभएको हो कि भन्ने आशंकामा बल पुगेको जानकारहरू बताउँछन् । दैलेखमा वि.संं. २०६८ को जनगणनाभन्दा हाल आठ हजार चार सय ५१ जनसंख्या कम भएको विवरण सार्वजनिक भएको हो । यो जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । उक्त जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर –०.३१ रहेको छ । वि.सं. २०६८ मा दुई लाख ६१ हजार सात सय ६७ जनसंख्या रहेकोमा त्यसको एक दशकपछि दुई लाख ५३ हजार तीन सय ११ जनाको तथ्याङ्क विभागको विवरणले देखिएको छ ।

हालको प्रारम्भिक नतिजाअनुसार दैलेखमा पुरुषको जनसंख्या एक लाख २१ हजार ६ सय ७७ छ भने महिलाको जनसंख्या एक लाख ३१ हजार ६ सय ४४ रहेको छ । दैलेखका ४८ हजार सात सय ७६ घरधुरीमा जनगणना गरिएको विभागले जनाएको छ । जिल्लामा परिवार संख्या ५५ हजार सात सय छ । त्यस्तै, जिल्लाको लैंगिक अनुपात ९२.४३ छ । विभागका अनुसार जनघनत्व एक सय ६९ जना प्रतिवर्ग किलोमिटर छ । जिल्लामा परिवारको औषत आकार ४.५५ देखिएको छ ।

पछिल्लो जनगणनाअनुसार कर्णाली प्रदेशभरको जनसंख्या १६ लाख ९४ हजार आठ सय ८९ पुगेको छ । यसअघि २०६८ सालमा गरिएको जनगणनामा १५ लाख ७० हजार चार सय १८ जनसंख्या थियो । दश वर्षको अवधिमा यो प्रदेशका दश जिल्लामा एक लाख २४ हजार चार सय ७१ जनसंख्या बढेको छ । प्रदेशको जनसंख्या वृद्धिदर भने ०.७३ रहेको छ ।

प्रकाशित मितिः   १४ माघ २०७८, शुक्रबार ०५:०५